काठमाडौँ । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरे । रंगीचंगी पालले सजाइएका चिटिक्कका टेन्टहरू उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ– आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँका रूपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भिडभाड र चहलपहलले बेग्लै रौनक छाएको छ ।
‘सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्,’ सगरमाथा आधार शिविरमा रहेका पर्वतारोही लाक्पा शेर्पाले भने, ‘आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।’ ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१औँ आरोहणका लागि सगरमाथा पुगेका हुन् । आधार शिविर रंगीचंगी पाल र आश्रय स्थलले बेहुलीझैँ सिँगारिएको छ ।
समुद्री सतहबाट ५ हजार ३६४ मिटर उचाइमा रहेको आधार शिविर क्षेत्रमा ‘लाउन्ड्री,’ ‘क्याफे,’ ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । ५०० भन्दा बढी पाल टाँगिएका छन् । आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी १ हजार ३०० भन्दा बढी आधार शिविरमा छन् । एटके एक्सपिडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रंगीबिरंगी पालका सजावटले आधार शिविर रमाइलो देखिएको बताए ।
सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताए । ‘सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भिडले विश्वको ध्यान खिचिरहेको छ,’ उनले भने । केही दिनयता सामाजिक सञ्जालमा चाँदीझैँ टल्किएका सगरमाथासहित हिमालका तस्बिर र सुन्दर गाउँको झल्को दिने सगरमाथा आधार शिविरले संसारको ध्यान खिचेको छ । यसले नेपालको साहसिक पर्यटनलाई विश्व बजारमा परिचय दिलाउन मद्दत पुगेको छ ।
लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरूको लामो लस्कर देखिन्छ । सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको बताउँछन् । ‘वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आइरहेका आरोहीले नयाँ माहोल बनेको छ, यसले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ,’ उनले भने । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिए ।
सगरमाथा चढ्न ४०० बढी आरोही
पर्यटन विभागका अनुसार आइतबारसम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिए । त्यसमध्ये ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यस वर्ष विभिन्न हिमाल आरोहणबाट ६८ करोड ४० लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोही आउने क्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।
सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ बर्से दौरान प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।
यो सिजनमा सोलुखुम्बूका टासी ग्याल्जेन शेर्पाले २० दिनमा ४ पटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्किएका छन् । सगरमाथा आरोहणको इतिहासमा हालसम्म ८ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँनयाँ कीर्तिमान थपिने क्रम जारी छ ।
तेस्रो शिविरसम्म बाटो खुल्यो
यो सिजनमा सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (सपिसिसी) ले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अबको साता–१० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ । आरोहण अनुमति लिएका आरोही झन्डै १ महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन् ।
सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही नेपाल आइरहेका छन् । अधिकांश आरोहण अनुमति लिएर सगरमाथा क्षेत्र पुगिसकेका छन् । कतिपय आरोही अनुमतिको प्रक्रियामा छन् । वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । पर्यटन विभागले आधार शिविरमा सम्पर्क कार्यालय खोलेर आरोहणको व्यवस्थापन गरिरहेको छ ।
प्रतिक्रिया