काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र सम्बोधनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलसमक्ष पठाउने निर्णय गरिएको हो । प्रतिनिधिसभा तथा राष्ट्रियसभा नियमावलीअनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले पढ्नुपर्ने प्रावधान छ । प्रवक्ता गुरुङका अनुसार राष्ट्रपति पौडेलले १९ गते दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
यस्तै, बैठकले शिक्षकका माग सम्बोधन गर्ने गरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्रवक्ता गुरुङका अनुसार शिक्षकका माग सम्बोधन गर्न शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेका छन् । ‘भोलि या पर्सि (बुधबारसम्म) सम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने अवस्था सरकारले वातावरण निर्माण गर्दै छ,’ मन्त्री गुरुङले भने ।
प्रतिक्रिया