काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई शिक्षक आन्दोलनबारे जवाफ दिएको छ । धेरै दिनदेखि देशैभरका शिक्षकहरुले शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आन्दोलन गरिरहेको बेलामा सोमबार शिक्षा मन्त्रालयले सर्वोच्चलाई जवाफ फर्काएको हो ।
सर्वोच्चले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन भनेको थियो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार सर्वोच्चलाई फर्काएको जवाफमा शिक्षकका मागका बारेमा अहिलेसम्म भएको संवाद, शिक्षा विधेयकबारे संसदीय समितिमा चलिरहेको प्रक्रिया, शिक्षकका माग सम्बोधन गर्नेबारे भइरहेको पछिल्लो अवस्था समावेश छन् ।
नयाँ शिक्षा विधेयकको माग राखेर नेपाल शिक्षक महासंघले २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षामन्त्रालय सम्हालेको भोलिपल्टै शनिबार शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । वार्ताका लागि शिक्षा मन्त्रालयका शिक्षा मन्त्री पन्तलाई कुराएर शिक्षकहरू भने वार्तामा गएका थिएनन् । त्यसयता सरकार र आन्दोलनरत शिक्षकहरू बीच संवाद हुन सकेको छैन ।
सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै शिक्षकहरूले आइतबार बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झपमा परी ६२ जना शिक्षक घाइते भएको महासंघले दाबी गरेको छ । २० चैतदेखि महासंघ नेतृत्वमा शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासंघले यो आन्दोलनको नेतृत्व गरिरहेको छ ।
प्रतिक्रिया