मुगुको लुम्समा पुग्यो बिजुली

मुगु । साविकको रोवा गाविस हालको छायाँनाथ रारा नगरपालिका– १२ मा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १२ वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । गमगाढ विद्युत वितरण केन्द्र गमगढी मुगुको प्राविधक सहयोग एवं सहजिकरणमा छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँलगायत त्यहाँका ९ गाउँबस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको छ ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भामले सोमबार एक कार्यक्रमका बीच वडा कार्यालयमा रहेको विद्युतको स्वीच दबाएर लुम्समा विद्युतीकरण भएको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम बोल्दै नगरप्रमुख भामले वर्षौँदेखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयलाई बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने बताए ।

‘अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भरपर्नु पर्दैन, अब विद्यार्थीलाई टुकी बालेर पढ्नु पर्दैन राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेसँगै अब नागरिकलाई सहज हुन्छ’, नगरप्रमुख भामले भने ।

छायाँनाथ रारा नगरपालिकाका भित्र ८७ बस्तीमध्ये ८५ बस्तीमा विद्युतीकरण भएको उल्लेख गर्दै अब बाँकी रहेका २ बस्तीमा यो आर्थिक वर्षमा विद्युत सेवा पुर्याउने र त्यसका लागि नेपाल विद्युत प्राविधिकरणसँग समन्वय भइरहेको नगरप्रमुख भामले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिका– १२ मा ४ सय १४ घरधुरीका २१ सय ३४ सय नागरिक विद्युत सेवाबाट लाभाविन्त भएका छन् ।
नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजनबहादुर ऐडिले छायाँनाथ रारा नगरपालिकाका अधिकांश बस्तीमा विद्युत सेवा पुगेको बताए । भौगोलिक विकटता केही समस्या भएको तर स्थानीय सरकारसँगको सहजिकरणमा गाउँ–गाउँमा विद्युत सेवा पुर्याइने काम भइरहेको कार्यालय प्रमुख ऐडिले बताए ।

वर्षौँपछि विद्युत सेवा पुगेपछि स्थानीय खुसी भएका छन् । विगतमा विद्युत सेवा नहुँदा दुःख भोगेका नागरिक विद्युत सेवा पुगेपछि विगतका दुःख सम्झँदै स्थानीयले खुसी साटेका छन । स्थानीय जेठ बहादुर बिकका अनुसार विद्युत नहुँदा दियालोको भरमा उज्यालो गर्दै आएको बताए ।

दियालोले स्वास्थ्यमा समस्या हुने थाहा भए पनि बाध्यताले उज्यालोका लागि दियालोको भर पर्नुपर्ने थियो । अब ती दुःखका दिन जानेमा विश्वस्त भएको बिकले बताए । अर्का स्थानीय जग्गी बहादुर सावतले विद्युत सेवा ६५ वर्षको उमेरमा देख्न पाएकोमा खुसी भएको बताए । उनका अनुसार नियमित विद्युत सेवा पाइएन ।

अब राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा नियमित हुने र विद्युत सेवा पाउनेमा ढुक्क भएको सावतले बताए । विद्युत नहुँदा विद्यार्थीहरुलाई घरमा पठनपाठनमा बाधा पुगेको थियो । अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन भन्दै दियालोको भरमा पढ्नु पर्दैन अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन भन्ने आशामा विद्याथीहरु रहेका छन् ।

उद्घाटन कार्याक्रममा नगरप्रमुख भाम, उपप्रमुख ऐश्वर्य मल्ल, नेपाल विद्युत प्राबिधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन बहादुर ऐडी, वडाध्यक्षलगायत स्थानीयको उपस्थित रहेको थियो ।

प्रतिक्रिया