युक्रेनले झन्डै २० प्रतिशत भूभाग गुमाउने, नेटो सदस्य बन्न नपाउने

नयाँ ध्रुवीकरणसँगै अन्त्यको संघारमा रुस–युक्रेन युद्ध

काठमाडौँ । गत २० जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वअभिव्यक्ति अनुरुप रुस–युक्रेन युद्ध अन्ततः स्थायी युद्धविराममा पुगेर टुंगिने भएको छ । तर, यसका लागि एउटा सार्वभौम मुलुक युक्रेनले भने ठुलो मूल्य चुकाउनुपर्नेछ ।

अमेरिकी पहल र मध्यस्थतामा अहिलेसम्म भएका वार्ताबाट शान्ति स्थापनाका लागि युक्रेनले आफ्नो २० प्रतिशत भूमि गुमाउनुपर्ने सम्भावना प्रवल भएको छ । विश्व राजनीतिमा महत्व राख्ने बेलायत, फ्रान्स, युरापेली युनियन र अमेरिकाको एउटै मत भएपछि २४ फेब्रुअरी २०२२ देखि सुरु भएको रुस–युक्रेन युद्ध अन्त्यको बाटोमा गएको हो ।

शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने कुरामा युक्रेनको भूमिका सकारात्मक हुने अपेक्षा गरेका छन् । यसअघि बारम्बार युद्ध लम्बिनु र शान्ति स्थापना नहुनुमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आरोप लगाउने गरेका राष्ट्रपति ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्धविराममा गम्भीर नभएको आरोपसमेत लगाए । रोममा पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा पुगेका ट्रम्पले अन्त्येष्टि सुरु हुनुअघि जेलेन्स्कीसँग वार्ता गरेका थिए । ह्वाइट हाउसले १५ मिनेट लामो सो वार्ता गम्भीर भएको तथा सम्भवतः ऐतिहासिक समेत हुन सक्ने जनाएको छ ।

पहिलो भेटमा जेलेन्स्कीलाई युद्धको कार्ड नभएको कुरा बताएका ट्रम्पले शनिबारको भेटमा पनि सोही कुरा बताएका थिए । युक्रेनी प्रतिनिधिमण्डलले बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोसमेत सहभागी तस्बिर सार्वजनिक गर्दै सो वार्ता अत्यन्त फलदायी भएको जनाएको छ ।

युक्रेनी प्रतिनिधिमण्डलले ट्रम्प र जेलेन्स्कीबीच दोस्रो वार्ताको सम्भावना बताए पनि ट्रम्प अन्य नेताहरूभन्दा पहिले नै त्यहाँबाट हिँडेका थिए । यी ४ नेताबीच भएको जम्काभेटको तस्बिरलाई भने युक्रेनी सरकारले महत्वपूर्ण तथा नयाँ मोडको जम्काभेटका रूपमा व्याख्या गरेको छ । ट्रम्पपछि जेलेन्स्कीले म्याक्रो र स्टेइमरसँग पनि भिन्नै वार्ता गरेका थिए । जेलेन्स्कीले शनिबार नै युरोपेली युनियनका प्रमुख उरुस्ला भान डेर लियनसँग भेट गरेका थिए । म्याक्रोले पनि सामाजिक सञ्जालमा ट्रम्पसँग कुरा मिलेका कारण युद्ध अन्त्यको सम्भावना बढी भएको बताए ।

यसैबीच, अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा शुक्रबार ३ घन्टा लामो वार्ता भयो । रुसी प्रतिनिधिमण्डलका युरी युसाकोभले युक्रेनसँगको प्रत्यक्ष वार्ताका लागि केही विषय अझै बाँकी रहेको बताएका छन् । अमेरिकाले अझै पनि पूर्ण विवरण भने बाहिर ल्याएको छैन । तर, रुसले अमेरिकी प्रस्तावको पक्षमा आफूहरू रहेको बताइसकेको छ ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पूर्ण र निःसर्त वार्ताको तयारी भए पनि भूगोल र सीमाको विषयमा छलफल भएको बताएका थिए । अमेरिकी मध्यस्थकर्ताहरूले भने शान्ति सम्झौताबाट क्रिमियालगायत भूभाग रुसलाई दिएर युद्धविराम गर्न युक्रेन तयार भइसकेको जनाएका छन् । २४ फेब्रुअरी, २०२४ मा रुसले युक्रेनमा आक्रमण गरेयता युक्रेनको २० प्रतिशत भूभाग कब्जामा लिएको छ ।

पछिल्लो समय वार्ताका अन्य विषय पनि प्रष्ट हुँदै गएका छन् । यसअघि नै अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन नेटोको सदस्य हुने अव्यावहारिक भएको बताइसकेका छन् । रुबियोको यही भनाइमा ट्रम्पले पनि साथ दिएका छन् । अमेरिकी नीति सार्वजनिक भइनसकेको भए पनि केही भूभाग रुसलाई दिने, झाम्पोझारिया ऊर्जा केन्द्र अमेरिकाले सञ्चालन गर्ने, युरोपेली युनियनमा युक्रेनीलाई सहमत गराउने तथा युक्रेनको दीर्घकालीन शान्तिको ग्यारेन्टीको माग अमेरिकाबाट सम्बोधन हुने जनाइएको छ ।
शनिबारको भेटपछि स्टेइमर र म्याक्रोले रुस–युक्रेन युद्ध शान्तिको बाटोमा गएको प्रतिक्रिया दिएका छन् । यसअघि यी दुवै देशले युक्रेनको पूर्ण सुरक्षाको ग्यारेन्टीको माग उठाउँदै आएका थिए । धेरै विषय सहमतिको बाटोमा गए पनि क्रिमियाको विषय भने जटिल बनेको छ । ट्रम्पले रुसले सन् २०१४ देखि कब्जामा लिएको क्रिमिया उसैलाई वैध रूपमा दिएर वार्ता अघि बढाउने तयारी गरेका छन् ।

ट्रम्पका दूत विटकोफले यो वर्ष मात्र मस्कोको ४ पटक भ्रमण गरिसकेका छन् । ट्रम्पले बारम्बार युक्रेनलाई युद्धविरामका लागि दबाब दिइरहेको समयमा जेलेन्स्कीले १ दिनअघि मात्र क्रिमिया अन्य कसैलाई दिने अधिकार युक्रेनी नागरिकमा मात्र भएको बताएका थिए ।

अहिले अमेरिकाका लागि शान्ति वार्ता अघि बढाउने विषयमा क्रिमिया सबैभन्दा झन्झटिलो हो । व्यावहारिक रूपमा क्रिमिया युक्रेनको हुने सम्भावना अतिकम छ । यो अहिले रुसकै नियन्त्रणमा छ । तथापि यसलाई कानुनी अख्तियारी दिइनु विरोधाभासपूर्ण हो । जेलेन्स्कीले बारम्बार सन् २०१८ मा ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले क्रिमियाबारे गरेको व्याख्याको सम्झना गरेका छन् । सो समयमा पोम्पियोले क्रिमिया रुसले लिएको कुरा अमेरिकाले स्वीकार नगर्ने तथा सो क्षेत्रमा पनि युक्रेनी सार्वभौमिकता लागू हुने कुरामा अमेरिका अडिग रहेको बताएका थिए । यद्यपि जेलेन्स्कीको यसअघिको बुझाइ पनि ट्रम्पले क्रिमियाको सवालमा युक्रेनलाई साथ दिन्छन् नै भन्ने थियो ।

जेलेन्स्की युक्रेनको संविधानमा बाँधिएका छन् । ‘मलाई क्रिमिया कसैलाई दिने अधिकार युक्रेनको संविधानले दिएको छैन,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने । यो समस्या ट्रम्पको मात्र होइन । युद्धमा स्थायी समाधान खोज्नका लागि रुसले पनि युक्रेनको संविधान पनि हेर्नु आवश्यक छ ।

प्रतिक्रिया