काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी दुइटा आयोगका लागि अध्यक्ष र पदाधिकारी चयनका लागि ३४ जनाको नामसहित संक्षिप्त सूची (सर्ट लिस्ट) सार्वजनिक गरिएको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनोटका लागि संक्षिप्त सूची सार्वजनिक गरिएको हो ।
आइतबार बसेको पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) को बैठकले १११ जना आवेदकमध्ये ३४ जनाको नाम सर्ट लिस्टेड गर्दैै सार्वजनिक गरेको हो । समितिले आयोगका पदाधिकारी छनोटका लागि प्रारम्भिक चरणमा ३४ जना आवेदक छनोट गरी अगाडि बढाएको जनाएको छ । सर्ट लिस्टमा परेका उम्मेदवारहरूमाथि थप अध्ययन र आवश्यक परामर्शपछि अन्तिम सिफारिस गर्ने समितिले जनाएको छ ।
समितिले पहिलो चरणमा छानेकामध्ये ८ जना अध्यक्ष र अन्य सदस्यको सूचीमा परेका छन् । अध्यक्षका लागि सर्ट लिस्टेड हुनेमा अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गड्तौला, विजयसिंह सिँजापति, विश्वराज कोइराला र शेरबहादुर केसी छन् । यस्तै, सदस्यमा सर्ट लिस्टेड हुनेहरूमा कविता पाँडे, कुमारी कौशल्या ओझा, कुलप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी, गोपालनाथ योगी, गोपालप्रसाद लम्साल, टीकाप्रसाद ढकाल, नरेन्द्रकुमार केसी, नवलकिशोर यादव छन् ।
यस्तै, नागेन्द्रलाल कर्ण, पदमबहादुर शाही, ब्रह्मदेव राय यादव, मानबहादुर विश्वकर्मा, राजुप्रसाद चापागाईं, रामकुमार आचार्य, रामकान्त तिवारी, रेश्मा थापा, विनिता नेपाली, विनोदमोहन आचार्य, वीरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी, सिर्जना पोखरेल, सन्तोषबाबु सिग्देल, सुबोधराज प्याकुरेल र प्रा. डा. श्री हेमराज सुवेदी पनि सदस्यका लागि प्रारम्भिक सूचीमा परेका छन् ।
सर्ट लिस्टमा परेका नामहरूप्रति उजुरी दिने समय २० वैशाखसम्म तोेकिएको छ । यसअघि समितिले २८ चैतमा सूचना जारी गर्दै व्यक्तिगत तथा संस्थागत तर्फबाट आवेदन आह्वान गरेको थियो । सरकारले गत चैत ११ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।
प्रतिक्रिया