काठमाडौँ । अर्थ मन्त्रालयले समग्रमा मुलुकको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमार्फत यस्तो निष्कर्ष निकालेको हो ।
बुलेटिनमा भनिएको छ, ‘अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरूमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’ बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सूचकांकमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धिलगायत उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म संघीय सरकारको राजस्व परिचालन १२ दशमलव ७ प्रतिशत र कुल खर्च ४ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक ऋण २०८१ असारमसान्तको तुलनामा ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म संघीय सरकारको कुल राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ खर्ब ३९ अर्ब ५ करोडको तुलनामा १२ दशमलव ७ प्रतिशतले वृद्धि भई ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ । कुल राजस्वमा कर राजस्व र गैरकर राजस्वको अंश क्रमशः ८८ दशमलव ७ प्रतिशत र ११ दशमलव ३ प्रतिशत रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ७ खर्ब २९ अर्ब ६६ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्म उच्च दरले वृद्धि भएको राजस्व आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा १४ दशमलव ९ प्रतिशतले घटेको थियो । तत्पश्चातका आर्थिक वर्षमा क्रमशः सुधार हुँदै चालु आर्थिक वर्षको पहिलो ८ महिनामा राजस्व वृद्धिदर १२ दशमलव ७ प्रतिशत रहेको अर्थ मन्त्रायले जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म संघीय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको कुल खर्च ८ खर्ब १ अर्ब ५८ करोडको तुलनामा ४ दशमलव ९४ प्रतिशतले वृद्धि भई ८ खर्ब ४१ अर्ब १५ करोड पुगेको छ । यस अवधिमा चालु खर्चमा सीमान्त दरले वृद्धि, पुँजीगत खर्चमा न्यून दरले वृद्धि र वित्तीय व्यवस्था तर्फको खर्चमा भने उच्च दरले वृद्धि भएको छ ।
कुल खर्चमध्ये चालु खर्च ६९ दशमलव ६ प्रतिशत, पुँजीगत खर्च ९ दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २० दशमलव ६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो खर्च क्रमशः ७२ दशमलव ६ प्रतिशत, १० दशमलव १ प्रतिशत र १७ दशमलव २ प्रतिशत रहेको थियो । यस अवधिको चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चमा क्रमशः शून्य दशमलव ६ प्रतिशत, १ दशमलव ७ प्रतिशत र २५ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढेसँगै करको दायरा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्म ४ लाख ९४ हजार ८६३ स्थायी लेखा नम्बर लिएका करदाता थप भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल ५ लाख ११ हजार २३९ करदाता थप भई कुल संख्या ६७ लाख ३७ हजार ३७२ पुगेको छ ।
यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३० दशमलव १ प्रतिशत, शून्य दशमलव ५ प्रतिशत र ६९ दशमलव ४ प्रतिशत रहेको छ । यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४३ हजार ७७१ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार ६७२ पुगेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म ‘वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भई २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख पुगेको छ । कुल सहायता प्रतिवद्धतामध्ये अनुदानको अंश २५ दशमलव ७ प्रतिशत रहेको छ भने ऋणको अंश ७४ दशमलव ३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिवद्धता १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको औसत मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहेको छ । जुन वार्षिक लक्ष्यको सीमाभित्र रहेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विस्तृत मुद्राप्रदाय ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । कुल वस्तु आयात ११ दशमलव २ प्रतिशतले र निर्यात ५७ दशमलव २ प्रतिशतको उच्च दरले वृद्धि भएको छ । निर्यात व्यापारको आकार सानो हुँदा व्यापार घाटा ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया