वीरगञ्जमा नापतौलसम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम

वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले स्थानीय मीना बजार कम्प्लेक्समा नापतौलसम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बजारमा बढ्दो उपभोक्ता गुनासोलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा करिब ८० जना व्यापारीहरुको सहभागिता थियो ।

कार्यक्रममा नापतौल कार्यालय वीरगञ्जले व्यापारी र उपभोक्तालाई नापतौलसम्बन्धी विभिन्न महत्वपूर्ण सूचनाहरू प्रदान गरेको थियो । कार्यालयले निम्न अनुरोधहरू प्रस्तुत गर्दै जनचेतना फैलाएको छ ।

तौल गरी सामान खरिद गर्दा नापतौल यन्त्रबाहेक अन्य अवैध सामग्री जस्तै ढुंगा, इँटा, भारतीय ६ कुने ढक, काठको डण्डी आदि प्रयोग गरेर तौल गर्ने व्यापारीबाट सामान नकिन्न उपभोक्तालाई आग्रह गरिएको छ ।

सामान तौल गर्दा प्रयोग हुने यन्त्र नापतौल कार्यालयबाट प्रमाणित गरिएको छ कि छैन भनी सोधपुछ गर्न, साथै तौल गर्नु अघि यन्त्र शून्य गरिएको छ कि छैन हेर्न उपभोक्तालाई सुझाव दिइएको छ ।

सुनचाँदी जस्ता बहुमूल्य धातु खरिद गर्दा तोला, आना, मासा, रति जस्ता परम्परागत इकाइमा विश्वास नगरी, ग्राम वा मिलिग्राममा तौल गरी खरिद गर्न र सुनको शुद्धताको प्रमाणिकरणसहित खरिद बिल लिन उपभोक्तालाई अनुरोध गरिएको छ ।

कार्यक्रममा नापतौल कार्यालय बिरगंजका निरीक्षक हरिभजन त्रिपाठी, सहायक निरीक्षक आनन्द कुमार गुप्ता, सि.मि मनिष कुमार गुप्ता र ज्याउद्दिन अन्सारीले आफ्ना धारणा व्यक्त गरेका थिए । त्यस्तै, बजारको प्रतिनिधित्व गर्दै अरबिन्द साह कलवार, आशिष गुप्ता तथा स्थानीय व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमले बजारमा निष्पक्षता कायम राख्न, उपभोक्ता अधिकार संरक्षण गर्न तथा नापतौल प्रक्रियामा पारदर्शिता ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझै व्यापक बनाइने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया