महोत्तरी । गत ९ वैशाखमा महोत्तरीको बर्दिवास–१४ मा फेला परेको भन्सार छलीको सामानलाई लिएर प्रहरीमाथि नै प्रश्न तेर्सिएको छ । प्रत्यक्षदर्शीहरूको बयान र प्रहरीले सञ्चारकर्मीहरूलाई पठाएको रिपोर्ट बाझिएपछि स्थानीय व्यापारीहरूले प्रहरीमाथि प्रश्न उठाएका हुन् । मुख्य बजार क्षेत्र नजिकै रहेको एक घरमा राजस्व छलीको सामान भएको थाहा पाएपछि स्थानीय ब्यापारीहरूले नै प्रहरीलाई सूचना दिएका थिए ।
डेढ घण्टापछि सो घरमा पुगेर १४४ वटा कार्टुनभित्र ड्यु र ९ बोरा चिनी बरामद गरेको प्रहरीले सञ्चारकर्मीलाई सूचना प्रेषित गर्दा भने झुठो विवरण सार्वजनिक गरेको पाइएको छ । मुख्य विषयवस्तुलाई नै लुकाएर झुठो विवरण किन सार्वजनिक भयो भन्ने विषय अहिले नगर क्षेत्रमा आमचासो बनेको छ ।
प्रहरीले कसरी झुठो रिपोर्ट बनायो ?
प्रहरीले आफ्नो रिपोर्टमा १ लाख ८४ हजार ८०० रुपैयाँ बराबरको १४४ वटा कार्टुनमा ड्यु र ९ बोरा चिनी शुभस्वतिक अस्पताल नजिकैको बास झ्याङबाट बरामद गरेको उल्लेख गरेको छ । तर उक्त सामान त्यहाँको एउटा घरबाट बरामद गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यति मात्र होइन प्रहरीले न घरधनीको नाम खुलाएको छ, न त राजस्व छली गरेर ल्याउने व्यक्तिको नै । बरु रिपोर्टमा कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको उल्लेख गरिएको छ ।
घरभित्र राखिएको सामानलाई बाँसको झ्याङबाट बेवारिसे अवस्थामा फेला पारेको भनिएको प्रहरीको दाबी र स्थानीयहरूले कैद गरेको दृश्यबीच भिन्नता देखिएपछि प्रहरीको भरोसामा नै प्रश्न उठेको छ । ‘मिलोमतोमा अपराध गर्ने व्यक्तिलाई बचाउने ढंगले प्रहरीले बनाएको उक्त रिपोर्ट निक्कै खेदजनक छ’, बर्दिवास–१४ का एक प्रत्यक्षदर्शीले भने । ‘प्रहरीको त्यस्तो रिपोर्ट आउला भन्ने मैले अपेक्षा नै गरेको थिइनँ ।’
बर्दिवास उद्योग वाणिज्य संघलाई समेत व्यापारीहरूले खबर गरेपछि संघका महासचिव उत्तमकुमार श्रेष्ठ प्रहरीसँगै घटनास्थलमा पुगेका थिए । ‘मैले उक्त दृश्यलाई मोबाइलमा कैद पनि गरेँ, प्रहरीले मुचुल्का उठायो र सबै प्रक्रिया सकेर उक्त सामान आफ्नै ट्रक लिएर इलाका प्रहरी कार्यालयमा लिएर गयो’, महासचिव श्रेष्ठले भने, ‘यसको अनुसन्धान कसरी होला भन्ने निक्कै कुतूहल लागेको थियो, २ दिनपछि प्रहरीको रिपोर्ट अर्कै पो आएछ ।’
प्रहरीले मुचुल्का उठाउँदासमेत गम्भीर त्रुटि गरेको व्यापारीहरूको आरोप छ । सैद्धान्तिक रूपमा मुचुल्का उठाएपछि सहभागीहरूलाई हस्ताक्षर गर्न लगाउनुपर्ने भए तापनी मुचुल्का रिपोर्टसमेत गुपचुप वनाएको देखिएको छ ।
सत्यचाहिँ के हो घटनाको ?
यो घटना गत ९ वैशाखको हो । भारतीय कम्पनीको पेय पदार्थ र चिनी देखेपछि स्थानीयहरूलाई तत्काल खबर गरेका थिए ।
भन्सार छलीको सामान लिएर स्थानीय व्यापारीहरूलाई नै असर पर्ने गरी छ्यापछ्याप्ती बेचिन्छ भन्ने चर्चा त सुनिन्थ्यो तर प्रमाणहरू भने फेला परेको थिएन ।
यहीबीचमा फेला परेको उक्त सामान व्यापारीहरूका लागि उत्साह र कुतूहल दुवै बन्यो । अझ एक घरमा लुकाएर राखिएको सामानले उपभोक्ता र ब्यापारी कसरी मारमा परेका छन् भन्ने यो घटना आफैँ स–प्रमाण बन्यो ।
तर, प्रहरीले घरमा लुकाएर राखेको उक्त सामानको पछाडि कसको हात छ ?, किन त्यहाँ लुकाइयो ?, घरसमेत कसको हो भन्ने छानबिन गर्न नसक्नुले आशंका गर्ने ठाउँहरू देखिएको उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का बताउँछन् ।
प्रायः सिमानामा वा लिएर आउँदै गर्दा बाटोबाट नियन्त्रण घटनाहरू पुराना नै भए तापनि व्यक्तिको घरमा गोदाम नै बनाएर राखिएको यी सामानहरूको दृश्य आफैँमा नौलो भएको स्थानीय व्यापारीहरूको प्रतिक्रिया छ ।
बर्दिवास बजारभित्रै यस्ता धन्दा देखिनु र प्रहरीको निरीहता दुःखद् भएको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष खड्काको गुनासो छ । ‘देखादेख घरबाट पक्राउ गरेको सामानलाई बेवारिसे भनिदिने र राजस्व छलीमा संलग्न जो भए तापनि पक्राउ नगर्नु दुःखद् हो’, अध्यक्ष खडकाले भने, ‘यस्ता विषयहरूले व्यापारीहरू नै मारमा परिरहेका छन् ।’
कानुनी प्रक्रिया मिलाउनका लागि त्यस्तो रिपोर्ट बनाएको प्रहरीले जनाएको छ । सामानहरू घरमा नै फेला परे तापनि घरधनी फेला नपरेपछि उक्त रिपोर्ट बनाउनु परेको इलाका प्रहरी कार्यालय बर्दिवासको प्रष्टोक्ती रहेको छ । भन्सार छलीको उक्त सामानमा १ जना स्थानीय व्यापारी र स्थानीय व्यक्तिको नै संलग्नता देखिएको छ । यो विषयमा प्रहरी भने मौन छ ।
प्रतिक्रिया