काठमाडौँ । झुमा लिम्बूको स्वर र संगीतमा नयाँ गीत ‘ए ठूली’ सार्वजनिक भएको छ । यो गीत २६ वैशाखमा प्रदर्शन मिति तोकिएको चलचित्र ‘जार’मा समावेश छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस गीतमा गायनमा झुमालाई पवन गिरीले साथ लिएका छन् । यो गीतका लेखक भने हर्क साउद हुन् ।
लोकलयमा आधारित यस गीतले प्रेमको भाव बोकेको छ । लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हृदयकी प्रेमिकाको कथा गीतमा छ ।
गीतले फिल्मको मूल कथा भन्ने निर्माण पक्षले जनाएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक सौगात मल्ल र नायिका गीताञ्जली थापा फिचर्ड छन् ।
‘जार’ सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेको फिल्म निर्माण पक्षले जनाएको छ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ ।
फिल्ममा सौगात र गीताञ्जलीसहित, अनुपविक्रम शाही मुख्य भूमिकामा छन् । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । फिल्मको निर्देशक फुर्वा छिरिङ लामा हुन् ।
प्रतिक्रिया