काठमाडौँ । इन्टर मियामी कन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलको पहिलो लेगमा भ्यानकुभर ह्वाइट क्याप्सविरुद्धको खेलमा २–० ले पराजित भएको छ । बिसी प्लेसमा शुक्रबार ५३ हजार ८३७ दर्शकहरूको उपस्थितिमा भएको खेलमा अमेरिकी खेलाडी ब्रायन ह्वाइट र सेबास्टियन बर्हाल्टरले घरेलु टोलीका लागि विजयी गोल गरे ।
जितसँगै क्यानडाली टोली भ्यानकुभरले पहिलोपटक महादेशीय फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । लिओनल मेसीको नेतृत्वमा रहेको मियामी टोलीले दोस्रो लेगमा भारी चुनौती सामना गर्नुपर्नेछ ।
‘अहिलेसम्मको प्रदर्शन राम्रो लागिरहेको छ । काम अझै बाँकी छ । हामीले साप्ताहभरि योबारे चर्चा गरेका थियौँ । हामी यो गर्न सक्छौँ भन्ने विश्वास थियो र आज हामीले त्यो देखायौँ’, सेबास्टियनले भने ।
खेलको सुरुआतदेखि नै भ्यानकुभरको तीव्र आक्रमणले मियामीलाई दबाबमा राखेको थियो । २४औँ मिनेटमा पेड्रो भिटेले बक्समा चिप गरेको बलमा ब्रायनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । यो सिजन उनको १५ खेलमा १०औँ गोल हो ।
भ्यानकुभरका खेलाडीले मेसीलाई लगातार घेरेर खेल्न नदिँदा प्रभाव न्यून रहेको थियो । पहिलो हाफमा उनले प्रहार गरेको लामो दुरीको प्रहार बार माथिबाट बाहिरियो । दोस्रो हाफमा मियामीले सुधारिएको खेल देखाए पनि आक्रमणको गति ढिलो र अनुमान गर्न सकिने किसिमको थियो । मेसीको फ्रिकिक जापानी गोलकिपर योहेई टाकाओकाले सजिलै रोके ।
सेबास्टियन अमेरिकी पूर्वप्रशिक्षक ग्रेग बर्हाल्टरका छोरा हुन् । पुरै खेलभरि उनले ऊर्जा र चतुराइसाथ खेले । उनले एकपटक राम्रो अवसर गुमाए पनि ८५औँ मिनेटमा जयडेन नेल्सनको पासमा गोल गर्दै भ्यानकुभरलाई २–० को विजयी दिलाए ।
मियामीले खेलको अन्त्यतिर ‘अवे गोल’को खोजीमा आक्रमण गरे पनि भ्यानकुभरको रक्षापंक्तिले मजबुत प्रदर्शन गर्दै जित सुरक्षित गरेको हो । दोस्रो लेग आगामी बुधबार दक्षिण फ्लोरिडामा हुनेछ ।
प्रतिक्रिया