भारत र पाकिस्तान दुवै आणविक–शक्ति सम्पन्न मुलुक हुन् । त्यसैले उनीहरूबीचको अहिलेको तिक्तता झण्डै ३–४ दशक यताकै उत्कर्ष विन्दुमा पुगेकाले कुनै पनि बेला युद्धमा बदलिने अनुमान गरिएको छ ।
काठमाडौँ । २६ जनाको ज्यान जाने गरी काश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि अहिले २ जनाको चर्चा भइरहेको छ । अदिल हुसेन थोकर आतंकवादीलाई सहयोग गरे वापत घटनाका खलपात्रको रूपमा परिचित भएका छन् । यसैगरी, सो घटना भएको नजिकैको गाउँका सैयद अदिल हुसेन साह सो घटना रोक्नका लागि सहयोग गरेका कारण नायक भएका छन् ।
लस्कर–ई–तोइबामा आवद्ध अहिल हुसेन थोकरले सन् २०१८ मा बाघा बोर्डर हुँदै पाकिस्तानमा गएर सैन्य तालिम लिएका थिए । गत वर्ष मात्र उनी भारत फर्किएका हुन् । उनीसहित असिफ सेख पनि घटनामा संलग्न भएको पाइएको छ । सैइद अहिल हुसेनको हापट घटनासँग जोडिएको अर्को नाम हो । उनको घर घटना भएको स्थानबाट २० किलोमिटर टाढा छ । आतंककारीको बन्दुक खोस्ने प्रयास गरेका कारण उनको ज्यान गएको थियो ।
यस घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । पहलगाम आक्रमणमा परी १ जना नेपाली सुदीप न्यौपानेसहित २६ जनाले ज्यान गुमाएका थिए भने अरू दर्जनौँ घाइते भएका छन् । घटनापछि भारतले आफ्नो मुलुकमा रहेका पाकिस्तानी नागरिकलाई देश छोड्न निर्देशन दिएको छ । त्यस्तै, भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ भने सिन्धु जल सम्झौता पनि स्थगित गर्ने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्न कसैलाई पनि बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रधानमन्त्री मोदीले आक्रमणमा संलग्नलाई पृथ्वीको जुनसुकै कुनामा भए पनि कारबाही गर्ने दृढता जनाएका छन् । उनले आतंककारीलाई ‘माटोमा मिलाइदिने’ चेतावनी पनि दिएका छन् । उता पाकिस्तानले पनि भारतको कदमविरुद्ध कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानले सिन्धु जल सन्धि खारेज गर्ने भारतीय निर्णयको निन्दा गरेको छ । पाकिस्तानले आफूले पाउनुपर्ने पानीमा अवरोध गरे त्यसलाई ‘युद्ध’ मानिने पनि चेतावनी दिएको छ । पाकिस्तानले भारतीय स्वामित्वमा रहेका सबै हवाइ सेवा कम्पनीलाई आफ्नो आकाश प्रयोग गर्न नदिने, सन् १९७२ को शिमला सम्झौता पनि खारेज गर्नेजस्ता घोषणा पनि गरेको छ । बिहीवार राती कश्मीरस्थित भारत–पाकिस्तान सीमामा २ मुलुकका सुरक्षाकर्मीबीच रातभर दोहोरो गोली हानाहान भएको समाचार आएका छन् । यस्तो अवस्थामा २ मुलुकबीच युद्ध हुने हो कि भन्ने चिन्ता पनि बढेर गएको छ ।
चरमपन्थीको घर विस्फोट गरायो भारतीय सेनाले
भारतको जम्मू–कश्मीरमा शुक्रबार लश्कर–ए–तोइबासँग सम्बन्धित २ चरमपन्थीका घर भारतीय सेनाल विस्फोट गरेर ध्वस्त बनाएको छ । त्राल र अनन्तनागमा रहेका ती घरहरू सर्च अपरेसनका क्रममा भारतीय सेनाले बिस्फोट गराएको हो । भारतीय सेनाको स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार शुक्रबार बिहान त्रालमा आसिफ शेख र अनन्तनागको बिजबेहरामा आदिल ठोकेरको घरमा सर्च अपरेसन गरिएको थियो ।
अपरेसनका क्रममा दुवै घरहरूमा बिस्फोटक पदार्थ फेला परेको दाबी भारतीय सेनाको छ । सैनिकहरू सुरक्षाका कारणले केही पर हटेलगत्तै बिस्फोट भएको दाबी गरिएको छ । सो बिस्फोटमा दुवै घरहरू पूर्ण रूपमा ध्वस्त भए । भारतीय केही मिडियाले भने ती घर सेनाले नै उडाएको जनाएका छन् । बान्दीपोरा क्षेत्रमा भइरहेको एक भिडन्तमा १ चरमपन्थी मारिएका छन् । घटनामा २ जना सैनिक घाइते भएका छन् । आतंककारीहरू लुकेर बसेको सूचना आएपछि शुक्रबार बिहानदेखि नै त्यहाँ सर्च अपरेसन थालिएको थियो । त्यहाँ भिडन्त अझै जारी छ ।
यसबाहेक, शुक्रबार बिहान पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) का विभिन्न क्षेत्रहरूमा गोलीबारी गरेको समाचार छ । भारतीय सेनाले तुरुन्तै जबाफ दिएको बताइएको छ । यही २२ अप्रिल अर्थात् मंगलबार दिउँसो पहलगामको बैसरन उपत्यकामा आतंककारीले पर्यटकमाथि गोली बर्साएका थिए । सो हमलामा नेपालीसहित २६ जना पर्यटक मारिएका थिए । यस घटनामा १७ जना घाइते भएका थिए ।
भारत –पाकिस्तान दुवै आक्रामक
भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ । प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाए, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए ।
बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।’ भारतले कश्मीरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँड सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूको भिसा खारेज गर्ने निर्णय लिएको थियो ।
पाकिस्तानले जवाफमा भारतीय कूटनीतिज्ञहरूलाई देश छोड्न निर्देश गरेको छ र भारतीय नागरिकहरूको भिसा रद्द गरिएको छ, यद्यपि सिख तीर्थयात्रीहरूलाई यसमा छुट दिइएको छ । इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ । पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ । साथै, पञ्जाबस्थित बाघा नाका पनि बन्द गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ ।’ पाकिस्तानले भारतसँग हुने सबै ब्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ । भारतीय सुरक्षा बलले ठुलो संख्यामा मानिसहरूलाई हिरासतमा लिएर आक्रमणकारीहरूका लागि व्यापक खोजी सुरु गरेको छ ।
यसैगरी भारतीय सेनाले शंकास्पद भनेर समातिएका ३ जनामध्ये २ जना पाकिस्तानी भएको जनाएको छ । अहिलेको यो अवस्थामा भारतले बारम्बार चेतावनीको भाषा बोल्दै कुनै पनि हालतमा आतंकवादलाई नछाड्ने जनाइएको छ । पाकिस्तानले सिन्धु नदीको पानी रोकिए स्वतः युद्ध घोषणा भएको मानिने जनाएको छ । सिन्धु नदी पाकिस्तानको कृषिका लागि सबैभन्दा ठूलो पानीको स्रोत हो । अहिले सीमामा दुवै देशका सेनाहरू तैनाथ अवस्थामा छन् ।
‘अधिकतम संयम’ अपनाउन आग्रह
भारत र पाकिस्तान दुवै आणविक–शक्ति सम्पन्न मुलुक हुन् । त्यसैले उनीहरूबीचको अहिलेको तिक्तता झण्डै ३–४ दशक यताकै उत्कर्ष विन्दुमा पुगेकाले कुनै पनि बेला युद्धमा बदलिने अनुमान गरिएको छ । यसैले संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ।
‘हामी दुवै सरकारलाई अधिकतम संयम अपनाउन र हामीले देखेको अवस्था र घटनाक्रम अझ बिग्रिन नपरोस् भनी सुनिश्चित गर्न अपिल गर्दछौँ’, संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूसँग भनेका छन्, ‘पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।’
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको यस क्षेत्र अर्थात् काश्मिरलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागमा शासन गर्दै आएका छन् । विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मिरमा विद्रोह गर्दै आएका छन् ।
यसैबीच भारतको वायुसेना र नौसेना दुवैले बिहीबार सैन्य अभ्यास गरेका छन् । भारतीय प्रहरीका अनुसार ३ बन्दुकधारी पाकिस्तान–आधारित लश्कर–ए–तैयबा समूहका सदस्य हुन् । लश्कर–ए–तैयबा संयुक्त राष्ट्रसंघद्वारा घोषित आतंकवादी संगठन हो । उनीहरूले प्रत्येक व्यक्तिलाई पक्राउ गर्ने सूचनाका लागि २० लाख रुपैयाँ (२३ हजार ५०० डलर) इनामको घोषणा गरेका छन् ।
विशेषज्ञहरूका अनुसार सैन्य प्रतिक्रिया अझै आउन बाँकी हुन सक्छ । केहीले यो केही दिनभित्र आउन सक्छ भन्ने अनुमान गरेका छन् भने अरूले हप्ताहरू लाग्ने बताएका छन् । सन् २०१९ मा काश्मिरमा भएको आत्मघाती आक्रमणमा ४१ जना भारतीय सैनिक मारिएपछि भारतीय वायुसेनाले पाकिस्तानभित्र आक्रमण गर्यो । यसले २ मुलुकलाई पूर्ण युद्धको संघारमा पुर्याएको थियो ।
हालका वर्षहरूमा भएको सबैभन्दा खराब आक्रमण सन् २०१९ फेब्रुअरीमा पुलवामामा भएको थियो । उक्त आक्रमणमा विद्रोहीहरूले बिस्फोटकले भरिएको कार उडाएर प्रहरी काफिलामा ठोक्काउँदा ४० जनाको मृत्यु र कम्तीमा ३५ अन्य घाइते भएका थिए । त्यसबेला भारतीय लडाकु विमानहरूले १२ दिनपछि पाकिस्तानी क्षेत्रमा हवाई आक्रमण गरेका थिए ।
के भन्छन् ज्योतिष ?
यसै विषयमा भारतीय टेलिभिजन एबीपीले ज्योतिष विज्ञानका जानकार पण्डित सञ्जय उपाध्यायसँग कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले भारतको भविष्य संघर्षले भरिपूर्ण विवादतर्फ उन्मुख रहेको बताएका छन् ।
हाल शनि मीन राशिमा आएमा त्यो अघि बढ्दै मेष राशितर्फ अग्रसर हुने उनको भनाइ छ । यसको अर्थ भारतले छिमेकी देशसँग विवाद वा संघर्षले भरिपूर्ण स्थितिको सामना गर्नुपर्ने हुन सक्छ ।
त्यसबाहेक केही ग्रह–नक्षत्रको उतारचढावमा तिथिले पनि महत्वपूर्ण प्रभाव पार्ने उनले एबिपी न्युजलाई बताएका छन् । अक्षय तृतीया आगामी ३० अप्रिलमा आउँदै छ । त्यसैगरी, आगामी ४–५ मेको समय पनि भारतका लागि प्रभावशाली हुने उनले बताएका छन् ।
प्रतिक्रिया