काठमाडौँ । २ दिनअघि जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानको सम्बन्ध अझ बिग्रँदै गएको छ । बिहीबार पाकिस्तान सरकारले भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित गरेको छ । भारतले बुधबार चालेको कदमको काउन्टरमा पाकिस्तानको यस्तो निर्णय आएको हो ।
भारतसँगका सबै द्विपक्षीय सम्झौता स्थगित गर्ने निर्णयअघि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकपछि प्रधानमन्त्री शहबाज शरिफको कार्यालयबाट जारी विज्ञप्तिमा भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको उल्लेख छ ।
पहलगाममा मंगलबार आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको हत्या गरेका थिए । सो आक्रमणपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय लिएको थियो । साथमा कूटनीतिक नियोगका कर्मचारीको भिसा रद्द गर्दै देश निकालाको निर्णय गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय गरेको थियो । बैठकले सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र भारत छाड्न निर्देशन दिएको थियो ।
यस्तै, नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई अवाञ्चित व्यक्ति (पर्सन नन ग्रान्टा) ठहर्याउँदै ७ दिनभित्र देश छाड्न आदेश दिएको थियो । इस्लामावादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।
पाकिस्तानले भारतको सो निर्णय अस्वीकार गर्दै पानी रोक्ने वा मोड्ने प्रयासलाई युद्धको कार्य मानिने भन्दै पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणबिना भारतले पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास गरेको उसको दाबी छ । उसले भारतीय कदमलाई एकपक्षीय, अन्यायपूर्ण, राजनीतिक रूपमा प्रेरित, अत्यन्तै गैरजिम्मेवार र कानुनी योग्यतारहित भन्दै टिप्पणी गरेको छ ।
पाकिस्तानले भारतको विरुद्धमा गरेको निर्णय यतिमै सीमित छैन । पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पुर्याएको छ । भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छाड्न आदेश दिएको छ ।
यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाकिस्तानलाई थप चेतावनी दिएका छन् । पहलगाममा भएको आतंकवादी हमलापछि उनले पहिलो पटक सार्वजनिक सभालाई सम्बोधन गर्दै भने, ‘साथीहरू, २२ अप्रिलमा जम्मु कश्मीरको पहलगाममा आतंककारीहरूले निर्दाेष देशबासीहरूलाई जुन क्रुरतापूर्वक मारेका छन्, त्यसबाट सारा देश दुखेको छ । यो दुःखमा पूरै देश उनीहरूको साथमा उभिएको छ ।’
यो आक्रमण निहत्था पर्यटकहरूमाथि मात्र नभएको, शत्रुहरूले भारतको आस्थामाथि आक्रमण गर्ने आँट गरेको भन्दै उनले भने, म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यो आक्रमण गर्ने आतंककारीहरू र यसको पछाडि षड्यन्त्र रच्नेहरूलाई उनीहरूले कल्पना गर्न सक्नेभन्दा ठुलो सजाय दिइनेछ । अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ । १४० करोड भारतीयको इच्छाशक्तिले अब आतंकवादको ढाड भाँचिदिनेछ ।’
यस्तै, सम्भावित कदमका बारेमा छलफल गर्न बिहीबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा विपक्षी दलका नेता राहुल गान्धीसहित गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडेसहित अन्य नेताको पनि सहभागिता थियो ।
करिब २ घन्टासम्म चलेको बैठकमा उपस्थित सबैले आतंकवादी आक्रमणको निन्दा गर्दै आफूहरू सरकारको समर्थनमा रहेको जनाएका थिए । बैठकका क्रममा राहुल गान्धीले आतंकवादी हमलाको बदलाका लागि सरकारले चाल्ने जुनसुकै कदममा आफूहरूको समर्थन रहेको जनाए । भारतीय सञ्चारमाध्यका अनुसार सरकारले पनि विपक्षीहरूलाई आतंकवादविरुद्ध कारबाही गरेरै छाड्ने आश्वासन दिएको छ ।
त्यस्तै, भारतले युद्ध अभ्यास पनि सुरु गरिसकेको छ । ‘आक्रमण’ नाम दिएर बिहीबारदेखि नै भारतीय वायुसेनाले आकाशबाटै पहाड र जमिनमा हवाई आक्रमणको अभ्यास गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार पाकिस्तानले पनि भारतसँग सीमा क्षेत्रमा रहेका आफ्ना हवाई अड्डाहरूमा करिब १८ वटा युद्धपोत विमान तैनाथ गरिसकेको छ ।
प्रतिक्रिया