प्राकृतिक प्रकोपका अति जोखिमजन्य क्षेत्रमा दक्षिण एसियाका मुलुकमा नेपाल एक अग्रणी मुलुक हो । तसर्थ हामी सधँै उच्च जोखिममा छौँ । विज्ञानको सिद्धान्तले प्रकोपका घटनाले भन्दा पनि हामीले निर्माण गरेका कमजोर प्रकोप प्रतिरोधात्मक संरचना निर्माणका कारणले मानवीय क्षति अधिक हुनेछन् ।
नेपाल विश्वका भूकम्पीय जोखिमपूर्ण मुलुकको अग्रस्थानमा छ । नेपाल सहितका हिन्दकुशक्षेत्रका भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, म्यानमार, चीनको स्वशासितक्षेत्र तिब्बत, इरान लगायतका मुलुकहरू भूकम्पीय दुष्टिकोणबाट जोखिमपूर्णक्षेत्रमा छन् । नेपालको भौगर्भिक अवस्था भूकम्पीय प्रकोपको चपेटामा संवेदनशील रहेको छ ।
नेपालमा विभिन्न समयमा साना ठुला भूकम्प गई नै रहेका छन् । १९९० सालको भूकम्प, २०४५ सालको उदयपुुर केन्द्रविन्दु बनाई गएको भूकम्प, २०७२ सालको बारपाक केन्द्रविन्दु बनाई गएको भूकम्प ठुलाभूकम्पमा लिन सकिन्छ । २०८० कात्तिकमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गयो । त्यस विनासकारी भूकम्पका कारण १५४ जना निर्दोष नागरिकको ज्यान लियो, ५६६ घाइते भए । मध्यपश्चिम नेपालका १ दर्जन जति जिल्ल्ला निकै प्रभावित रहे भने विशेषतः जाजरकोट र रुकुमपश्चिम जिल्लामा व्यापक भौतिक क्षति भयो । भूकम्प पीडितको राहत र अस्थायी आवास निर्माणमा तदारुकता भए पनि स्थायी आवास निर्माणले आशातित गति लिन नसकेको देखिन्छ ।
गत १५ चैतमा मध्यान्हको समय मार्च २८ मा ७ दशमलव ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प म्यान्मारमा गयो । यस भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) म्यान्मारको दोस्रो ठुलो सहर म्यान्डालेयको नजिक सागाइंग क्षेत्र रहेको थियो । यस विनासकारी भूकम्पमा परी कम्तिमा ३ हजार ७०० जनाको मृत्यु भइसकेको, ४ हजार ८०० जना घाइते तथा १२९ जना हालसम्म हराइरहेका र छिमेकी थाइल्यान्डमा २२ जनाको मृत्यु भएको सञ्चार माध्यमले जानकारी दिएका छन् । २२ मिलियन म्यान्मारका बासिन्दा प्रत्यक्षरूपमा प्रभावित भएका छन् । यो संख्या बेलायतको कुल जनसंख्याको आधाआधी हुन आउँछ ।
हामीलाई संस्मरण छ, २०७२ वैशाख १२ मध्यान्हको अकल्पनीय दुर्घटनाले आमसञ्चार जगतमा कम्पन सिर्जित गर्यो । विश्वका प्रमुख सञ्चार माध्यमले मुख्य समाचारका रूपमा गोरखा भूकम्पको समाचार सम्प्रेषण गरे । गोरखाको बारपाक केन्द्रविन्दु रहेको ७ दशमलव ८ म्याग्निच्युडको आमविनासकारी भूकम्प, गोरखा भूकम्पको पर्यायका रूपमा मिडियाले ग्रहण गर्यो । मध्यपहाडी र पश्चिम नेपाल तथा काठमाडौँ उपत्यकाका ३ जिल्लासहित १४ जिल्लामा अधिक मानवीय तथा भौतिक क्षति पुर्यायो भने समग्रमा ३२ जिल्लामा क्षति पुर्यायो । त्यस अकल्पनीय भूकम्पले ८ हजार ८०० भन्दा बढी आमनागरिकको ज्यान लियो । २१ हजार ९५२ जना घाइते भए भने करिब ६ लाख घरहरू पूर्ण र आंशिक रूपमा क्षति भए । एकातिर कैयौँ नागरिकले अनाहकमा ज्यान गुमाउन पुगे भने लाखौँ जनताहरू भूकम्पको लामो समय अस्थायी आवासमा जेनतेन गुजारा गरे । अनुमान लगाउन सकिन्छ कि त्यो भूकम्पको विनासलीला कत्तिको भयावह थियो ।
२०७२ वैशाख १२ को आमविनासकारी भूकम्पको भयावह तरंगले सिंगो राष्ट्र एकपटक झस्कियो । विनासक भूकम्पको चपेटामा निर्दोष बालबालिका, वयस्क र प्रौढ तथा कैयौँ गाउँवस्तीहरू सखाप भए । मानवीय र भौतिक क्षतिले मानसपटलमा छाप त छोड्यो नै प्राकृतिक विपद्बाट सजग र सचेत रहन ठुलै पाठ सिकायो । प्रकोपजन्य घटनाले एकता, धैर्यता तथा साहसको ऊर्जा पनि थप्यो । त्यसै साहासिक ऊर्जाको पदचापमा पूनर्निर्माण तथा नविनवस्तीको निमार्णमा निकैहदसम्म कार्य भए । वारपाक गाउँको नविनरूप पुनर्निर्माणको एक उदाहरणीय कार्य भयो । अन्य भूकम्प प्रभावित बस्ती तथा गाउँहरूमा नयाँघर निर्माण सबलीकरणसहित पुनर्निर्माणका कार्यको अगुवाइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्यो ।
यस्तै प्रकृतिका गम्भीर प्राकृतिक विपद्को व्यवस्थापन तथा पुनर्निर्माणमा भविष्यका लागि व्यवस्थापकीय सक्षमता र कुशलताको उदाहरण रह्यो । नागरिकमा सचेतना, पूर्व तयारी तथा विपद् व्यवस्थापनका चक्रीय कार्यको चुस्तदुरुस्त प्रतिकार्य सधँै आवश्यकताका रूपमा रहन्छ । प्रकोप प्राकृतिकजन्य वा मानवीय त्रुटीका कारण जे जसरी भए पनि क्षति न्यूनीकरण र उचित व्यवस्थापन पहिलो आवश्यकता रहन्छ ।
अबको प्राथमिकता भनेको तत्काल प्रकोप व्यवस्थापन आकस्मिक कोषको सञ्चालन र दिगोरूपमा यसको व्यवस्थापन गर्ने । संघीय, प्रदेश र स्थानीय तहमा प्रकोप आकस्मिक कोषको परिचालन तीनै तहमा गर्ने वातावरण बनाउने । उक्त कोषलाई स्थायित्व दिने । उचित आौचित्यका आधारमा निश्चित तर न्यून भए पनि कर राजस्वको अंश यस कोषमा राख्ने व्यवस्था गर्ने । प्रकोपको समयमा तत्काल राहत, उद्दार र पुनस्र्थापनाका क्षेत्रमा न्यायोचित उपयोग गर्ने । प्राकृतिक र अन्य प्रकोपजन्य घटना सम्बन्धमा अध्ययन, अनुसन्धान र नीतिगत कार्यलाई बढवा दिने वातावरण बनाउने । भूकम्प तथा प्राकृतिक प्रकोपसम्बन्धी संग्रहालय भौगोलिक आवश्कता र वित्तीय क्षमताका आधारमा सञ्चालनमा ल्याउनेजस्ता कार्यलाई गहनरूपमा अघि बढाउनुपर्ने देखिन्छ ।
लिखित प्रमाणिकताका आधार र सन्दर्भमा मल्लकालीन राजा अभयमल्लको पालामा सन् १२५५ को जुन ७ मा ७ दशमलव ८ रेक्टर स्केलको ठुलो भूकम्प गएको थियो । ऐतिहासिक तथ्यांकका आधारमा यस क्षेत्रमा ठुला भूकम्प गएका छन् । भूकम्पीय जोखिम न्यूनीकरणका लागि पर्याप्त सिस्मिक हेजार्डको मूल्यांकन आवश्यक छ, जुन सिस्मोटेक्टोनिक र जियोलोजिक प्रक्रियाबाट मूल्यांकन (इभालुएसन) गर्न सकिन्छ भन्ने वैज्ञानिक आधारमा भूगर्भविद्को विचार छ ।
नेपालका प्रमुख प्रकृतिजन्य प्रकोपमा बाढीपहिरो, अविरल वर्षापछिको भूक्षय तथा भूस्खलन, सुक्खा पहिरो, गर्मी मौसममा हुने आगलागी, तराईक्षेत्रमा हुने बाढी पछिको डुबान, आँधी (केही वर्ष अघिको बारा र पर्साका केही गाउँमा गएको टोर्नाडो आँधी), हिमताल विष्फोट तथा बाढी, चट्याङ, हुरीबतास तथा भूकम्प र भूसतहमा हुने अन्य विभिन्न प्रकोप आदि हुन् । विगतका केही हप्तामा मुलुकका विभिन्न भागमा डढेलो र आगलागीका घटनाले आक्रान्त पारेको छ । सुक्खा मौसमका यस्ता प्रकोपले धनजनको क्षति भएका छन् । विशेषतः प्राकृतिक सम्पदाको विनासका साथै मानवीय र भौतिक संरचनाको समेत व्यापक क्षति हुन गयो । गत असोज महिनाको ११–१२ गते काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न भागमा आएको अविरल वर्षा पश्चातको विनासकारी बाढी र पहिरोका कारण व्यापक धनजनको क्षति हुन पुग्यो । भौतिक संरचना र राजमार्गको क्षति कहालिलाग्दो रह्यो । पुनर्निर्माणको कार्यले ऊर्जा पाउनुपर्छ ।
प्राकृतिक प्रकोपका अति जोखिमजन्य क्षेत्रमा दक्षिण एसियाका मुलुकमा नेपाल एक अग्रणी मुलुक हो । तसर्थ हामी सधँै उच्च जोखिममा छौँ । विज्ञानको सिद्धान्तले प्रकोपका घटनाले भन्दा पनि हामीले निर्माण गरेका कमजोर प्रकोप प्रतिरोधात्मक संरचना निर्माणका कारणले मानवीय क्षति अधिक हुनेछन् । तसर्थ प्रकोप प्रतिरोधात्मक संरचना निर्माणको मापदण्ड सहितका संरचना निर्माण प्राथमिक दायित्व हो । भवन तथा संरचना निर्माणको लागि सरकारले निर्धारण गरेका मापदण्ड कडाइका साथ पालना तथा निर्माणका दौरान अनुगमन तथा मूल्यांकन नितान्त महत्व राख्दछ ।
काठमाडौँ उपत्यकामा उल्लेख्य सम्पदा तथा ऐतिहासिक धरोहरहरूको पुनर्निर्माण कार्य सम्पन्न भइसको छ । रानीपोखरीले पुरानै मौलिकता र स्वरूप प्राप्त गर्नसक्यो । सम्पदा पुनर्निर्माण ऐतिहासिक मौलिकता जोगाउनु संवेदनशील विषय हो । पुरातात्विक महत्व, कलाकृति र धार्मिक पक्षलाई ख्याल र सजगता प्राथमिकता हो । सांस्कृतिक तथा धार्मिक महत्व बोकेका ऐतिहासिक सम्पदाको पुनःर्निर्माणका कार्यमा युनेस्को मित्रराष्ट्र चीन, भारत लगायतको सहयोग र सहकार्यमा सम्पदाको पुनर्निर्माणमा सहयोगी हातले काम गरे । निरन्तर रहला ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा छ । प्रकोप न्यूनीकरण तथा प्रकोपपछिका राहत तथा पुनर्निमाणका कार्यमा दीर्घकालीन योजना र सोचले काम गर्नु छ । राज्यसंयन्त्र तथा सरोकार निकायको गहन जिम्मेवारी रहन्छ । विपद् व्यवस्थापन तथा प्राकृतिक प्रकोप न्यूनीकरणमा चुस्त समन्वय, गुणात्मक र परिणाममुखी कार्य र चिन्तन रहनु पर्दछ । विपद्लाई संयमसाथ व्यवस्थापन गर्ने उत्सर्गता देखाएमा भावि पुस्ताका लागि अनुपम रहला । विनास पछिको पुनःर्निमाणमा अग्रसरता रहे नयाँ नेपालको निर्माण अभियान सार्थक हुनेछ ।
प्रतिक्रिया