कतिपयले नेपाल जस्तो भूपरिवेष्ठित देशको विकास कठिन हुन्छ भन्ने टिप्पणी पनि गरिरहेका छन्, तर यो एउटा बहाना मात्रै हो । इटाली, जर्मनी, अस्ट्रिया र फ्रान्सबाट घेरिएको भूपरिवेष्ठित देश स्विट्जरल्यान्ड पनि नेपाल जस्तै गरिब हुनुपर्ने होइन र ? तर स्विटजरल्यान्ड विश्वका धनी राष्ट्रहरू मध्ये एक हो ।
नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा रहेन । नेपालीहरूले आफ्नो आत्मसम्मान र स्वाभिमानसित कहिल्यै सम्झौता गर्नु परेन । हाम्रो देश जलस्रोत, जडीबुटी, पर्यटन आदि सम्भावनाले भरिएको देश हो । आफ्नो प्राकृतिक स्रोत एवं साधनको सदुपयोग गर्ने हो भने नेपाल धन कुबेर बन्न सक्छ, तर देशको विकासको निम्ति दूरदृष्टि चाहिन्छ । देश विकासको सपना बोक्नेबाट मात्रै यो सम्भव हुन सक्छ ।
जनतालाई मिठा–मिठा सपना देखाउने, झुठा प्रतिबद्धता व्यक्त गर्ने, तर त्यसलाई धरातलमा उतार्न सिन्को पनि नभाँच्ने प्रवृत्ति रहुन्जेलसम्म देशले विकास गर्न सक्दैन । गरिबी, बेरोजगारी, महँगी, राजनीतिक अस्थिरता र बढ्दो भ्रष्टाचार अहिले पनि देशको निम्ति गम्भीर समस्या रहेको छ । नेपालमा दशकौँदेखि गठबन्धनको राजनीतिले महत्व पाएको छ, तर देश र जनताको विकासको सबालमा मतैक्य कायम हुन सकेन । नेपालको आर्थिक विकास र समृद्धि राजनीतिक दलको प्राथमिकतामा रहेन । जबसम्म नेपालले आफनो प्राथमिकताको निर्धारण गर्ने छैन तबसम्म हालत यस्तै हुनेछ । कुन समस्याको समाधान पहिले हुनुपर्छ ? भन्ने विषयमा देशका राजनीतिक दलहरूबीच मतैक्य हुनु आवश्यक छ । यदि देशमा बढी समस्या छ भने पनि एक–एक गरी समस्याहरूको समाधान गर्नु आवश्यक छ । केवल राष्ट्रियताको नाराल मात्रै देश प्रगति गर्न सक्दैन ।
राष्ट्रियताको नारा क्रूर शासक र तानाशाहहरूको निम्ति अमृत सावित हुने गर्दछ । कुनै जमानामा सोभियत संघसँग २० हजारभन्दा बढी एटम बम थियो, तर सोभियत संघको विघटनलाई रोक्न सकिएन । युगोस्लाभियाले पनि आफ्नो प्रतिरक्षामा धेरै खर्च गर्यो, तर देशलाई जोगाउन सकेन । जबसम्म देशका जनताको जीवनस्तरमा सुधार आउँदैन, समृद्धि आउँदैन तबसम्म राष्ट्रियता बलियो हुन सक्दैन । कमजोर देशको राष्ट्रियता सधँै खतरामा हुन्छ । आर्थिक रूपले सम्पन्न राष्ट्र मात्रै आफ्नो स्वतन्त्र विदेश नीतिको सञ्चालन पनि गर्न सक्छ । कुनै पनि देश एक्कासि धनी वा गरिब हुँदैन । दशकाँैको सतत प्रयत्न, त्याग, समर्पण राष्ट्रप्रेम तथा पारदर्शिताबाट मात्रै देश समृद्ध र धनी हुन सक्छ, जबकी यसको ठिक विपरीत जातिवाद, क्षेत्रवाद, निरंकुशता, तानाशाही, गृहयुद्ध र लामो समय सम्मको अशान्ति र भ्रष्टाचारका कारण देश आर्थिक रूपले कंगाल हुने गर्छ । नेपाल विगत केही वर्ष यतादेखि पटकपटक ‘ग्रे लिस्ट’ मा पर्नुको मुख्य कारण भ्रष्टाचार विरुद्धको लडाईं कमजोर हुनु हो ।
कुनै देश गरिब किन हुन्छ र कुनै देश धनी किन हुन्छ ? यसको कारण खोतल्न धेरै प्रयास गर्नु पर्र्दैन । त्यसको सोझो जवाफ त्यस देशका शासक र जनताको व्यवहारमा निर्भर हुने गर्छ । प्राकृतिक स्रोत एवं साधनकै आधारमा देशले सम्पन्नता हासिल गर्ने भए अफ्रिकी देशहरू तीव्र आर्थिक विकास गरेर स्विट्जरल्यान्ड, सिंगापुर, जापान आदि देशहरूलाई उछिनेर अगाडि बढिसकेका हुने थिए, तर ती देशहरूको विकास हुन सकेन । उल्टै ती देशहरू गरिब राष्ट्रको श्रेणीमा परेका छन् । घाना, सुडान, लिबिया, गिनी, तान्जानिया, जिम्बाबे, अल्जेरिया, इजिप्ट, मरिसस, मोराको, कंगो, माली आदि अफ्रिकाका यस्ता देशहरू हुन जहाँ ठुलो मात्रामा सुनको उत्पादन हुन्छ । सुनजस्तो खनिज सम्पदाले भरिएको देश त धेरै नै विकसित देश भइसक्नुपर्ने हो, तर सर्वाधिक गृहयुद्ध, अशान्ति, उपद्रव र हत्या–हिंसाका घटनाहरू त्यही भइरहेका छन् । आर्थिक प्रगतिका लािग राजनीतिक स्थायित्व र देशमा स्थायी शान्ति आवश्यक छ । वैदेशिक लगानी आउन सकोस् यसको निम्ति लगानीमैत्री वातावरणको विकास हुनु आवश्यक छ ।
कतिपयले नेपालजस्तो भूपरिवेष्ठित देशको विकास कठिन हुन्छ भन्ने टिप्पणी पनि गरिरहेका छन्, तर यो एउटा बहाना मात्रै हो । इटाली, जर्मनी, अस्ट्रिया र फ्रान्सबाट घेरिएको भूपरिवेष्ठित देश स्विटजरल्यान्ड पनि नेपाल जस्तै गरिब हुनुपर्ने होइन र ? तर स्विट्जरल्यान्ड विश्वका धनी राष्ट्रहरू मध्ये एक हो । स्विट्जरल्यान्ड भूपरिवेष्ठित राष्ट्र भएर पनि धनी देश हो । नेपाल पनि भारत र चीन जस्ता विश्वका २ प्रमुख आर्थिक शक्तिको बीचमा अवस्थित छ । यसले पनि स्विट्जरल्यान्ड जस्तै धनी राष्ट्र हुनुपर्ने होइन र ?
त्यसै गरी समुद्री बन्दरगाह भएकै कारण देशले आर्थिक प्रगति गर्ने भए श्रीलंकाको दुरावस्था हुने थिएन । समुद्री मार्गको उपलब्धताले आर्थिक विकासको गतिलाई तीव्र पार्न महत्वपूर्ण भूमिका खेल्ने हो भने अफ्रिकी राष्ट्र यमनले तीव्र गतिमा आर्थिक विकास गर्नुपर्ने हो । यमनमा समुद्री मार्गको अभाव छैन । ठुला ठुला बन्दरगाहहरू छन् तैपनि यमन गरिब छ । उल्टो, अहिले यमनले सउदी अरब र इरानको लागि परोक्ष युद्ध गरिरहेको छ । आफ्नो देशको लागि होइन, इरान र साउदी अरेबियाको लािग गृहयुद्ध गरिरहेका छ । यमन वर्षौंदेखि गृहयुद्धको आगोमा जलिरहेको छ । अफगानिस्तान पनि प्राकृतिक स्रोत र सम्पदाहरूले भरिपूर्ण देश हो । तर यो विश्वको सर्वाधिक गरिब राष्ट्रहरूको सूचीमा १७औँ नम्बरमा हो ।
कुनै पनि देशको आर्थिक विकासका लागि आवश्यक पूर्व सर्त जनताको विकास प्रतिको भोक हो । विकासप्रति भोक भएका जनता राम्रो सुयोग्य एवं इमानदार प्रतिनिधिको छनौट गर्दछन् । योग्य व्यक्ति संसद्मा पुगेपछि देश र जनताको हितमा लाभ हुने खालको निर्णय लिन्छन् । त्यस्ता नेताको प्राथमिकतामा देशका जनता र देशको विकास प्राथमिकतामा हुने गर्छ । पश्चिमी युरोपेली राष्ट्रहरू प्राकृतिक स्रोत र साधनको प्रचुरताका कारण अथवा त्यसको उपभोग गरेर समृद्धशाली राष्ट्र बनेका होइनन् । विगतमा स्पेन, फ्रान्स, बेलायत, निदरल्यान्डजस्ता राष्ट्रहरूले अन्य राष्ट्रहरूको स्रोत र साधनको उपयोग गरेर धनी हुन विश्वका अनेक देशमा उपनिवेश खडा गरेका थिए ।
दक्षिण अमेरिकाका ब्राजिलबाहेक सम्पूर्ण राष्ट्र बेलायत एवं फ्रान्सको अधिनमा थिए । आफ्नो उपनिवेश खडा गर्न ब्रिटेन दक्षिण एसियासम्म आएका थिए । भारतमा सैकडौँ वर्षसम्म विदेशी मुगल शासकहरूले शासन गरे त्यसपछि विदेशी अंग्रेजहरूले शासन गरेका थिए । विदेशी शासकहरूले भारतका बहुमूल्य बस्तु र गहना, मुद्रा हिरा, रत्न आदि आफूसँगै लगेका थिए तर पनि साढे ७ दशककै सानो अवधिमा भारतले ठुलो प्रगति गर्यो ।
राजनीतिक व्यवस्था ठुलो कुरा होइन राष्ट्रविकासका लागि जनतामा यसको चाहना हुनु आवश्यक छ । जनताको चाहना भएपछि नेता पनि सोहीअनुसार आफ्नो जिम्मेवारीको निर्वाह गर्नेछन् । शान्तिपूर्ण बस्न नसक्ने र प्रत्येक क्षण आन्दोलन र अराजकताको वातावरण खडा गर्ने मानसिकता युवा पुस्तामा रहुन्जेलसम्म विकास हुन सक्दैन ।
कुनै एक वा केही अन्य राष्ट्रहरूले अन्य कुनै एक राष्ट्रलाई गरिब बनाउने अवस्था अब रहेन । काम नगर्नेहरूको निम्ति त यो बहाना हुन सक्दछ तर यो बास्तविकता होइन । उपनिवेशवाद र विस्तारवाद एकादेशका कुरा भए । भिजन नभएका नेताहरूले सधैँ नै आफनो बचाउको निम्ति एउटा बहाना खोजेका छन् । पुँजीवादी अर्थ व्यव्स्थाका कारण देशको विकास भएन भने तर्क पनि वाहियात कुरा हो यसमा सत्यता छैन । अब आर्थिक उदारवाद र निजीकरण विश्वकै आर्थिक नीति बन्न गएको छ । बिरालो बाँधेर श्राद्ध गर्ने दिन अब गए । चीनजस्तो साम्यवादी राष्ट्रलाई पनि पुँजी चाहिएको छ । वैदेशिक लगानी चाहिएको छ । माओको आर्थिक नीतिलाई चीनले तिलाञ्जलि दिएको झण्डै ५ दशक हुन लागेको छ । नेपालका केही बामपन्थीहरू अहिले पनि त्यही किताब पढिरहेका छन् । देश विकासको लागि इमानदारी, पारदर्शिता, राष्ट्रप्रेम र समर्पण चाहिन्छ, बहाना होइन ।
प्रतिक्रिया