काठमाडौं । जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा आज काठमाडौंको भृकुटीमण्डप गुञ्जायमान भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनताले जितेको दिनको अवसरमा आयोजन गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ ।
आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, सांगीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुत भइरहेका छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् ।
कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेकाले कार्यक्रमस्थल गुञ्जायमान भएको हो । यो कार्यक्रम अन्यभन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहेका एमालेको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
‘देशैभरबाट काठमाडौं आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ, कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपतर्फ आइरहेका छन्’, उनले भने ।
करिब एक लाख युवा सहभागी हुने योजनाका साथ आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न युवा नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव ढुंगेलले जानकारी दिए ।
उनका अनुसार एमालेबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुहाङ नेम्वाङ, काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन् । कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने संयोजक ढुंगेलले जानकारी दिए ।
प्रतिक्रिया