विद्यालय सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

मध्यविन्दु (नवलपरासी) । यहाँको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै नयाँ शैक्षिकसत्रको प्रारम्भसँगै विद्यार्थी भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न विशेष आग्रह गरेको हो ।

गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सूचना जारी गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीको संविधान सम्मत माग पूरा गर्न नेपाल सरकारले भोलिदेखि नै संसद्को अधिवेशन आह्वान गरिसकेको र ऐन तथा नियमावली निर्माण एक कार्यविधिगत प्रक्रिया रहेकाले विधेयक संसद्मा प्रस्तुत गर्नेदेखि विषयगत समितिमा दफावार छलफल एवं पारित गर्ने क्रममा अझै केही समय लाग्ने हुँदा विद्यालय सञ्चालन गर्न आग्रह गरेकी छन् ।

पत्रमा लेखिएको छ, ‘यो विषम परिस्थितिको अन्तर मनदेखि मनन् गरी मिति २०८२–०१–१४ गते आइतबारदेखि अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्नुहुन प्रधानाध्यापक, शिक्षक एवं विद्यालय कर्मचारीलाई अनुरोध गर्दै विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट अनुगमन गर्नुहुन जानकारी गरिन्छ ।’

प्रतिक्रिया