नेपालगञ्ज । वैशाख २० र २१ गते नेपालगन्जमा नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ केन्द्रीय महाधिवेशन हुँदै छ । त्यसका लागि गत चैतदेखि तयारी थालिएको महाधिवेशन आयोजक समितिका संयोजक अब्दुल करिम खानले बताए । ‘महाधिवेशनको व्यवस्थापकीय कार्यसँगै अहिले भेटघाट, छलफल र प्रचारप्रसारमा छौँ’, संयोजक खान भन्छन् ।
इत्तेहादका केन्द्रीय कोषाध्यक्ष समेत रहेका महाधिवेशन तयारी समिति संयोजक खानले अधिवेशन तयारीका क्रममा पत्रकार सम्मेलन, मुस्लिम युवा भेला, मुस्लिम महिला भेला, विभिन्न राजनीतिक दलका मुस्लिम नेताहरुसँग छलफल, पत्रकारहरु सँग छलफल, मुस्लिम धार्मिक अगुवाहरुसँग छलफल लगायतका गतिविधि गरिसकेको जानकारी दिएका छन् ।
‘पछिल्लो समय महाधिवेशनको प्रचारप्रसार नेपालगन्ज नगरमा व्यापक भइरहेको छ’, महाधिवेशन तयारी समिति संयोजक खानले भने, ‘हामीले घरघरसम्म महाधिवेशनबारे जानकारी दिने गरी प्रचारप्रसारका कार्यक्रम तय गरेका छौँ ।
‘नगरमा व्यापक प्रचार गर्यौँ, अब बाँकेका विभिन्न पालिकाहरुमा पनि महाधिवेशनको प्रचारप्रसार सँगै स्थानीयसँग छलफल, अन्तरक्रिया गर्दै छौँ’, उनले भने ।’ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने निश्चित भैसकेको महाधिवेशन तयारी समिति संयोजक खानले जानकारी दिएका छन् ।
‘त्यसैले बाँकेका लागि आफ्ना चासोका कुराहरु राख्ने अवसर पनि हो महाधिवेशन’, उनी भन्छन् । ‘इत्तेहादको महाधिवेशन भएपनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यू समक्ष राख्ने र अवसर पनि हो’, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाई भने, ‘पार्टी अध्यक्ष आउने कार्यक्रम भएकाले नेकपा एमाले पनि इत्तेहादको महाधिवेशन तयारीमा जुटेको छ ।’
उनले महाधिवेशन उद्घाटनको अघिल्लो दिन बैशाख १९ गते नै प्रधानमन्त्री ओली नेपालगन्ज आइपुग्ने जानकारी दिए । ‘१९ गते नै हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापनपत्र बुझाउने र २० गते प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ’, उनले भने ।
मुस्लिम फाँट इन्चार्ज मो। हारुनले महाधिवेशन देशभर बाँके चिनाउने अवसर पनि भएको बताए । ‘महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिसहित करिब ६ सय जनाले बाँकेको बारेमा बुझ्ने छन्,’ उनले भने ।
‘इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो’, मो. हारुनले भने, ‘यसलाई सबै बाँकेवासीले सफल बनाउनु पर्छ ।’ उनले त्यसका लागि ८१ वटै वडामा महाधिवेशनको प्रचारप्रसारका कार्यक्रमहरु निरन्तरता दिएको जानकारी दिंदै महाधिवेशनका दिन हजारौँको सहभागितामा र्र्याली समेत आयोजना गरिने बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर पनि भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाल बताउँछन् । ‘जिल्लामा हुने जुनसुकै महाधिवेशनले पनि केन्द्रीय तहमा जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गर्न बल पुग्छ, केन्द्रमा जिल्लाको नेतृत्व पुग्नसक्छ’, एमाले नेता ढकाल भन्छन्, ‘केन्द्रमा जिल्लाको उपस्थिति बलियो हुँदा त्यसले जिल्लाका सवालहरु केन्द्रसम्म पुर्याउन पनि सजिलो हुन्छ ।’
अर्का नेकपा एमालेका केन्द्रीय पशुपति दयाल मिश्रले महाधिवेशनलाई सफल बनाउनका लागि पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, प्रतिनिधिसभा सदस्य दिपा शर्माले पार्टीको ८१ वटै वडा कमिटि इत्तेहादको महाधिवेशनको तयारीमा रहने बताइन् । ‘महाधिवेशन र्यालीमा पार्टीका ८१ वटै वडा कमिटिबाट बृहत जनसहभागिता गराइनेछ’, उनले भनिन् ।
प्रतिक्रिया