धरान । व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकासले सहरहरू चलायमान बनेका छन् । तर तिनै सहरभित्र त्यस्ता केही अनुहारहरू छन् जसको जीवनमा न चहलपहल छ न भविष्यका योजनाहरू नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो संख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निरस जीवन बाँच्न विवश छन् ।
७० वर्षीया इन्दिरा सुवेदी इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा विगत १४ वर्षदेखि आश्रय लिइरहेकी छन् । उनको अनुहारमा जीवनमा केही गर्न नसकेकामा पश्चात्ताप, निराशा, आक्रोश र कुण्ठा झल्किरहेको देखिन्छ ।
उनको नजर भने हरबखत बाहिर सडकमा हिँडिरहेका मान्छेहरूमा केन्द्रित हुन्छ । ती मान्छेहरूलाई हेर्दै उनी आफ्नै जीवन सम्झन्छिन्, ‘सानै उमेरमा विवाह गरेँ, २० वर्षको उमेरमा छोरालाई जन्म दिएँ । घरमा खुसीको माहोल बेग्लै थियो । घरनजिकै सानो चियापसल र सागसब्जीको पसल पनि थियो । छोरालाई साथमा लिएर बिहान पसल जान्थे अनि साँझपख घर फर्किंदा घरको रौनकै बेग्लै हुन्थ्यो ।’
‘तर समय निष्ठुरी र क्रूर पनि हुँदोरहेछ । ११ महिनाको कलिलै उमेरमा मेरो छोरा बित्यो । छोराको मृत्यु भएको केही समयमै अर्को बज्रपात आइलाग्यो, पतिको पनि निधन भयो । श्रीमान् बितेपछि म सहाराविहीन भएँ र अन्तिममा म वृद्धाश्रम पुगेँ’, आफ्नो विगत सुनाउँदै उनले भनिन्, ‘सुरुमा वृद्धाश्रम भनेको कस्तो हुन्छ भन्ने थाहा नै थिएन मलाई । सानैमा बाबाआमा पनि गुमाएकी थिएँ, श्रीमान् बितेपछि मेरा कोही भएनन्, एक्ली भएँ । चिनजानका केही आफन्तले सधैँ भन्ने गर्थे, आश्रम गएर बस्नू । उहाँहरूकै कुरा मानेर वृद्धाश्रम आएर बसिरहेकी छु’, सुवेदीले भनिन् ।
‘मेरो परिवार कस्तो थियो भन्ने पनि बिर्सिसकेँ मैले । केही आफन्त भने कहिलेकाहीँ भेट्न आउँछन्’, उनले भनिन्, ‘वृद्धाश्रम बस्न थालेपछि अहिले यही मेरो परिवारजस्तो लाग्छ । बस्नका लागि राम्रो सुविधा छ, दैनिक जीवन सहज तरिकाले बित्ने गरेको छ, अहिले मेरो लागि आश्रम नै प्यारो छ ।’
इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रम २०५६ सालमा खुलेको हो । यहाँ अहिले १७ जना वृद्धवृद्धा आश्रित छन् । आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू सहाराविहीन र घरवारविहीन हुनुपर्ने स्थिति बन्ने क्रम बढेर गएको छ । सामाजिक मनोविज्ञानले वृद्धाश्रमलाई अनावश्यक ठाने पनि अहिलेको सामाजिक यथार्थले भने वृद्धाश्रमको आवश्यकतालाई औँल्याइरहेको छ र वृद्धवृद्धाहरूको आश्रयस्थल बनिरहेको छ ।
इटहरीकी इन्दिरा सुवेदीको जस्तै कथा विराटेश्वर वृद्धाश्रम विराटनगरमा बसिरहेकी ८१ वर्षीया सरिता गौतमको पनि छ । विगत २८ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी उनले भनिन्, ‘सकुन्जेल काम गरेँ, छोराछोरी हुर्काएँ । शिक्षा दिएँ । अहिले तिनै सन्तानले नचिनेझैँ गरे । आफ्ना छोराछोरी सन्तानका लागि जिन्दगी बिताएँ । तर अहिले तिनै सन्तानले थाँती राखेजस्तै गरे, न माया छ न सम्मान छ ।’
गौतमको आँखामा पीडा मात्र होइन, वेदना पनि प्रष्ट छचल्किइरहेको थियो । ‘आश्रममा आएपछि शान्ति र सुख त छ । तर मनको कुँडाइ भने अझै छ’, उनले मनको पीडा पोख्दै भनिन्, ‘यो घर त हो नि तर आफ्नोपन खै कहाँ छ र ? छोराछोरीले आफ्नो संसार बनाए । मलाई सबैले बिर्से अन्त्यमा, आफ्नै सन्तानले आश्रम पु¥याइदिए । माया त बाल्यकालमा मात्र रहेछ । अहिले त सबै व्यस्त छन् अनि हामीजस्ता बुढाबुढी भने बेकारजस्तै भएछौँ’ ।
‘पतिको मृत्युपछि छोराछोरीका लागि बाँचे । उनीहरूको पढाइ, विवाह सबै व्यवस्थापन गरेँ । अहिले न फोन गर्छन् न भेट्न आउँछन् । अहिले छोराछोरी कता छन् केही थाहा छैन । मलाई यही आश्रम अहिले सुन्दर घरजस्तो छ’, अनुहारमा जर्वजस्ती खुसी ल्याउने प्रयास गर्दै गौतमले भनिन् ।
८६ वर्षीया पवित्रा सुवेदी विगत २१ वर्षदेखि वृद्धाश्रमकै सहारामा छन् । जीवनभर कहिले नथाकी आफ्ना सन्तानका लागि खटिएकी उनी अहिले विरानोझैँ लाग्ने ठाउँमा दिनहरू बिताउन बाध्य छन् । प्रष्ट बोल्न र राम्रोसँग देख्न पनि नसक्ने उनका आँखाले अहिले सन्तानविहीन भएर वृद्धाश्रमको ओछ्यानमै टोलाएर बाहिरको आकाश नियाल्छन् ।
‘मेरै सन्तानले हेरचाह गर्न नसक्ने भन्दै मलाई आश्रम ल्याएर छाडे । कहिलेकाहीँ मलाई भेट्न छोरा आउँछ । तर अनुहार कस्तो छ प्रष्ट देख्न सक्दिनँ । पहिले घरमा छोराछोरीसँगै बसेर बिहान–बेलुकाको खानासँगै बसेर खाएको याद आउँछ’, मनको पीडा पोख्दै उनले भनिन्, ‘हुन त यहाँ पनि मजस्तै धेरै वृद्धहरू हुनुहुन्छ, उहाँहरूसँग गफ गरेर मन भुलाउन कोशिस गर्छु । तर घरजस्तो न्यानोपन भने हुँदैन रहेछ ।’
पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा व्यस्त परिवारका वृद्धवृद्धा र विभिन्न कारणले परिवारबाट वञ्चित हुन पुगेका वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकतासमेत बढ्दै गएको छ । घरमा बसेर असुरक्षित र अमर्यादित जीवन जिउनुभन्दा वृद्धाश्रममा बस्न राम्रो भन्ने विषय आजभोलि समाजमा स्थापित हुँदै गएको रामजानकी वृद्धाश्रमका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताए । ‘यो राम्रो कुरा त होइन तर सामाजिक घटना, परिवेशले आवश्यकता बढाएको छ’, उनले भने ।
स्थानीय तह र प्रदेश सरकारले यस्ता आश्रमका लागि बेलाबेलामा दिवा खाजादेखि अन्य शीर्षकमा अनुदान रकम प्रदान दिने गरेको छ । ‘केही समयअघि प्रदेश सरकारले उपलब्ध गराएको ९ लाख रुपैयाँले ट्रस निर्माण गरेपछि रामजानकी वृद्धाश्रममा वर्षामा पानी चुहिने समस्या समाधान भएको छ’, आचार्यले भने, ‘आश्रम सञ्चालन गर्नका लागि केन्द्र सरकारले समेत राम्रो सहयोग गरिरहेको छ ।
शिक्षक पेसाबाट अवकाश भएपछि २०६० सालमा विराटेश्वर वृद्धाश्रम सेवा समिति खोलेर सञ्चालन गर्दै आएका जगत अर्याल पछिल्लो समय वृद्धवृद्धाहरू घरबारविहीन हुँदै गएकामा चिन्ता व्यक्त गर्छन् । ‘वृद्धवृद्धाका दिनहरू सम्मानपूर्वक र शान्तिका साथ बिताउन सक्नेगरी सेवा गर्न पाऊँ भनी यो आश्रम स्थापना गरी सञ्चालन गर्दै आइरहेको छु’, उनले भने । यो आश्रममा अहिले ६० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन् ।
इटहरी रामजानकी शान्ति वृद्धाश्रमका सञ्चालक समिति सदस्य सन्तोष ओझा वृद्धवृद्धाले खोज्ने आत्मीयता परिवारको मायामा मात्र भेटिने बताउँछन् । ‘आमाहरूलाई निकै मायाको खाँचो हुन्छ । त्यो वृद्धाश्रममा नपाउन सकिन्छ’, त्यही अभाव पूरा गर्न अहिले रामजानकी आश्रममा रहेका आमाहरूको मनोबल बढाउन आश्रममा मन्दिर र ध्यान केन्द्र बनाइएको उनले बताए ।
कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको विवरणअनुसार कोसी प्रदेशमा ज्येष्ठ नागरिकको संख्या ५ लाख ५६ हजार ४६४ अर्थात् प्रदेशको कुल जनसंख्याको ११ दशमलव २२ प्रतिशत रहेको छ । प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट आर्थिक वर्ष २०८१÷०८२ मा ज्येष्ठ नागरिकका लागि १ करोड ८ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।
प्रतिक्रिया