महालक्ष्मी बन्याे सबैभन्दा कम कोष लागत भएको विकास बैंक

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बनेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ चैत मसान्तसम्म कोष लागत प्रतिशत ५ दशमलव शून्य ४ प्रतिशत रहेको छ ।

पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७ दशमलव ६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असार आधार दरमा समेत परेको बैंकले जनाएको छ जसअनुसार बैंकको आधार दर चैत मसान्तसम्म ७ दशमलव १४ प्रतिशत रहेको छ ।

त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषका तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म १५ दशमलव ७५ प्रतिशत रहेको जनाएको छ । जुन आर्थिक वर्ष २०८०/०८१ चैत मसान्तमा १२ दशमलव ५ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरूमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने बैंकले जनाएको छ ।

प्रतिक्रिया