संगीता पलेटीमा गुन्जने

काठमाडौँ । सांगीतिक पलेँटीको अबको शृंखलामा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीता अब पलेँटी अप्रिल २५ र २६ गुन्जने भएकी हुन् ।

संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाई शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।

१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता उत्साहित रहेकी छन् । पलेँटीमार्फत श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका मिल्ने भएकोले यो मञ्चले आफूलाई आनन्दित बनाउने उनले बताइन् । ‘खासगरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म नोस्टाल्जिक बन्ने गर्छु’, उनले भनिन् ।

२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् । आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी–क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु ।’

संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठ–शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्ति निकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छन् । पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् ।

प्रतिक्रिया