राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी ‘नजरबन्द’ मुक्त

काठमाडौं । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ मुक्त भएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए ।

तर, आज मंगलबारदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ ।

‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ’, उनले भनेका छन्, ‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु ।’ उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए । गत चैत तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने विभिन्न स्थानमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

प्रतिक्रिया