सामाजिक सञ्जालसँग सरकार निरीह, बन्द गर्ने धम्की दिँदा पनि आएनन् दर्ता हुन

काठमाडौँ । पटक–पटक ताकेता गर्दा पनि फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालले टेरपुच्छर नलगाउँदा के गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत ७ गते ३० दिनको समय दिँदै नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाललाई दर्ता हुन आउन सार्वजनिक सूचना जारी गरेको थियो । वैशाख ८ गते सोमबारसम्म कुनै पनि दर्ता हुन नआएपछि मन्त्रालय नै अन्योलमा परेको हो ।

सूचीकृत हुन नआउने कम्पनीलाई नेपालमा चल्न नदिने भन्दै पटक–पटक चेतावनी दिँदै आएका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ पछिल्ला ३ दिनयता मौन छन् । यता, मन्त्रालयले सामाजिक सञ्जालबारे अब के गर्ने भन्नेबारेमा अहिलेसम्म कुनै पनि औपचारिक छलफल अघि बढाउन सकेको छैन ।

यस विषयमा सौर्य दैनिकसँग कुरा गर्दै सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले दिएको म्याद सकिँदासम्म कुनै पनि सामाजिक सञ्जाल दर्ता हुन नआएको र अब के गर्ने भन्ने विषयमा आफूलाई थाहा भएसम्म कुनै छलफल हुन नसकेको बताए । ‘पहिला टिकटक बन्द गरेको समयको जस्तो एउटामात्र कम्पनी नभई अहिले त ५० भन्दा बढी सामाजिक सञ्जाल प्लेटफर्म छन् । यी सबैको विषयमा एकैचोटि निर्णय लिनुपर्ने हुन्छ । तर, तत्कालै बन्द गर्न पनि सम्भव छैन,’ उनले भने, ‘अहिले सामाजिक सञ्जालसँग धेरै कुरा जोडिएको हुनाले सरकार माथिल्लो तहमा छलफल र विश्लेषण गरेर निष्कर्षमा पुग्छ ।’ ठाकुरले बन्दमात्रै समाधान नभएको समेत बताए ।

विगतमा लोकप्रिय सामाजिक सञ्जाल टिकटकमात्रै बन्द गर्दा पनि बजारमा ठुलो तरंग उत्पन्न भएको थियो । टिकटकको निःशुल्क प्रयोगबाट सानो व्यापार (किराना, फेन्सी, होटल, होमस्टे, क्लिनिक, फार्मेसी, तरकारी, रेस्टुरेन्ट वा ब्युटिपार्लर) प्रभावित भएका थिए । टिकटक मात्रै बन्द गर्दा वाक् स्वतन्त्रताको अधिकार उल्लंघन तथा सरकारले आलोचना सुन्न नसकेर सो निर्णय गरेको भन्दै चर्को आलोचना खेप्नुपरेको थियो । त्यसलाई पनि मध्यनजर गर्दै सरकारै संकटमा पर्ने सम्भावना भएकाले तत्काल सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णयबाट पछि हट्न सक्ने विज्ञहरू बताउँछन् ।

नेपालको प्राकृतिक र सांस्कृतिक विशेषता संसारभर फैलाउनमा सामाजिक सञ्जालहरूले ठुलो काम गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमै हेरेर नेपाल घुम्ने पर्यटकसमेत बढेको दाबी गरिन्छ । सरकारले फेसबुक, इन्स्टाग्राम, थ्रेड्ससँगै एक्स (ट्विटर), युट्युब, गुगल, लिंक्डइनजस्ता सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा सूचीकृत (दर्ता) गर्नुपर्ने व्यवस्थासहित ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू गरेको छ ।

निर्देशिका लागू गरेसँगै सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन निर्देशन दिएको थियो । तर, हालसम्म नेपालमा भाइबर र टिकटकसहित ३ वटा सामाजिक सञ्जाल मात्र सूचीकृत भएका छन् । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र म्यासेन्जरको ‘प्यारेन्ट’ कम्पनी मेटालाई सरकारले सूचीकृत हुन आग्रह गर्दै १ वर्षयता पटक–पटक पत्र पठाउँदै आए पनि मेटाले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया