काठमाडौँ । सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ १२ वैशाखमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा वस्तु उठाएको छ ।
फिल्ममार्फत अभिनेत्रीको रूपमा समापिका गौतम देखिँदै छिन् । थियटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण मोड मान्छिन् ।
पर्दामा देखिन पाउनु आफ्ना लागि रोमाञ्चक अनुभव मात्र नभएर जीवन उपयोगी शिक्षासमेत भएको उनी बत्ताउँछिन् । ‘म फिल्म हेर्दै हुर्किएकी हुँ । अब पर्दामा आफूलाई देख्न लाग्दा अनुभूति भइरहेको छ त्यो शब्दमा भन्न सक्दिनँ ।’
थिएटर अभिनयमार्फत कलात्मक आत्मविश्वास बनाएकी समापिकाले फिल्ममा राम्रो जम्ने आश गरेकी छन् । ‘थिएटर र फिल्मबीच केही टेक्निकल भिन्नता रहेछ’, उनले भनिन्, ‘थियटरको सिकाइले फिल्ममा सजिलो भयो ।’ फिल्ममा उनले ‘ईसा’ नामकी युवतीको भूमिका निर्वाह गरेकी छन् । जो साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हो । समापिकाले आफू पनि केही हदसम्म ईसासँग मिल्ने बताउँछिन् ।
सानैमा टेलिभिजन हेरेर कलाकार बन्ने रहर पालेकी उनी एसएलसीपछि थिएटर प्रवेश गरेकी हुन् । परिवारको साथ र प्रेरणाले उनलाई यो क्षेत्रमा लाग्न हौसला मिलेको हो ।
समापिकाको अभिनय यात्राको लक्ष्य केवल पर्दामा देखिनु मात्र होइन, नेपाली फिल्ममा कला चेत निर्माण गर्ने छ । उनी आफू भने भर्सटाइल कलाकारको रूपमा स्थापित हुन चाहन्छिन् ।
अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो । लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको फिल्ममा उनको अलवा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाका अभिनय छ ।
प्रतिक्रिया