नेताहरूको पदलोभ, आफन्तवाद, गुटवाद र फुटवाद नै वर्तमान व्यवस्थामाथिको चुनौती हो भन्ने कुरा लुकाउन मिल्दैन । पार्टीसत्ता र राज्यसत्तामा पुगेका नेताहरूका मनोमानी, नालायकी, दम्भ, घमण्ड, अहंकारले सीमा नाघेको पक्कै हो । नेताहरू पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने काममा उत्तिकै जिम्मेवार छन् । केही नालायक नेतृत्व र हाम्रा कमजोरीका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठिरहेको छ । आजका खास खतरा पूर्वपञ्च होइनन्, पञ्चे पवृत्ति बोकेका गणतन्त्रवादी भन्नेहरू नै हुन् ।
यतिखेर संघीय राजधानी काठमाडौँ आन्दोलनमय छ । शिक्षकहरूको आन्दोलन, मिटरब्याज पीडितहरूको आन्दोलन, राजावादीहरूको आन्दोलन, गणतन्त्रवादीहरूको आन्दोलन मूलतः अहिलेका चर्चित सडक आन्दोलन हुन् । उल्लिखित आन्दोलनहरूको मूल्य र अर्थ कति हो भन्नेबारेमा आममानिस जानकार छन् भन्ने लाग्दैन । किनकी हाम्रो देशमा राम्रो के हो ? नराम्रो के हो ? कसका पछि उभिँदा के हुन्छ ? भनेर छुट्याउने भन्दा पनि अर्काले जे ग¥यो त्यही गर्ने रमिते प्रवृत्ति छ । राम्रोभन्दा पनि नराम्रो कुरालाई नेपाली समाजले सहजै पचाइरहेको देखिन्छ । यो समाज विकासका निम्ति गम्भीर कुरा हो भन्ने लाग्छ । आज हामीले भोगिरहेको सडक आन्दोलनको अर्थ र वर्तमान मुलुकको अवस्था के हो ? भन्ने बारेमा बहस गर्न जरूरी छ ।
सडक आन्दोलनको अर्थ
सडक आन्दोलनमा होमिइरहेका साना ठुला शक्तिहरूको बारेमा नेपाली समाज जानकार नै छ । शिक्षक आन्दोलन, सहकारी पीडितहरूको मिटरब्याज पीडितहरूको आन्दोलन, समाजवादी मोर्चाको आन्दोलन वर्तमान व्यवस्था विरोधी आन्दोलन होइनन् । यी आन्दोलनका केही आफ्ना माग छन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा बोकेर जनजागरण र आमसभा सञ्चालन गरिरहेको नेकपा (एकीकृत समाजवादी) को आन्दोलन पनि वर्तमान व्यवस्थालाई थप उन्नत बनाउने र नेपाली समाजलाई समाजवादको दिशातर्फ संक्रमण गराउने उद्देश्यको देखिन्छ । यस अर्थमा यी आन्दोलनको सन्देश गणतन्त्रवादी नै हो ।
यी बाहेक राजावादी आन्दोलन वर्तमान व्यवस्था असफल भएको र राजतन्त्र फर्काउने भनेर सडकमा अराजकता मच्चाइरहेका छन् । अब प्रश्न उठ्छ के साँच्चै गणतन्त्र असफल भएको हो ? एक वाक्यमा भन्दा संघीय समाजवादी गणतन्त्रमाथि अहिले नै प्रश्न उठाउने, पुनर्विचार गर्नुपर्ने र यसकाप्रति शंका गर्नुपर्ने समय आएको छैन ।
संविधान जारी भएको करिब २ दशक नपुगेसम्म कुनै पनि व्यवस्थाको बारेमा पुनर्विचारको प्रश्न उठाउनु हतार हुन्छ । राजनीति विज्ञानले यही भन्छ । हाम्रो मुलुकमा संविधान जारी भएको आगामी असोजमा बल्ल एक दशक पुग्छ । यो एक दशक समयलाई केही विचारणीय रूपमा हेर्नुपर्छ भन्ने लाग्छ । यस कालखण्डमा जे जस्ता कामहरू भए, ती सबै राम्रा भए भन्न सकिने अवस्था छैन । मूलतः गणतन्त्रवादी दलका शीर्ष नेता तथा कार्यकर्ताहरू सत्ता, शक्ति र सम्पत्ति कसरी कमाउने भन्नेमा सीमित बने । केही इमानदार मान्छेका प्रयासबाट केही राम्रा काम पनि भए । जसका कारण वर्तमान व्यवस्था अन्य व्यवस्थाभन्दा उन्नत हो भन्ने आधार बनेको छ । खासगरी पहिलो पुस्ताका नेताहरूबाट जनताले आशा मारेको देखियो । शीर्ष नेताहरूको अनुहारदेखि जनता रूष्ट बनेको अवस्था घामजस्तै छर्लंग छ ।
देशको वर्तमान राज्यसत्ता सञ्चालन गरिरहेका नेताहरूका विरूद्ध उनीहरूकै सामुन्नेमा मुर्दावादका नारा लागेको सुनियो । नेताहरूको पदलोभ, आफन्तवाद, गुटवाद र फुटवाद नै वर्तमान व्यवस्थामाथिको चुनौती हो भन्ने कुरा लुकाउन मिल्दैन । पार्टीसत्ता र राज्यसत्तामा पुगेका नेताहरूका मनोमानी, नालायकी, दम्भ, घमण्ड, अहंकारले सीमा नाघेको पक्कै हो । नेताहरू पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने काममा उत्तिकै जिम्मेवार छन् । हुने नहुने, मिल्ने नमिल्ने सबै काम नेताहरूले गरिरहेका छन् । यस्ता केही नालायक नेतृत्व र हाम्रा कमजोरीका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठिरहेको छ । आजको खास खतरा पूर्वपञ्च होइनन्, पञ्चे प्रवृत्ति बोकेका गणतन्त्रवादी भन्नेहरू नै हुन् । जसको पहिचान र त्यस्ता प्रवृत्तिको अन्त्य गर्नु आजको समस्या समाधान हो । अर्को कुरा, लोकतन्त्रलाई सुरक्षित राख्ने शक्ति भनेको राजनीतिक दल हुन् । राजनीतिक दलमा पनि खासगरी कम्युनिस्ट पार्टी र ती पार्टीका नेताहरू हुनुपर्छ । आजका दिनमा सर्वत्र विश्वास गुमाएको मूल नेतृत्वले ठण्डा दिमागले सोच्नुपर्छ । दोस्रो र तेस्रो पुस्ताले पार्टी सत्ता र राज्य सत्तामा आफ्नो उपस्थिति बढाउनुपर्ने हुन्छ ।
आजको उकुसमुकुस, निराशा र भ्रमको सामु देशमा केही भएको छैन भन्ने होइन । नेता जम्मै चोर हुन्, देशमा केही छैन, यस्ता खालका अव्यावहारिक र अवैज्ञानिक भाष्य निर्माण गर्नुलाई जायज भन्न खोजिएको होइन । आजको आवश्यकता भनेको गणतन्त्रवादी सच्चिनुपर्छ भन्ने हो । विगतमा भएका गल्ती कमजोरीलाई सच्याउनुपर्छ । जनताका बीचमा गएर माफी माग्नुपर्छ । आजको अवस्थालाई राजनीति, अर्थराजनीति र सामाजिक मनोविज्ञानको कोणबाट विश्लेषण गरेर समाधान निकाल्नुपर्छ ।
व्यवस्थासँगै बदलिँदो अवस्था
राजावादीहरूले वर्तमान व्यवस्थालाई कुरूप देखाएर आफ्नो राजनीतिक रोटी सेक्ने काम गरिरहेका छन् । राजावादीहरूले गणतन्त्रवादी नेताहरूलाई चोर भनेर, आफू सच्चा देखिनुलाई राजनीतिक तर्क मान्न सकिन्न । बल प्रयोग होइन, सामथ्र्य आर्जन गरेर जनताको मन जितिन्छ भन्ने कुरा राजावादीलाई थाहा छैन भन्ने लाग्दैन । व्यवस्था बलिए पनि अवस्था बदलिएन भनेर हावादारी कुरा गरेर राजावादीहरूले जनतामा भ्रम सिर्जना गर्ने काम गरिरहेका छन् । कुनै मान्छे जन्मकै आधारमा राज्य चलाउन योग्य हुने र राजा हुने व्यवस्थाका मतियारहरूले जनताका छोराछोरी राष्ट्र प्रमुख बन्ने लोकतान्त्रिक शासन कसरी पचाउन सक्छन् ? सत्ताच्यूत हुनुपरेको पीडा सामन्तवादका जल्लादहरूले भुलेका छैनन् । सामन्तवादका अवशेषहरू पछिल्लो समय देखिन थालेका छन् । नेपालमा राजाको छोरा राजा हुने प्रथा वीरेन्द्र शाहको वंशनाशसँगै सकिएको हो । केही कमजोरीका कारण ज्ञानेन्द्र शाह राजा बनेका हुन् । फेरी उनैले पुनः साथ देऊ भन्दै सडकमा अराजकता र हत्याहिंसा गर्दैछन् । आफ्नो आग्रहमा भएका अपराध र जवाफदेहिताबाट आज उनी भागिरहेका छन् । साथै उनले आफ्नो महत्वाकांक्षालाई तीव्र बनाउन खोजेको देखिन्छ । यदी वारपार नै चाहेका हुन् भने सामन्तवादका अवशेषहरूलाई निर्मूल पार्न गणतन्त्रवादीहरूले बाध्य हुनुपर्नेछ ।
केही मान्छेहरू व्यवस्था बदलिए पनि जनताको मुलुकको जीवनमा परिवर्तन भएन भनेर हल्ला, भ्रम र हावादारी कुरा गरिरहेका छन् । जो सत्य होइन । खासगरी २०४६ सालपछि मुलुक र नागरिकका जीवनमा व्यापक परिवर्तन भएको छ । केही तथ्यहरूलाई स्मरण गरौँ । हिजो कर्णालीका मान्छेहरू नुनको लागि राजापुर, नेपालगन्ज पुग्थे । आज प्रत्येक टोलमा नुन पाइन्छ । त्यति मात्र होइन, एउटा घरको कुनामा बसेर संसारको कुनै पनि कुनामा रहेको आफन्त साथीभाइसँग कुरा हुन्छ । आवश्यक परेको परामर्श र सेवा खरिद गर्न सकिन्छ । त्यस्तै मानिसहरू शैक्षिक रूपमा मात्रै होइन, चेतनाका हिसाबले पनि अघि छन् ।
मान्छेहरू अन्याय, अत्याचार, शोषण, दमन, भ्रष्टाचारका विरूद्ध आलोचना, विरोध र प्रश्न गर्ने भएका छन् । स्वास्थ्य, शिक्षा, रोजगारजस्ता क्षेत्रमा केही प्रगति भएका छन् । महिला साक्षरता दर बढेको छ । बालमृत्यु दर घटेको छ । मातृ मृत्युदर घटेको छ । औषत आयु बढेको छ । आर्थिक सूचांक बढेका छन् । बाटो, बिजुली, स्वास्थ्य, शिक्षा र सेवा स्थानीय तहमा पुगेको छ । प्रविधिको विकास भएको छ । यसरी बहुदलका ३३ वर्ष र पञ्चायतका ३० वर्षको तुलना गर्दा नेपालमा व्यवस्था मात्रै होइन, जनताको अवस्थामा पनि व्यापक परिवर्तन आएको छ । नेपालले नवीन उपलब्धि हासिल गरिरहेको छ । आमनागरिकले हल्ला र भ्रमको पछि लाग्नु हुँदैन । वास्तविकता र भ्रमलाई छुट्याएर मात्रै विरोध र समर्थन गर्नुपर्छ ।
आजजनताले चाहेको जति र विश्व विकासको तुलनामा हामीले गर्नुपर्ने जति विकासका काम नभएको सत्य हो । तर, निराश नै बन्नुपर्ने अवस्था छैन । वर्तमान नेतृत्वले गर्नुपर्ने जति गरेन । नेताहरूले देश र जनताको जीवनको कुरा गरे । तर, व्यवहारमा आफ्ना लागि गरे । आफन्त र गुटका निम्ति गरे । जसको कारण आज प्रतिगामी तत्वहरूले टाउको उठाउने मौका पाएका हुन् भन्ने निष्कर्ष निकालेर प्रगतिशील र गणतन्त्रवादीहरूले वर्तमान व्यवस्थाको रक्षा र समस्या समाधानका निम्ति पहल गर्नुपर्छ । वर्तमान निराशालाई चिर्दै जनसांख्यिक लाभ लिने उद्देश्यका साथ नेपाललाई नवीन बाटोमा हिँडाउने साझा संकल्प गरौँ । आजको विकल्प यही हो ।
प्रतिक्रिया