काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनले काठमाडौं उपत्यकामा सहज ढंगले सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
विशेष गरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । गत चैत २० गतेबाट शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले १९औँ दिन आज पनि आन्दोलन काठमाडौंमा जारी राखेका छन् । उनीहरु माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढिरहेका छन् । नेपाल शिक्षक महासंघले यो आन्दोलनको नेतृत्व गरेको छ ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकता अनुसार रुट परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।
उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।
यसैबीच, गृहमन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै गृहमन्त्रालयले कानुन उल्लंघन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया