काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकहरूको नाफामा न्यून वृद्धिदर देखिएको छ । नेपालको मौजूदा आर्थिक मन्दीले निजी क्षेत्रको गतिविधिमा असर पार्दा वाणिज्य बैंकहरूको नाफा बढोत्तरी हुन नसकेको हो ।
तर राष्ट्र बैंकको लचिलो नीतिका कारण केही सकारात्मक संकेतहरू देखिएका छन् । २० वटा वाणिज्य बैंकहरूले यस अवधिमा कुल ४१ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा जम्मा १.४ प्रतिशतले मात्र वृद्धि हो । तर यो थोरै वृद्धि पनि राष्ट्र बैंकको पुनर्संरचना तथा पुनर्तालिकीकरण नीतिले सम्भव बनाएको हो । विशेषतः निर्माण क्षेत्रको कर्जामा दिइएको सहजताले बैंकहरूलाई ठूलो राहत पुर्याएको छ।
नेपाल बैंक २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । कुल नाफाको हिसाबमा नबिल बैंक अगाडि देखिएको छ । नबिलले ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदै सबैभन्दा धेरै नाफा गर्ने बैंक बनेको छ । नबिलको नाफा वृद्धिदर भने ८.२ प्रतिशत रहेको छ ।
नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआइ, एभरेष्ट, माछापुच्छ्रे, लक्ष्मी, ग्लोबल आइएमई, एनएमबि, सानिमा बैंकले नाफा बढाउन सफल भए पनि ९ वाणिज्य बैंकहरू राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्ड, हिमालयन, एनआईसी एशिया, कुमारी, सिद्धार्थ, कृषि विकास, सिटिजन्स, र प्राइम बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ ।
बैंकर्सहरूकाअनुसार आर्थिक गतिशीलता अपेक्षा अनुसार नहुनु, लगानीको मागमा कमी आउनुजस्ता चुनौतीबीच राष्ट्र बैंकको नीतिगत लचीलोपनले नाफा टिकाउन मद्दत पुर्याएको हो । कर्जा नोक्सानीको व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा ल्याइनुले समेत बैंकको लेखाजोखा सन्तुलनमा सहयोग पुर्याएको हो ।
वाणिज्य बैंकहरुको मुनाफा (रु. हजारमा)
प्रतिक्रिया