हाम्रो प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुनेछ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार सीमित नेता सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्ने बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन प्रतिकात्मक र शान्तिपूर्ण मात्रै हुने बताएका हुन् ।

अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको राप्रपाको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।’

अध्यक्ष लिङदेनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको दाबी समेत गरेका छन् । उनले आफूहरूले जे गर्नु छ भनेरै गर्ने भएकोले नआत्तिन सरकारलाई सुझाव दिएका छन् । ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ,’ सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले भनेका छन्।

राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शनको तयारी गरेको छ ।

आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ । तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया