काठमाडौँ । चीन र अमेरिकाबीचको व्यापार युद्ध उत्कर्षमा पुगेको बेला दक्षिण एसियाका भारत र बंगलादेशबीच पनि यस्तै समस्या उत्पन्न भएको छ । बंगलादेशले नेपाल, भारत र भुटानका केही वस्तु आयातमा प्रतिबन्धको घोषणा गरेको २ दिनपछि नै भारतले आफ्नो देशको बाटो (ट्रान्जिट) भएर बंगलादेशको गार्मेन्ट उत्पादन तेस्रो विश्वमा जानबाट प्रतिबन्ध लगाएको छ ।
भारतको विदेश मामला मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले यसको बारेमा बिहीबार नै जानकारी गराइसकेका छन् । यो निर्णयका कारण जाराजस्ता संसारमा धेरै चलेका ब्रान्डलाई भने धेरै धक्का पुग्ने अनुमान गरिएको छ । भारतको यो निर्णयले बंगलादेशलाई वार्षिक २ हजार करोड टाका घाटा लाग्न सक्ने बताइएको छ ।
बंगलादेशको राष्ट्रिय राजस्व विभाग (एनबिआर) ले भारत मात्र नभई नेपाल र भुटानबाट पनि आयात हुने धागो र आलुमा प्रतिबन्ध लगाएको छ । बंगलादेशले एकै पटक धेरै भारतीय सामानमा प्रतिबन्ध लगाएको छ । यसरी प्रतिबन्ध लगाइएका सामानमा धुलो दूध, सुर्तीजन्य पदार्थ, न्युज प्रिन्ट, कागज र पेपर बोर्डलगायत छन् । यसैगरी टिभीका सामग्री, रेडियो, साइकल, सेरामिक वेयर, मार्बल, स्टेनलेस स्टिललगायत पनि प्रतिबन्धित भएका छन् ।
बंगलादेशले भारतीय व्यापारीले आफ्नो सीमा क्षेत्रबाट सस्तोमा धागो किनेर त्यही धागो फेरि बंगलादेश पठाउने गरेको आरोप लगाएको छ । गत वर्ष बंगलादेशमा भएको आन्दोलनबाट शेख हसिनाको सरकार पतन भएपछि गठित मोहम्मद युनुसको सरकारसँग भारतको सम्बन्ध अत्यन्त चिसिएको छ । २ देशबीचको सम्बन्धमा आएको टकरावको पछिल्लो परिणाम अहिलेको व्यापार युद्ध हो ।
बंगलादेशका व्यापार सल्लाहकार शेख बसरुद्दिनले ढाकाको गार्मेन्ट उद्योगलाई पछिसम्म सुरक्षित राख्न घागो आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका छन् । सरकारले यो निर्णय गरे पनि ढाकाका टेक्साटाइल मालिकहरू भने खुसी हुन सकेका छैनन् । उनीहरू बंगलादेशको धागोले मात्र सबै थेग्न नसक्ने कुराले चिन्तित छन् । उनीहरू भारतको पछिल्लो निर्णयबाट बंगलादेशका लागि अझ ठुलो धक्का लाग्न सक्ने जनाउन थालेका छन् ।
बंगलादेशको पछिल्लो निर्णयले नेपाललाई भने खासै असर गर्नेछैन । चालु आर्थिक वर्षमा नेपालले बंगलादेशमा १८ हजार रुपैयाँ बराबरको ५० किलो धागो निर्यात गरेको छ । आलु भने निर्यात गरेको छैन ।
१५ वर्ष लामो समय सत्ता सम्हालेकी सेख हसिना बाजेद गत अगस्टमा अपदस्थ भएपछि भारतमा शरण लिएर बसेकी थिइन् । त्यही समयदेखि भारत र बंगलादेशबीचको सम्बन्ध अझ चिसिएको थियो ।
प्रतिक्रिया