काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलसम्शेर राणा छुट्ने भएपछि भद्रकाली प्रहरी परिसरमा कार्यकर्ताको भीड लागेको छ ।
राजावादीहरुको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने काठमाडौंका विभिन्न स्थानमा आगजनी, तोडफोड र भाटभटेनी सुपरमार्केटमा लुटपाट पनि भएको थियो ।
सोही घटनामा संलग्न भएको आरोपमा राणा र पार्टी उपाध्यक्ष रविन्द्र मिश्रसहित धेरै जना पक्राउ परेका थिए । तर, प्रहरीले आज शुक्रबार राणालाई रिहा गर्न लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा रिहा गर्न लागेको हो ।
क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा रिहा गर्ने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरीका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा रिहा गर्ने तयारी भएको छ ।
प्रतिक्रिया