काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको कार्यशैलीका कारण सरकारले ‘डेलिभरी’ दिन नसकेको ठहर गर्दै उनको मनोमानीमा लगाम लगाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा सहभागी सबैजसोले सरकारको निर्णय प्रक्रियाहरुमा कांग्रेसले अपनत्व लिन नसक्ने स्थिति आएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले सरकारबाट कांग्रेस ‘अनुकुल’ निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको ‘परफरमेन्स्’ अझै राम्रो हुनुपर्नेमा नेताहरुले जोड दिएको बताए । गठबन्धन दलहरुका बिचमा समन्वय र सन्तुलन हुनुपर्ने भन्दै उनले दुई दलका बिचमा तालमेल मिलाउँदै ‘डेलिभरी’ दिन सक्नुपर्ने बताए । ‘गठबन्धन सरकारमा समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नुपर्ने आवश्यकता छ । नियुक्तिका कुराहरुमा पनि सन्तुलनको आवश्यकता छ’ उनले भने ।
दुई महामन्त्रीले गरे सरकारको चर्को आलोचना, सरकार फेर्ने पक्षमा नरहेको प्रष्टिकरण
बैठकमा बोल्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरे । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अनुकुल सरकार चलाइरहेको भन्दै नेपाली कांग्रेसको भुमिका देखिन नसकेको बताएका हुन् । कांग्रेस एमालेका बिचमा सरकार गठनका लागि भएको ७ बुँदे सहमतिअनुरुप संविधान संशोधनको विषय ओझेलमा परेको भन्दै यो कुरामा कांग्रेस अडिग हुनुपर्नेमा महामन्त्रीद्वयको जोड थियो ।
उनीहरुले हालसम्म संविधान संशोधनका लागि कुनै प्रक्रिया अघि नबढेकाले प्रधानमन्त्रीप्रति पनि आशंका व्यक्त गरेका थिए । खासगरी महामन्त्री थापाले संविधान संशोधनको विषय उठाएका थिए भने सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको बताएका थिए । अर्का महामन्त्री शर्माले भने सरकारले गरेका विभिन्न निर्णयहरु विवादित भएको उल्लेख गर्दै निर्णयहरुमा कांग्रेसको स्वामित्व हुनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेको बैठकमा सहभागी एक पदाधिकारीले सौर्य दैनिकलाई जानकारी दिए ।
बैठकमा बोल्ने अन्य पदाधिकारीहरुले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका थिए । उनीहरुले पनि सरकारले गर्ने निर्णयहरुमा कसरी कांग्रेस पार्टीलाई फाइदा पुग्छ भन्नेमै केन्द्रीत रहेको थियो । बैठकमा बोल्दै महामन्त्रीद्वयले आफुहरु सरकार फेरबदलको पक्षमा नरहेको प्रष्टिकरण दिएका थिए ।
वर्तमान सरकारलाई नै कांग्रेस एमाले सहमती अनुरुप सञ्चालन गरिनुपर्ने तर निर्णय प्रक्रियामा कांग्रेसको अपनत्व हुनुपर्नेमा उनीहरुको जोड रहेको स्रोतले बतायो । ‘महामन्त्रीद्वयले सरकारको चर्को आलोचना त गर्नुभयो, तर सरकारको विकल्प खोजेको होइन यही सरकारले राम्रो काम गर्नुपर्छ भन्नेमा उहाँहरुको कुरा थियो ।’ स्रोतको भनाई छ ।
महामन्त्रीद्वयको सार्वजनिक अभिव्यक्तिमाथि पनि प्रश्न
महामन्त्रीद्वय थापा र शर्माले सरकारको आलोचना सार्वजनिक रुपमा नै गरिरहेको भन्दै बैठकमा प्रश्न उठाइएको थियो । बैठकमा बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुले गठबन्धन र सरकारको बारेमा कुरा राख्नुपर्दा पार्टीभित्रै राख्नुपर्ने बताएका थिए । उनले पार्टीले निष्कर्ष निकालेपछि मात्रै सार्वजनिक रुपमा बोल्नु उपयुक्त हुने भन्दै यसतर्फ महामन्त्रीद्वयलाई सचेत गराएका थिए ।
‘प्रधानमन्त्री रिसाउनुभएको छ, बाहिर नबोलौँ’
बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका नेताहरुको अभिव्यक्तिका कारण प्रधानमन्त्री ओली रिसाएको बताएका थिए । उनले प्रधानमन्त्री रिसाएका कारण कांग्रेसका नेताहरुले आगामी दिनमा सार्वजनिक रुपमा विरोध गर्नु नहुने धारणा राखेका थिए । ‘सरकारप्रति असन्तुष्टि भए कार्यदल, संयन्त्रको बैठकमा कुरा राखे भैहाल्छ, बाहिर किन भाषण गर्दै हिड्नुपर्यो ? यसले गठबन्धन सरकारलाई राम्रो गर्दैन भनेर दुखेसो गर्नुभएको छ ।’ स्रोतका अनुसार गृहमन्त्री लेखकले बैठकमा भने, ‘त्यसकारण हामीले सार्वजनिक रुपमा सरकारको विरोध नगरौँ ।’
देउवाले भने– ओलीजीसँग म कुरा गर्छु, धेरै विरोध नगरौँ !
बैठकमा बोल्दै सभापति शेरबहादुर देउवा भने पदाधिकारीहरुले राखेको धारणाको सम्मान र सरकारको प्रतिरक्षा गर्दै प्रस्तुत भएका थिए । उनले पनि सरकारले जनअपेक्षा अनुरुपको काम गर्न सक्नुपर्ने र त्यसका लागि कांग्रेसको पनि भुमिका हुने बताए ।
उनले सरकारको कार्यसम्पादनको सम्बन्धमा सरकारमा सहभागि मन्त्रीहरुसँग छिट्टै नै छलफल गरेर मार्गनिर्देश गर्नुपर्ने धारणा राखेका थिए । सरकारले गरेका र आगामी दिनमा गर्ने निर्णयहरुमा आफुले प्रधानमन्त्रीसँग कुरा गर्ने र मिलाएर अघि बढ्ने सभापति देउवाको भनाई थियो । ‘प्रधानमन्त्री आलीजीसँग म कुरा गर्छु । सबै कुरा मिल्दै जान्छ । सरकारलाई झक्झकाऔँ तर बाहिर धेरै विरोध नगरौँ ।’ सभापतिको भनाई उदृत गर्दै एक पदाधिकारीले सौर्य दैनिकलाई जानकारी दिए ।
सरकारप्रतिको धारणा स्पष्ट पार्न माग
संसदीय दलको प्रमुख सचेतकको हैसियतमा बैठकमा सहभागी भएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि बैठकमा धारणा राखेका थिए । उनले आफै सहभागी सरकारको सम्बन्धमा पार्टीका शीर्षस्थ नेताहरुले नै फरक फरक धारणा राख्ने गरेकाले कार्यकर्ताहरुमा अन्योल थपिएको बताएका थिए । उनले सरकारको काम, कारबाहीप्रति पार्टीको एकै किसिमको धारणा बनाउन माग पनि गरे । ‘नेताहरुको अभिव्यक्तिका कारण सरकारप्रति अन्योल सिर्जना भएको छ । पार्टी नेतृत्वले यसतर्फ ध्यान पुर्याउँदै एउटै धारणा बनाउनुपर्छ ।’ उनको भनाई थियो ।
प्रतिक्रिया