ट्रम्पको उदयसँगै आकासियो सुनको भाउ, ४ महिनामा बढ्यो तोलामै ७२ हजार

काठमाडौँ । विश्वव्यापी मान्यता पाएको बहुमुल्य धातु सुनको भाउमा दैनिकजसो नै नयाँ नयाँ रेर्कड कायम हुँदै आएको छ । दिन प्रतिदिन भाऊ अक्कासिंदै गएपछि आम सर्वसाधारणले सुन किन्नै नसक्ने अवस्थामा पुग्न लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो महिना (वैशाख) सुनको बजारमा चहलपहल हुने महिना भए पनि नयाँ सुन किन्ने ग्राहकभन्दा पुरानै सुनको कारोबार गर्नेहरु बढी छन् । अघिल्ला वर्षहरुमा ४० अर्ब रुपैयाँको सुन आयात हुने गरेको थियो । भाउ आकासिएसँगै सुन आयातमा समेत कमी आएको उनको भनाइ छ ।


विश्व परिदृश्यमा आएको फेरवदलसँगै संकट आउनेसक्ने भन्दै शक्ति राष्ट्रदेखि ठुला ब्यापारीहरुले सुनमा लगानी बढाउन थालेको अन्तराष्ट्रिय व्यापारबारे जानकार बरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले बताए । पछिल्लो ४ महिनायता मात्रै सुनको भाउ नेपालमा तोलामा ७२ हजार २०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८१ को माघ ७ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४ सय रहेकोमा त्यसको ठिक ४ महिनापछि २०८१ वैशाख ४ गते १ लाख ९० हजार ६०० पुगेको छ । महासंघका अनुसार पछिल्लो ७ दिनमा मात्रै सुनको भाउ १५ हजार २०० ले बढेको छ ।


विश्व बजारनै तरंगित पार्ने सुन रणनीति, भण्डार बढाउदै शक्ति राष्ट्र


अन्तराष्ट्रिय बजारमा पछिल्लो ४ महिनामा सुनको भाउ प्रतिऔँस ५७५ अमेरिकी डलरले बढेको छ । सन २०२५ जनवरी २१ मा सुनको भाउ प्रतिऔँस २ हजार ७५५ डलर रहेकोमा अप्रिल १७ सम्म आइपुग्दा त्यो भाउ बढेर ३ हजार ३३० डलर पुगेको छ । यता डलरको भाउ भने उतारचढावका बीच ४ महिनाको अवधीमा १ दशमलव २३ प्रतिशतले घटेको छ ।


अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको २०२५ जनवरी २० अर्थात् २०८१ माघ ७ पछि अन्तराष्ट्रिय व्यापारमा उथलपुथल आएको छ । ट्रमले विश्वका विभिन्न मुलुकबाट अमेरिका भित्रिने बस्तुहरुमा अन्दाधुन्ध कर लगाउन थालेपछि सुनजस्ता बस्तुहरुको भाउ झन निरन्तर उकालो लाग्दै गएको हो । नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको विज्ञहरु बताउँछन् ।


ट्रम्प प्रशासनले विदेशबाट सामान आयात गर्ने व्यवसायहरूमा लगाइने करहरू लागू गरेपछि मुद्रास्फीतिको डरले लगानीकर्ताहरू सुनजस्ता अनुत्पादक बस्तुतर्फ आर्कषित भएको बताइन्छ । ट्रमको आक्रामक शैलीको कारण विश्व व्यापारमा केमा लगानी गर्ने भन्नेमा लगानीकर्ता नै अन्यौलमा देखिन्छन् । यस्तो अन्यौलको बीचमा बहुमूल्य धातुलाई सुरक्षित आश्रय सम्पत्ति मानिने भएकोले लगानीकर्ताहरू सुनतिर झुम्मिएका छन् ।


अमेरिकाले अन्य देशबाट आयात हुने बस्तुमा बढाएको भन्सारको कारण अमेरिका र चीन बीच व्यापार युद्ध भएको छ । अमेरिकाले चीनलाई २४५ प्रतिशत कर लगाएको छ, भने चीनले १२५ प्रतिशत कर लगाएको छ । जसको कारण विश्व अर्थतन्त्र नै अस्थिरतातर्फ जानसक्ने जोखिम बढेको बताइन्छ । एकातर्फ अमेरिकाले भन्सार बढाएर विश्वका विभिन्न्न मुलुकहरुलाई आंतकित पारिरहेको छ, भने अर्कोतर्फ रक्षा बजेट बढाउन सुझाव दिइरहेको छ । यस्तो अवस्थामा विश्वका ठुला मुलुकहरुले केन्द्रीय बैंकमार्फत् धमाधम सुन भण्डारण गरिरहेका छन् ।


वल्र्ड गोल्ड काउन्सिल (विश्व सुन परिषद्) का अनुसार अमेरिका, जर्मनी, इटाली, फ्रान्स, रुस, चीन, बेलायत, पोल्याण्ड लगायतका थुप्रै देशहरुले केन्द्रीय बैंकमार्फत सुन भण्डारण गरिरहरेका छन् । अघिल्ला वर्षहरुको तुलनामा सन् २०२४ को अन्त्यमा सुनको विश्वव्यापी भण्डार ३७ दशमलव ७५५ मेट्रिक टनले बढेको छ । विश्वव्यापी वित्तीय संकटको चिन्ता बढेको भन्दै केन्द्रीय बैंकहरूले सुन खरिद गर्ने गरेका छन् । गोल्ड काउन्सिलले सन २०२५ मा केन्द्रीय बैंकहरुले सुन खरिदमा तीव्रता दिंदा सुनको मूल्य ह्वात्तै बढ्ने आंकलन गरेको छ ।


कुन केन्द्रीय बैंकसँग कति छ सुन ?


सुनको भण्डारलाई महत्वपूर्ण राष्ट्रिय सम्पत्तिको रूपमा हेरिएको छ, जसले प्रायः आर्थिक नीतिहरू र युद्धकालीन रणनीतिहरूलाई प्रभाव पार्ने गर्दछ । वल्र्ड गोल्ड काउन्सिलको सन २०२४ का अन्तिम अवधीसम्मको रिर्पोट अनुसार विश्वको सबैभन्दा धेरै अमेरिकी केन्द्रीय बैंकसँग ८ हजार १३३ दशमलव ४६ मेट्रिक टन सुन भण्डार रहेको छ । त्यस्तै, जर्मनीको केन्द्रीय बैंक बुन्डेससँग ३ हजार ३५१ दशमलव ५१ मेट्रिक टन सुन छ । इटालीको केन्द्रीय बैंक बान्का डि’इटालियासँग २ हजार ४५१ दशमलव ८४ मेट्रिक टन सुन छ, भने बांके डे फ्रान्ससँग २ हजार ४३७ मेट्रिक टन सुनको भण्डार छ ।


चीनको केन्द्रीय बैंकसँग २ हजार २६४ दशमलव ३२, स्विट्जरल्याण्डको केन्द्रीय बैंकसँग १ हजार ३९, भारतको केन्द्रीय बैंकसँग ८५३ दशमलव ६३, जापानको केन्द्रीय बैंकसँग ८४५, ताइवान चीनको केन्द्रीय बैंकसँग ४२२, पोल्याण्डको केन्द्रीय बैंकसँग ४१९, साउदी अरेवियाको केन्द्रीय बैंकसँग ३२३, बेलायत (युनाइटेड किङडम)को केन्द्रीय बैंकसँग ३१० मेट्रिक टन सुन भण्डार रहेको छ ।


यसरी भण्डार गरिएको भनिएको परिमाणमा भौतिक सुन र विदेशी संस्थाहरूसँग राखिएका उल्लेख नभएका सुन खाता (अनएलोकेटिड गोल्ड अकाउन्ट)हरू दुवै समावेश रहेको काउन्सिलले जनाएको छ ।

त्यस्तै, केही दिन अगाडि चीनको राष्ट्रिय वित्तीय नियामक प्रशासनले ‘सुनमा लगानी गर्न बीमा कोषहरूको लागि पाइलट कार्यक्रम सुरु गर्ने सूचना’ जारी गरेको थियो । जसले १० बीमा कम्पनीहरूलाई सुनमा लगानी गर्न अनुमति दिएको छ । चीनले बढ्दो विश्वव्यापी अनिश्चितताका बीच जोखिम विरुद्धको दायित्वको रूपमा सुनलाई लिएको बताइन्छ ।


के गर्दैछ नेपाल राष्ट्र बैंक ?


विश्वका शक्तिशाली मुलुकका केन्द्रीय बैंकहरुले रणन्ीतिक रुपमा सुन खरिद गरेर भण्डारण गरिरहे पनि नेपाल राष्ट्र बैंकले सुन भण्डार (खरिद) मा ध्यान नै दिन सकेको छैन । राष्ट्र बैंक ऐन अनुसार केन्द्रीय बैंकले विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद वा विक्री गर्न सक्ने छ । त्यस्तै, राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिको परिचालन गर्न सक्ने अधिकार पाएको छ । यस्तो सञ्चितिमा बैंकको खातामा रहेको सुन तथा बहुमूल्य धातु र विदेशी मुद्रा तोकिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए ।


सौर्य दैनिकसँग कुरा गर्दै प्रवक्ता पौडेलले अहिले सुन भण्डार गर्नुपर्ने तत्कालको आवश्यकता नै देखिएको बताए । उनले भने, ‘सुन खरिद गरि भण्डार (रिजर्भ) गर्नको लागि हामीसँग श्रोत नै छैन । सुन राख्दै नराखेको होइन केहीमात्रामा राखेका छौँ । भोलिका दिनमा आवश्यक परे वा श्रोत जुटाएर खरिद गर्न नि सक्छ,’ पौडेलले विदेशी मूद्राको स्टक सकिंदा आर्थिक संकटमा काम लाग्ने बताए ।

याे पनि : शक्ति राष्ट्रहरूको सुन थुपार्ने होड, आम नेपालीले किन्नै नसक्ने अवस्था आउने संकेत


प्रतिक्रिया