काठमाडौँ । थुनामा रहेका ४ भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अमेरिकाबाट डिपोर्ट भइ भुटान हुँदै नेपाल आएका ती ४ भुटानी शरणार्थीहरुलाई देश निकाला नगर्न आदेश दिएको हो । आदेशमा झापा कारागारमा रहेका ४ भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते अदालतमा पेस गर्न भनिएको छ ।
अमेरिकाले गत चैत ११ गते नेपाली भाषी भुटानीहरुलाई देश निकाला गरेको थियो । जसमा अशोक गुरुङ, सन्तोष दर्जी, आशिष सुवेदी र रोशन तामाङ रहेका छन् । अमेरिकाले डिपोर्ट गरेपछि उनीहरु आफ्नो मुल देश भुटान नै पुगेका थिए । तर, भुटानले समेत देश निकाला गरेपछि भारत हुँदै उनीहरु झापा आइपुगेका थिए ।
अवैध रुपमा नेपाल प्रवेश गरेको भन्दै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । तर, थुनामा रहेका भुटानी शरणार्थीहरुलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीसहित ४ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएका थिए । उनीहरु नेपाली मुलका भुटानी रहेकामा देश निकालामा परेपछि नेपाल हुँदै पुनर्वासका लागि अमेरिका पुगेका थिए ।
प्रतिक्रिया