काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइइको उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै कक्षा १० को उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरूलाई आग्रह गरेको हो ।
‘वर्तमान अवस्थामा कक्षा १० को परीक्षा दिइसकेका विद्यार्थीलाई समयमै नतिजा दिन उत्तरपुस्तिकाको परीक्षण गर्ने र कक्षा १२ को अन्त्यमा राष्ट्रिय रुपमा हुने परीक्षा सञ्चालन व्यवस्थापन गर्ने यी दुवै जिम्मेवारीहरु प्रबुद्ध शिक्षकवर्गको सहभागिताबाट मात्र सम्पन्न हुन सक्छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माद्वारा जारी अनुरोधपत्रमा भनिएको छ, ‘पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदा सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ ।’
शिक्षकहरूको आफ्ना पेसागत हकहित र सुरक्षाका साथै विद्यार्थीको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने विषय भएको उल्लेख गर्दै बोर्डले यस्तो अपिल गरेको हो । साथै, बोर्डले सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षाको तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया