आठबिसकोट । रुकुमपश्चिमको आठबिसकोटमा ७ वर्ष पहिला निर्माण सम्पन्न भएको नर्सरी बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । २०७९ माघ २१ मा आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले बसपार्कको औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरेका थिए । त्यसपछि उक्त बसपार्क सुनसान बन्यो । केहीदिन १–२ वटा गाडीहरू पार्किङ गरियो, तर बसपार्क निरन्तर रूपमा सञ्चालनमा आउन सकेन ।
नगरपालिकाको वडा–९ स्थित नर्सरीमा बसपार्क निर्माण भएको झण्डै ८ वर्ष बित्यो । औपचारिक रूपमा सञ्चालनमा आएको पनि २ वर्ष नै बित्यो । तर सवारी साधनहरू अझैँ पनि बजार क्षेत्रको बीच सडकमै पार्किङ गरिहेका हुन्छन् । नगरप्रमुख केसीले नगरको कार्ययोजनाको प्राथमिकताको सूचीमा बसपार्क रहेको र सरोकारवालासँगको बैठकले गरेको निर्णयअनुसार बसपार्क सञ्चालनमा ल्याइएको भन्दै उद्घाटन गरेका थिए । रिबन काटेपछि नै ठप्प भएको बसपार्क अझैँ पनि सञ्चालनमा आउन सकेको छैन ।
पुरानो बसपार्क अर्थात नर्सरीमा गाडी पार्किङ गर्न असुरक्षित ठानिए पछि यातायात व्यवसायीले उक्त बसपार्कमा पार्किङ गर्न छोडे । अहिले ठाटीखोला नजिकै अर्को सुविधा सम्पन्न काउन्टर र आवास सहितको बसपार्क निर्माण भएको छ । तर नगरपालिकाको मूल गेट र बजार क्षेत्रमा यातायातका साधनहरू गन्जागोल अवस्थामा छन् । बजार क्षेत्रमै २ वटा बसपार्क हुँदा पनि सडक छेउमा पार्किङ गर्दा जोखिम बढ्दै गएको स्थानीयबासीको गुनासो छ । स्थानीय व्यापारी नरेश भन्छन्, ‘बसपार्कमा गाडीहरू पार्किङ गराउन नसक्ने सरकारले विकास गर्छ भनेर कसरी पत्याउनु ? सडकमै जिप, ट्रक, ट्रयाक्टर, अटो र ठुला गाडीहरू पार्किङ गरेर आधि सडक मिचिएको छ । तर सरकार मौन छ । पालिकाकै अगाडिको सडक बसपार्क बनाएर मनपरि पार्किङ गरिरहेका छन् ।
जिल्लाको सदरमुकाम मुसिकोटदेखि आठबिसकोटको राडीबजार सडक यातायात सेवा सुरु भएको १४ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको थियो । तर, उक्त बसपार्क उद्घाटनमै सीमित रह्यो । बजारबाट करिब १ किलोमिटर टाढाको दुरीमा २ वटा बसपार्क निर्माण गरिएको छ । तर दुबै सञ्चालनमा आएका छैनन् । २ वर्षअघि बसपार्क नियमित सञ्चालन हुने भनिए पनी ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ झँै बनेको छ ।
लामो समयदेखि बसपार्क सञ्चालनमा नआउँदा जथाभावी पार्किङले बजार क्षेत्रमा भिड बढेर दुर्घटनाको जोखिम र बजार क्षेत्र कुरूप हुँदै गएको छ । सो समस्या समाधानका लागि स्थानीय सरकारले नियमित रूपमा बसपार्क सञ्चालनमा ल्याउनुपर्ने बासिन्दाको भनाइ छ । बजार क्षेत्रमा जथाभावी पार्किङ गरे यातायात व्यवसायीलाई कारबाही गरिने नगरपालिकाले जनाए पनि हालसम्म कुनै कारबाही नगरिएको बताइन्छ ।
रुकुम पश्चिम
प्रतिक्रिया