काठमाडौँ । कलाकार केशव कोइरालालाई ‘राष्ट्रिय नृत्य निर्देशक सम्मान’ प्रदान गरिएको छ । सिन्धुपाल्चोकको दुवाचौर–९ मा जन्मिएका कोइराला विगत ३ दशकदेखि नृत्य क्षेत्रमा सक्रिय छन् । बुबा रिदिनाथ कोइराला र आमा सीता कोइरालाको सुपुत्रको रूपमा जन्मिएका कोइराला नेपाली गीतसंगीत, नृत्य एवं चलचित्रको क्षेत्रमा सक्रिय भएर दिएको योगदान अनुरूप ‘राष्ट्रिय नृत्य निर्देशक सम्मान’ प्रदान गरिएको आयोजकले जनाएका छन् ।
उनले नृत्य निर्देशनको सुरुआत गुरुङ चलचित्र ‘च्यागी’ बाट गरेका हुन् । पहिलो चलचित्रबाट नृत्य निर्देशनमा सफलता हासिल गरेका काइरालाले तामाङ ‘ठिटो, म त तिम्रो नयनमा,’ ‘नानीबाबु हसिला’, ‘ओ मेरो मायालु’, ‘पग्ली बग्ने हिमनदी’ लगायत सयौँ गीतको म्युजिक भिडियोमा निर्देशन गरिसकेको जानकारी दिए । नृत्य निर्देशकको रूपमा विभिन्न संस्थामा व्यावसायिक नृत्य प्रशिक्षकको रूपमा कार्य गरिसकेका कोइराला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमासमेत नृत्य निर्देशकको रूपमा परिचित छन् ।
नेपाली नृत्य निर्देशनको क्षेत्रमा उनले गरेको योगदानको उच्च मूल्यांकन गर्दै हालै काठमाडौँमा सम्पन्न विलक्षण क्रियशन प्रालिद्वारा आयोजित राष्ट्रिय विलक्षण प्रतिभा सम्मान समारोहमा कोइराला ‘राष्ट्रिय नृत्य निर्देशक सम्मान २०२५’ बाट विभूषित भएका छन् । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष तथा वरिष्ठ अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार कोइराला विभूषित तथा सम्मानित भएका हुन् ।
प्रतिक्रिया