पोखरा । सिइसी काठमाडौँ र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लब स्तरीय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहीबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल ५ ओभरको खेलाइएको थियो ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि ५ ओभरको मात्र खेल खेलाइएको थियो । ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा समेटियो । ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले ८ बलमा २ चौका प्रहार गरे । आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । आशिषले ३ बलमा २ छक्का प्रहार गरे । अभिनाष सिंह १२ रनमा आउट भए । उनले १२ बलमा १ चौका प्रहार गरे । दीपक रोकाया ४ रनमा आउट भए । काठमाडौँका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिँदा युनिशविक्रम सिंह ठकुरीले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले ५ ओभरमा १ विकेट रिटार्यड आउट हुँदै ५७ रन बनायो । ओपनर रित गौतमले २८ रन बनाउँदै रिटार्यट आउट भए । उनले १७ बलमा ३ चौका प्रहार गरे । अर्जुन घर्ती १३ र दीपेन्द्र रावत ८ रनमा नटआउट रहे । अर्जुनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे भने दीपेन्द्रले ८ बलमा १ चौका प्रहार गरे ।
दोस्रो सेमीफाइनलमा गण्डकी हिरोजविरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेले पनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो ।
अत्तरियाले उत्कृष्ट सुरुआत गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा उनीसँगै क्रिज पुगेका दोस्रो ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्दै आउट भएका थिए । विपिनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गरे । खगेन्द्र जोशी २० रनमा आउट भए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । टेक रावत ११ रनमा नटआउट रहे । निश्चल क्षेत्री ९ रनमा आउट रहँदा अर्जुन विक शून्यमा नटआउट रहे । गण्डकी हिरोजका लागि मिलन बोहोराले ३ दशमलव ३ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । वर्षाले बीचमा नै खेल रोकिएपछि टसको आधारमा निर्णय गरिएको थियो । टसमा गण्डकीले सफलता पाएको हो । २३ चैतदेखि सञ्चालन भएको प्रतियोगितामा गण्डकी र काठमाडौँले उपाधिका लागि शुक्रबार भिड्नेछन् ।
प्रतिक्रिया