काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४६ दशमलव ७५ प्रतिशत सार्वजनिक ऋण पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)मा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ ऋण थपिएर तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।
यसमध्ये आन्तरिक ऋण जिडिपीको २२ दशमलव ८२ र बाह्य २३ दशमलव ९३ प्रतिशत छ । यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ तथा बाह्य ऋण भने १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ ।
कुल सार्वजनिक ऋणमा चैत मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
२०८१ साउन १ सम्म २४ खर्ब ३४ अर्ब ९ करोड तिर्न बाँकी ऋण रहेको थियो । गत १ साउनसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो । विनिमयदरमा भएको परिवर्तनका कारण यस आर्थिक वर्षको चैतमसान्तसम्म आइपुग्दा ७० अर्ब ९ करोडले सार्वजनिक ऋणको दायित्व बढेकोे छ । पछिल्लो समयमा डलरको भाउ बढ्दै गएकाले ऋण दायित्व थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चैत मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ६७ दशमलव ९३ प्रतिशत छ । यस अवधिमा सरकारले २ खर्ब ९१ अर्ब १४ करोड आन्तरिक ऋण तथा ७४ अर्ब ९५ करोड बाह्य ऋण प्राप्ति गरेको छ । जसमा आन्तरिक ऋण प्राप्ति लक्ष्यको ८८ दशमलव २२ प्रतिशत तथा बाह्य ऋण प्राप्ति लक्ष्यको ३४ दशमलव ५४ प्रतिशत रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ ।
साढे २ खर्ब साँवा र व्याज भुक्तानीमा सकियो
सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा साढे २ खर्ब खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड भुक्तानी भएको हो । यो वार्षिक बजेट विनियोजनको आधारमा ६२ दशमलव ६७ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ४ दशमलव ४३ प्रतिशत हो ।
९ महिनामा सरकारले २ खर्ब १२ अर्ब ९३ करोड आन्तरिक ऋण र ३९ अर्ब ५४ करोड बाह्य ऋणको दायित्व घटाएको छ । चैतमसान्तसम्म साँवा भुक्तानीमा २ खर्ब ३० अर्ब २ करोड र ब्याज भुक्तानीमा ४९ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया