बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बमजनलाई सफाइ

काठमाडौं । बाल यौन दुरुपयोग मुद्दामा तपस्वी भनेर चिनिएका रामबहादुर बमजनले सफाइ पाएका छन् । उनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भइसकेका छन् ।

बमजनलाई प्रहरीले २०८० पुस २४ गते साँझ काठमाडौंको हात्तीगौँडास्थित निवासबाट पक्राउ गरेको थियो । आफूलाई लिटिल बुद्ध बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो ।

उनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते नै सफाइ दिने फैसला गरेको रजिस्ट्रार प्रेम खड्काले जानकारी दिए । उच्च अदालतका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्लाको फैसला उल्टी हुने ठहर गरेको हो ।

२०८१ असार १० गते सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको थियो । असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरीवाना तोकिएको थियो ।

बमजनमाथि आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग थियो । बाराको निजगढ नगरपालिका १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया