अब देशमा राजतन्त्र फर्किंदैन, हिन्दुराज्य पनि फर्किंदैन र सामन्तवाद झन फर्किंदैन । राजतन्त्र र हिन्दुराज्यको आर्थिक जग नै सामन्तवाद हो । त्यो कुरा उन्मूलन भइसकेपछि अब त्यसकै अधिसंरचनालाई फेरि फर्काउन सकिँदैन ।
विश्व परिस्थितिको विकाससँगै नेपाल र नेपाली समाज पनि निरन्तर परिवर्तनका शृंखलाहरू पार गर्दै आइरहेको छ । यही शृंखलामा हाम्रो देशमा पनि २००७ सालको परिवर्तन भयो, २०४६ सालको परिवर्तन भयो र आखिर २०६२–०६३ को परिवर्तन पनि भयो । यो पछिल्लो २०६३ सालको परिवर्तन एउटा जनक्रान्ति थियो । त्यो पुँजीवादी जनवादी क्रान्ति थियो । त्यसले देशबाट सामन्तवादलाई उन्मूलन गरिदियो । नेपाली समाजबाट अधियाँ, ठेक्का कुत जस्ता सामन्ती शोषणहरूबाट नेपाली जनतालाई मुक्त बनाइयो । त्यो सामन्ती उत्पादन सम्बन्ध थियो । त्यो उत्पादन सम्बन्धलाई पनि उन्मूलन गर्नुका साथै त्यसको सिधा अधिसंरचनाका रूपमा हजारौँ वर्षदेखि नेपाली समाजमा रहेको राजतन्त्रलाई पनि उन्मूलन गरियो । नेपाललाई पहिलोपटक गणतन्त्र नेपालका रूपमा रूपान्तरण गरियो । यसरी २०६२–०६३ को जनक्रान्तिले सामन्तवादलाई नेपाली समाजबाट आर्थिक आधार र अधिसंरचना दुबैबाट उन्मूलन गरियो ।
अब सामन्तवाद न आर्थिक आधारमा फर्किन सक्छ न त्यसको अधिसंरचनामा नै फर्किन सक्छ । त्यही प्रक्रियामा नेपाललाई परम्परागत सामन्ती धर्म तन्त्रात्मक (Theocratic state) राज्यका रूपमा रहेको सामन्ती धर्मतन्त्रात्मक राज्यबाट नेपाललाई धर्म निरपेक्ष (Secular state) राज्यका रूपमा रूपान्तरित गरियो । यो राज्यलाई लोकतान्त्रीकरण गर्ने प्रक्रियाको एउटा महत्वपूर्ण कदम थियो । धर्म निरपेक्ष राज्य भनेको विभिन्न प्रकारका विदेशी धर्महरू– क्रिश्चियनहरू वा अन्यलाई ढोका खोल्ने कुरा होइन । राज्यलाई सबै प्रकारका धर्महरूको आग्रहपूर्ण बन्धनबाट मुक्त गरेर राज्यलाई लोकतान्त्रीकरण गर्ने मात्र हो । नेपाली समाजमा हिन्दु सनातन धर्म मान्ने, बुद्ध धर्म मान्ने, किराँत धर्म मान्ने, इस्लाम धर्म मान्ने र अन्य अनेकौँ जाति र जनजातिका अझै स्थानीय आस्था र विश्वासहरू मान्ने जनता पनि छन् । इसाई धर्म मान्नेहरू पनि छन् । तर, यी सबै धर्म, आस्था वा विश्वासहरू सम्बन्धित व्यक्ति, परिवार वा समूहका हुन्छन् र हुनुपर्छ । तिनीहरूमध्ये कुनै एकलाई राज्यले आफ्नो धर्म मान्न थाल्यो भने अन्य सबै धर्म, आस्था र विश्वासका जनतामाथि अपमान हुन्छ । उनीहरूका धर्म, आस्था वा विश्वासहरू राज्यविरोधी मानिन पुग्छन् । त्यसले समाजमा, धार्मिक असमानता र धार्मिक विभेद गरेको ठहर्छ । राज्य भनेको सबैको साझा संरक्षक हो । त्यसलाई कसैको पक्षधर र कसैको विरोधी बनाउन मिल्दैन । सबै धर्महरूलाई समानता हुनुपर्छ । धार्मिक समानता नै एउटा लोकतान्त्रिक राज्यको चरित्र हुन्छ । त्यसैले यो सामन्तवादलाई उन्मूलन गर्ने एउटा पक्ष हो । त्यो पक्षलाईसमेत सम्पन्न गरेर २०६२–०६३ सालको क्रान्तिले नेपालमा धार्मिक समानता स्थापित गरेको छ । यो पनि अपरिवर्तनीय हो । अब नेपाल कुनै परिस्थितिमा पनि धार्मिक राज्यका रूपमा फेरि फर्किन सक्दैन ।
जनताले २०१७ देखि २०४६ सालको पञ्चायती तानाशाहीको ताण्डव नृत्य पनि भोगे । पञ्चायती शासनअन्तर्गत नै वीरेन्द्र राजा भएपछि ‘राजदरबार उत्तराधिकार ऐन’ बनाउनु परेको पृष्ठभूमि र कारणका बारेमा पनि जनताले राम्ररी देखे र बुझे । त्यो दरबारभित्र ज्ञानेन्द्र शाहले चलाउन खोजेको दरबारिया षड्यन्त्रकै जबाफमा आएको थियो ।
यसरी नेपाली समाजबाट २०६२–०६३ सालको जनक्रान्तिमार्फत राजनीतिक रूपमा सामन्ती राजतन्त्रलाई उन्मूलन गरिएको छ र देशलाई पुँजीवादी गणतन्त्रमा रूपान्तरण गरिएको छ । आर्थिक रूपले हिजोको सामन्ती र अर्ध–सामन्ती उत्पादन सम्बन्धबाट समाजलाई मुक्त गरिएको छ, सामन्ती व्यवस्थाअन्तर्गत सयौँ वर्षदेखि जारी अधियाँ, ठेक्का र कुतद्वारा गरिने सामन्ती शोषण प्रणालीलाई अन्त्य गरिएको छ । त्यसरी नै हिजोको राजतन्त्रात्मक शासनअन्तर्गत रहेको हिन्दु राज्यरूपी सामन्ती धर्मतन्त्रात्मक राज्य व्यवस्थालाइ (feudal theocratic state) लोकतान्त्रिक धार्मिक समानता भएको राज्य (Secular state) मा रूपान्तरित गरिएको छ । यी ३ वटै परिवर्तनहरू नेपाली समाजमा भएका क्रान्तिकारी प्रगतिशील परिवर्तनहरू हुन् । यी परिवर्तनहरूलाई नेपाली जनताको करोडौँको जनप्रदर्शन र विद्रोहमार्फत भएको जनक्रान्तिको भावनाबाट अनुमोदित भएको छ । त्यो अनुमोदनलाई त्यही क्रान्तिमार्फत सार्वभौम घोषित भएका जनताले निर्वाचित गरेर बनाएका संविधानसभाका ६०१ प्रतिनिधिहरूले त्यस सभाको ऐतिहासिक प्रथम बैठकबाट नेपालबाट राजतन्त्रको उन्मूलन, सामन्तवादको उन्मूलन र धर्मतन्त्रात्मक राज्यको स्वरूपलाई उन्मूलन गरेको हो । त्यो घोषणाबाट नेपाली जनताले गरेको परिवर्तनलाई संस्थागत रूपले अनुमोदन गरिएको हो ।
त्यो अनुमोदनका आधारमा २०७२ सालको नेपालको संविधान बनेको हो । यस्तो ऐतिहासिक प्रवाहलाई केही मानिसहरूको सपना बिग्रँदैमा तल माथि हुने कुरा आउँदैन । मानव इतिहास कहिल्यै उल्टो दिशामा फर्किंदैन । त्यो निरन्तर अग्रदिशामा गतिशील भइरहन्छ । हाम्रो देशकै मानव समाज प्राचीनकालमा जंगली अवस्थामा थियो । त्यसपछि बिस्तारै मातृसत्तात्मक समाजमा विकसित भयो । त्यसपछि समाजमा दासप्रथा प्रकट भयो र त्यो पनि केही हजार वर्ष जारी रह्यो । दास प्रथापछि सामन्तवाद आयो । त्यसको अधिसंरचनाका रूपमा राजतन्त्रको उदय भयो । नेपालमा सधैँ राजतन्त्र थिएन । राजतन्त्र पनि सुरुमा भुरेटाकुरे राजा रजौटाहरूबाट विकास भयो । राजा पृथ्वीनारायण शाहले एकीकरण गरेपछि बल्ल केन्द्रीय राजतन्त्रका रूपमा शाहवंशको राजतन्त्रात्मक शासन सुरु भयो । पृथ्वीनारायण शाह स्वयं सामन्ती राजा हुन् ।
उनको समय सामन्तवादको समय थियो । सामन्तवाद पनि दासप्रथाभन्दा प्रगतिशील थियो । नेपालको एकीकरण प्रक्रिया नेपालमा सामन्तवादी नेतृत्वमा भएको अन्तिम प्रगतिशील कार्य थियो । त्यसैले त्यो टिक्यो । तर त्यसपछि राजतन्त्र, राजपरिवार, दरबारिया गुटबन्दी, षड्यन्त्र, विभिन्न सामन्ती गुटहरू बीचको मारामार, वंश विनाशका लिलाहरू, कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्वजस्ता विनाशकारी पर्वहरूतिर राजतन्त्र उन्मुख भयो । त्यही सिलसिलामा नेपालको शाही राजतन्त्र कोतपर्वपछि राणा परिवारको बन्दी जस्तो भएर पनि बस्यो ।
जनक्रान्तिको बलले राणाशासन समाप्त भएपछि फेरि शासनसत्ता मुठ्ठीमा लिएर जनतामाथि कठोर शासन थोपर्ने शाही राजतन्त्र आइलाग्यो । जनताले २००७ देखि २०१७ सालका नाटकहरू भोगे । जनताले २०१७ देखि २०४६ सालको पञ्चायती तानाशाहीको ताण्डव नृत्य पनि भोगे । पञ्चायती शासनअन्तर्गत नै वीरेन्द्र राजा भएपछि ‘राजदरबार उत्तराधिकार ऐन’ बनाउनुपरेको पृष्ठभूमि र कारणका बारेमा पनि जनताले राम्ररी देखे र बुझे । त्यो दरबारभित्र ज्ञानेन्द्र शाहले चलाउन खोजेको दरबारिया षड्यन्त्रकै जबाफमा आएको थियो ।
राजा वीरेन्द्रले त्यो ऐनमार्फत आफ्नो वंशलाई सुरक्षित गर्न खोजेका थिए । २०४६ सालको परिवर्तनपछि त्यो ऐनले उत्तराधिकार बन्ने हकबाट धेरै टाढा पु¥याएकाहरूको संलग्नता र योजनाबिना राजा वीरेन्द्रको वंश विनाशको कसैले कल्पना गर्न सक्दैन । वंश विनाशको घटना नेपालको शाहवंशीय राजतन्त्रको इतिहासमा सबैभन्दा पछि भएको षड्यन्त्र, हिंसा, मारकाट र हत्याको शृंखला हो भन्ने कुरामा दुईमत हुने ठाउँ नै छैन ।
त्यसैले नेपालका शाह राजतन्त्र पृथ्वीनारायण शाहको निधनको केही पछिदेखि कहिल्यै मुलुकको संरक्षक बन्न सकेन । युगको विकासले त्यसलाई पुरातन बनाउँदै लग्यो, असक्षम बनाउँदै लग्यो, जनविरोधी र राष्ट्रविरोधी बनाउँदै लग्यो । त्यसलाई जनताबाट सबै प्रकारले अलग थलग पार्दै लग्यो । तर उनीहरू सामन्तवादका प्रतीक सधैँ थिए । उनीहरूमा सत्ता, सम्पत्ति, शक्ति र प्रशंसाको महत्वाकांक्षा सधैँ थियो, सधैँ रह्यो । त्यही महत्वाकांक्षाको कारणले राजा वीरेन्द्रको वंश नाश गरियो । त्यो दरबार हत्याकाण्ड र वंश विनाशको संहार लीलाका प्रत्यक्ष रूपले देख्नेहरू अहिले पनि दरबारकै सेरोफेरोमा होलान् । तर वर्तमान गणतन्त्रका शासकहरूलाई त्यस विषयमा खोजी नीति गर्ने फुर्सद नै छैन । त्यो दरबारिया महत्वाकांक्षाको अवशेष अहिले श्री ज्ञानेन्द्र शाहमा देख्न सकिन्छ ।
जनक्रान्तिको प्रवाहको दबाबमा श्री ज्ञानेन्द्र शाहले ‘जनताको नासो’ जनतालाई बुझाउन त बाध्य भए । तर उनी मौकाको ताकमा चाहिँ हरघडी बसिरहे वा बसिरहेका छन् । उनी केही समयदेखि देशका मन्दिर र शक्तिपीठहरू घुम्न थाले, बेलाबखत वक्तव्य निकाल्न थाले, आफ्ना असन्तुष्टि र आकांक्षाहरू प्रकट गर्न थाले । मन्दिरमा गएका मानिसहरूलाई आफ्ना समर्थक ठान्न थाले । त्यसलाई पूर्वपञ्चहरू, सामन्तहरू र हिजो लामो समय मुलुकलाई लुट्न पाएकाहरूले ज्ञानेन्द्र शाहमा महत्वकांक्षा बढाउने आधार देखे । उनीहरूले ज्ञानेन्द्र शाहको त्यो महत्वाकांक्षालाई खुब मलजल गरे । जतिसक्दो उकास्ने काम गरे । निर्मल निवासमा हरदिन गणतन्त्र विरोधी बैठकहरू हुन थाले । तिनै बैठकमा बन्यो २५ फागुनको त्रिभुवन हवाई मैदान नेर ज्ञानेन्द्रलाई स्वागत गर्ने योजना । नेपाली जनताले त्यो पनि मज्जाले हेरे । केही मानिसहरू ज्ञानेन्द्रको गतिविधि हेर्न पछिपछि लागे । केही मति भ्रष्टहरूले राजतन्त्र पुनस्र्थापनाको नारा पनि लगाए । त्यसबाट हौसिएर १५ चैतमा अर्को महत्वाकांक्षी योजना बनाइयो ।
त्यसको परिणाम हो, तीनकुनेमा भएको घनघोर हिंसा, हत्या, आगजनी, लुटपाट, तोडफोड, विध्वंश र विनासको लीला । यसमा सत्ताधारीहरूको उक्साहटको भूमिकालाई नकार्न सकिँदैन । मैले तीनकुनेको परिदृश्यलाई सुरुदेखि अन्त्यसम्म लाइभ दृश्य हेरेको छु । तर त्यहाँ सत्तापक्षको उक्साहटका बावजुद जुन हरकतहरू भए तिनीहरू सबै नै दरबारिया षड्यन्त्र, चरित्र, स्वभाव र उनीहरूले देखाउँदै आएका क्रियाकलापसँग मिल्छन् । यस्ता तत्वहरूलाई सभ्यता, संस्कार, संविधान, कानुन, अनुशासन, मर्यादा, संयम, धैर्यता, संवाद र नैतिकताका सीमासँग कुनै मतलब हुँदैन । यस्ता तत्वहरू बेलगाम हुन्छन्, सीमाहीन हुन्छन् र उनीहरू अन्ततः इतिहासको असाधारण शक्तिशाली रथचक्रबाट पेलिएर समाप्त हुन्छ र तिनीहरूको अन्त्य दुःखद् हुन्छ । अलिक होसियारहरू त्यस्तो दुःखद् अन्त्यबाट जोगिन सक्छन् ।
राजावादीहरूले यो कुरालाई राम्ररी बुझ्न जरुरी छ । अब देशमा राजतन्त्र फर्किंदैन, हिन्दुराज्य पनि फर्किंदैन र सामन्तवाद झन फर्किंदैन । राजतन्त्र र हिन्दुराज्यको आर्थिक जग नै सामन्तवाद हो । त्यो कुरा उन्मूलन भइसकेपछि अब त्यसकै अधिसंरचनालाई फेरि फर्काउन सकिँदैन । के पश्चिमबाट अब सूर्य उदाउन सक्छ ? के पृथ्वी अब उल्टो दिशामा घुमाउन सकिन्छ ? के एकपटक जन्मेको बालकलाई फेरि आमाकै गर्भमा पठाउन सकिन्छ ? बिल्कुल असम्भव हुन्छ । त्यस्तै हो राजावादीहरू ! यो दिवा सपना नदेखेको राम्रो हो । ज्ञानेन्द्र शाहलाई कमरेड मदन भण्डारीले भनेजस्तै ‘आँखा नचम्काउन’ र ‘आँखीभौँ नखुम्च्याउन’ भनिरहेका छन्– आम नेपाली जनता ।
त्यसैले मेरो पूर्वराजा ज्ञानेन्द्र शाहलाई एउटा राम्रो सुझाव छ । हाम्रो उत्तरी छिमेकमा जनवादी गणतन्त्र चीन छ, तपाईंलाई थाहै छ । त्यहाँ पनि पहिले राजा र राजतन्त्र नै थियो । त्यहाँका अन्तिम राजाको नाम पुई. {(Puyi) हो । उनले चिङवजामा १९०८–१९१२ सम्म शासन गरे । चिङवाई क्रान्तिले उनको सत्ता समाप्त भयो र चीन गणतन्त्रमा रूपान्तरित भयो । त्यसपछि ती पूर्व राजा पुईले एउटा बडो रोचक पुस्तक लेखे । त्यो पुस्तकको नाम हो, ‘बादशाहदेखि नागरिकसम्म’ । त्यसमा उनले बादशाह बन्दाका अनुभवहरू र बादशाहबाट नागरिक बन्दाको गौरवपूर्ण अनुभवहरू लेखेका छन् । यो धेरै नै लोकप्रिय पुस्तक मानिन्छ । यो विश्वको एउटा बेस्टसेलर पुस्तक पनि हो ।
हाम्रो देशको पूर्वराजा ज्ञानेन्द्रलाई पनि यस्तो पुस्तक लेखेर जनता बीचमा लोकप्रिय बन्ने आकांक्षा छैन ? पूर्वराजा ज्ञानेन्द्रका निम्ति यहीँ एउटा सुमार्ग हो । यस्तो मार्ग छोडेर ‘तीनकुने’ मार्ग अपनाउनु दुर्भाग्यपूर्ण हुनेछ । मेरो सुझावलाई ध्यान दिनुहोला । अब राजतन्त्र, वंशतन्त्र नेपालमा फेरि फर्किंदैन । अब त यो वर्तमान गणतन्त्रले पनि पुगेन । यो त पुँजीवादी गणतन्त्र मात्र हो । यसले पनि क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, कृषिलाई आधुनिकीकरण, राष्ट्रिय औद्योगीकरण, शिक्षा र स्वास्थ्यमा व्यापक सुधार, राष्ट्रियताको संरक्षण र सुदृढीकरणजस्ता काम गर्न सक्दैन । यो पुँजीवादी गणतन्त्रले त्यस्ता कुरा जान्दैन । जानेको भए संविधान निर्माणपछि बनेको पहिलो सरकारले नै गर्ने थियो । पुँजीवाद त्यसमाथि पनि दलाल पुँजीवादका पिछुवाहरूले त्यस्ता काम गर्न सक्दैनन् । त्यसैले गरेनन् । हो त्यही कारणले आमजनता असन्तुष्ट र क्रुद्ध बनेका छन् । उनीहरू एकप्रकारले आन्दोलित छन् । उनीहरू क्रान्ति र प्रगतिको नेतृत्व खोजिरहेका छन् । यस्तो जनभावनालाई राजावादीहरूले प्रयोग गर्न खोज्नु मूर्खता मात्र हुनेछ ।
अब त यो गणतन्त्रबाट नेपाली जनता समाजवादी गणतन्त्रतिर जाने हो । समाजवादी गणतन्त्र नै नेपालका सम्पूर्ण समस्याहरूको समाधान हो । त्यसैले हामीहरू समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक प्रक्रियालाई अघि बढाइरहेका छौँ । समाजवादी गणतन्त्र स्थापना गरेपछि मात्र नेपाली जनता र राष्ट्रका सम्पूर्ण समस्याहरू समाधान हुनेछन् । त्यहाँ पुग्दा मात्र मँले नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको प्रस्ताव ‘सुखी नेपाली समृद्ध नेपाल’ ले साकार रूप लिनेछ ।
प्रतिक्रिया