आइटी विद्यार्थीलाई छात्रवृत्ति घोषणा

काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवद्र्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ । आइतबार (३१ चैत) मा भएको यस सम्झौताअनुसार २ संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने भएका छन् । उक्त मितिमा सम्पन्न हस्ताक्षर समारोहमा विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्रध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार र ज्ञान सञ्जाल कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । साथै, विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नसिपको अवसर प्रदान गर्ने र उद्योग–शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना पनि छ ।

दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको छ । यसअनुसार विश्वविद्यालयबाट उपप्राध्यापक डा. राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजितकुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्नेछन् ।

प्रतिक्रिया