काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारप्रति सरकारकै मुख्य सारथि नेपाली कांग्रेसका शीर्ष नेताहरूले चर्को असन्तुष्टि व्यक्त गर्दै सत्ता परिवर्तनको संकेत गरिरहेका छन् । सरकार सञ्चालनको तौरतरिकासँग कांग्रेसका शीर्ष नेताहरू सन्तुष्ट हुन नसकेका हुन् । भित्रभित्रै सरकार परिवर्तनको सम्भावनाका लागि पनि छलफल सुरु भइसकेको छ ।
हिजो प्रधानमन्त्री ओलीलाई नबिच्काउने नीतिमा रहेका कांग्रेस संस्थापन पक्ष वा इतर पक्षकै नेताहरू पनि अहिले खुलमखुला सरकारको आलोचना गरिरहेका छन् । कांग्रेस नेताहरू परेको खण्डमा एमालेसँग वारपार नै गर्ने मुडमा छन् । सरकार सञ्चालनका लागि भन्दै गठन गरिएको उच्चस्तरीय संयन्त्रमा समेत रहेका कांग्रेसका महामन्त्री गगन थापा पछिल्लो समय सरकारप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन् ।
बुधबार पनि कांग्रेस बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनी सरकारप्रति असन्तुष्ट सुनिए । उनले गठबन्धन सरकार भए पनि सरकार टिक्छ कि टिक्दैन भन्ने कुरामा आशंका गर्नुपर्ने स्थिति रहने गरेको उल्लेख गरे । उनले जुन उद्देश्य अनुरुप सरकार बनेको हो, सोअनुरुप काम हुन नसकेको बताए । ‘संविधान संशोधन र सुशासनको एजेन्डामा कांग्रेस–एमाले मिलेका हौँ । तर, यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौँ, त्यो पूरा हुन सकेको छैन । त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ,’ उनले भने ।
यता, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकार चल्नुपर्ने, तर कार्यशैली बदल्नुपर्ने भनेर सरकारका ७ वटा कमजोरी औँल्याएका छन् । सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन र अख्तियारसम्बन्धी विधेयकमा सरकारको कमीकमजोरी उनले औँल्याएका हुन् । त्यसैगरी त्रिवि उपकुलपति, राष्ट्र बैंकको गर्भनर र नेपाल प्रहरीको एआइजी नियुक्तिको सम्बन्धमा पनि सरकारको कमजोरी रहेको भन्दै उनले असन्तुष्टि दर्ज गरेका छन् ।
सौर्य दैनिकसँग कुरा गर्दै कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली मिलुन्जेल सरकार नढल्ने टिप्पणी गरे । सरकार ढाल्न पार्टीभित्रबाट पनि कुनै प्रयत्न नभएको उनको भनाइ छ । तर, सरकार ढलेर नयाँ सरकार बने पनि अचम्म मान्नुपर्ने स्थिति भने नरहेको घिमिरेले बताए । ‘नेपालमा बलियाभन्दा बलिया समीकरणहरू भत्किएर सरकार ढलेको विगत छ । यो सरकार पनि टिकिरहन्छ भन्ने कुरामा शंका छ,’ उनले भने, ‘त्यसैले यो सरकार ढल्यो र नयाँ सरकार बन्यो भने पनि अचम्म नमान्दा हुन्छ । तर, संसदीय गणितको दृष्टिबाट सरकार ढल्ने पूर्वाधार म देख्दिनँ ।’
‘फलाम तातेको’ माओवादी केन्द्रको निष्कर्ष !
यता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने कांग्रेस–एमाले गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउने प्रयास थालेको छ । ‘फलाम तातेकै बेला घन हान्ने’ रणनीतिअनुसार माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बन्नु उपयुक्त हुने भन्दै कांग्रेससँग अनौपचारिक छलफलमार्फत् शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्न तयार भएको बताइसकेको छ । अध्यक्ष प्रचण्डले केही दिन अघिदेखि निरन्तर वर्तमान सरकार धेरै अगाडी जान नसक्ने अभिव्यक्ति दिइरहेका छन् । उनले सम्पूर्ण परिस्थितिको विश्लेषण गरेर सो कुरा भनेको बताइरहेका छन् ।
सौर्य दैनिकसँग कुरा गर्दै माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले पछिल्ला राजनीतिक घटनाक्रमका कारण नेपालको राजनीतिले नयाँ ‘कोर्स’ लिनुपर्ने आवश्यकता देखाएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभासँग गरेको सहमति ‘ब्रेक’ गर्नु, तिनकुने घटनाले मुलुकलाई द्वन्द्वमा लान खोजेको र बाह्य शक्तिले समेत मुलुकलाई क्रिडास्थल बनाउन लागेको भन्दै गणतन्त्रवादीहरू एकतावद्ध हुनुपर्ने अवस्था आएको बताए ।
‘परिस्थितिले नयाँ ढंगले अगाडि बढ त भनेको छ । तर, हामी सरकारमा जानेमा छैनौँ । संसदीय गणितले पनि कैयौँ कुराहरू निर्धारण गर्छन् । तर, कुशासनलाई बदल्नुपर्ने आवश्यकता छ, त्यसका लागि तलदेखि माथिसम्म सबैले पहल गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘सरकार बदल्नका लागि बदल्ने भनेको होइन । परिस्थितिलाई हेरेर प्रतिपक्षीको कोणबाट अहिलेको असहजतालाई सहजतामा बदल्न कुन ढंगले जानुपर्छ भन्ने संवाद, छलफलको प्रक्रियामा छौँ ।’
‘कांग्रेस–एमालेबीच समस्या छैन’
सत्ता परिवर्तनको हल्ला चलिरहँदा बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा अहिलेको राजनीतिक परिस्थितिदेखि शिक्षक आन्दोलनका विषयमा पनि छलफल भएको थियो । संयन्त्रको बैठकपछि गृहमन्त्री रमेश लेखकले बाहिरको हल्ला जस्तो गठबन्धनभित्र र सरकार सञ्चालनमा कुनै समस्या नरहेको दाबी गरे ।
‘हाम्राबीचमा कुनै समस्या छैन । बाहिर २ दलका बीचमा केही समस्या भयो कि भन्ने कुरा छ । त्यस्तो खालको कुनै समस्या छैन,’ लेखकले भने । पछिल्लो केही दिनयता कांग्रेसको संस्थापन इतरमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले लगातार सरकारका कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए । महामन्त्री थापा राजनीतिक संयन्त्रका सदस्य भए पनि बैठकमा भने सहभागी थिएनन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले सरकारभन्दा पनि असन्तुष्ट पक्षले सरकारको बहानामा कांग्रेसप्रति असन्तुष्टि जनाएकोतर्फ संकेत गरे । लेखकले सरकारको कामकारबाहीलाई लिएर टिप्पणी गर्नुभन्दा पनि तथ्य–तथ्यांकमा हेर्न असन्तुष्ट पक्षलाई सुझाव दिए । ‘नेताहरू आ–आफ्नो ढंगले बोल्नुहुन्छ, त्यसमा मेरो टिप्पणी केही छैन । पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको छ । सेवा प्रवाहमा पनि सुधार भएको छ’, लेखकले भने, ‘तथ्य र तथ्यांक हेरौँ भाषणमा मात्र टिप्पणी गरेर हुँदैन ।’
प्रतिक्रिया