अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका–१ र २ ढाकावांगमा कार्यक्षेत्र रहेको प्रगति कृषक सहकारी संस्थाले मौरीपालक किसानलाई मौरी र घारसहित आवश्यक सामग्री वितरण गरेको छ । मौरीपालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले वितरण गरिएको जानकारी दिएको छ ।
बुधबार एक कार्यक्रमका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले कृषकहरूलाई मौरीसहित आवश्यक सामग्री वितरण गरेको सहकारीले जनाएको छ ।
मौरी सामग्री वितरण गर्दै नगरप्रमुुख थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न कृषकलाई आग्रह गर्दै व्यावसायिक रूपमा मौरीपालन किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनी सीमित स्रोतका वावजुत कृषकको ५० प्रतिशत र नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर मौरीसहित आवश्यक सामग्री वितरण गरिएको बताए । मौरीपालन कार्यक्रमबाट किसानहरू स्वरोजगार हुनका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्ने सहयोग पुग्ने अपेक्षा लिएको नगरप्रमुख थापाले बताए ।
कार्यक्रममा नगरउपप्रमुख बालाकृष्ण बन्जाडेले उक्त कार्यक्रमले मौरीपालनमा थप आकर्षक बढ्ने बताए । प्रमुख प्रशासकीय अधिकृत नेपालीले मौरीपालन कार्यक्रमले किसानको मौरीपालन कर्ममा थप ऊर्जादिनुका साथै आगामी दिनमा व्यावसायिक रूपमा अगाडि बढ्नसमेत उक्त कार्यले सहयोग गर्ने बताए ।
कार्यक्रममा नगरपालिका, योजना शााखा प्रमुख हरिश्चन्द्र भुसाल लगायतले मौरीपालन पेसा सहजै जस्तो भए पनि किसानले चरनको समस्या झेल्ने गरेको बताएका थिए । मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि बालीमा कडा खालका विषादी प्रयोग घटाउनुपर्ने जोड दिए ।
सहकारीमा आबद्ध करिब १०० जना कृषकलाई भूमिकास्थान नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपरसहित माहुरी घार, ४२५ थान मह प्याक गर्ने प्लास्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, ३०० थान लेबलिङ छपाइ, स्ट्यान्ड लगायतका सामग्री वितरण गरिएको थियो । वितरणपूर्व किसानलाई २ दिने तालिमसमेत दिएको अध्यक्ष भुवानन्द भुसालले जानकारी दिए ।
अनुदानमा मौरीसहित सामग्री पाएसँगै मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरीपालन व्यवसायलाई थप प्रवद्र्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका–२ का अध्यक्ष बुद्धिबहादुर थापा, १ का अध्यक्ष गोपालप्रसाद खनाल, ८ का अध्यक्ष राजकुमार श्रेष्ठ लगायतका जनप्रतिनिधि, कर्मचारी र कृषकको उपस्थिति रहेको थियो ।
अर्घाखाँची
प्रतिक्रिया