ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ५ दिने ‘ललितकला मेला’

काठमाडौं । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानले नयाँ वर्ष २०८२ र प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर पाँच दिने ‘ललितकला मेला २०८२’ गरेको छ । नक्सालस्थित प्रतिष्ठान परिसरमा आयोजित मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक समारोहका बीच उद्घाटन गर्दै समाजलाई जगाउन कला, साहित्य र संस्कृतिको भूमिका विशेष रहने धारणा व्यक्त गरे ।

उनले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने अनि समाजलाई सही बाटामा लाग्न उत्प्रेरित गर्ने बताए । उनले भने, ‘कला क्षेत्रका परम्परागत ज्ञान, सिपलाई पुस्तान्तरण गर्नुपर्दछ । यही नै पछिका लागि इतिहास बन्दछ ।’ समाज रुपान्तरणमा समेत कला साहित्यको भूमिकाले काम गर्ने बताउँदै सांस्कृतिक विविधतायुक्त नेपाललाई समृद्धिको दिशामा लैजानमा सरकारले यथोचित काम गर्ने जिकिर गरे । मन्त्री पाण्डेले भने, ‘यसरी जीवनदर्शन तथा समाजको परिवेश बोकेको कलामा साधनारत कलासाधकहरू आफ्नो गन्तव्य तय गरी लाग्नुपर्दछ ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक ललितकला मेलाको आयोजना गरेको बताए । उनले मेलामा कला सरोकारी, ललितकलाकर्मी, विद्यार्थी, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति रहँदा प्रतिष्ठानलाई थप ऊर्जा मिलेको जनाए । उनले भने, ‘नेपाली कला क्षेत्रलाई थप चलायनमान बनाउन मेलाको आयोजना गरिएको हो । यसले कलाको अभ्यास र ज्ञानको दायरालाई फराकिलो बनाउन मद्दत पुग्दछ ।’

कुलपति हार्तम्छालीले मेलालाई आगामी वर्ष अझ भव्य रूपमा आयोजना गरिने जनाउँदै ललितकलाका विविध विधालाई एकैथलोमा प्रदर्शनीसँगै प्रयोगात्मक कामसमेत गरिएको जानकारी दिए । सो कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कलाका विविध पक्ष र पाटोलाई एकैथलोमा जोडेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सराहनीय कार्य गरेको बताइन् । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै उनले ठुलो कुराको सुरुवात साना–साना प्रयासबाटै हुने बताउँदै सांस्कृतिक जागरणका निम्ति मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको जनाए । उनले प्रतिष्ठानलाई कला हबका रूपमा विकास गर्न मेलाले महत्वपूर्ण सहयोग गर्ने धारणा राखे । उनले ललितकलामार्फत जागरण ल्याउन र नेपालको मौलिक पहिचानलाई स्थापित गर्नसमेत मेलाले सहयोग मिल्ने बताए । उपकुलपति लामाले भने, ‘सामाजिक जागरणका निम्ति प्रदर्शनी, मेला, कार्यशाला, गोष्ठी लगायतका कार्यमा प्रतिष्ठानले काम गरिरहेको छ । यसले समाजमा सकारात्मक प्रभाव पार्दै सांस्कृतिक जागरणमा समेत भूमिका खेल्न मद्दत पुग्दछ ।’

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले मेलाले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचार–प्रसार, नेपाली ललितकलाको बजार प्रवर्धन, कला पर्यटनको विकासलगायतका क्षेत्रमा थप सहयोग गर्ने बताए । उनले मौलिकताको जर्गेना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिनका लागि समेत मेलाको महत्त्व रहने जिकिर गरे । उनका अनुसार मेलामा चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, परम्परागत कला, कार्टुन, भिडियो आर्ट, आर्ट फोटोग्राफी, पफर्मेन्स आर्ट, प्रतिस्थापन कला लगायतका कला राखिएको छ ।

दुई दर्जन बढी संघ–संस्थाको सहभागिता रहेको मेलामा मूर्तिकला, चित्रकला, लोककला कार्यशाला हुनेछन् । ललितकलाको बजार विकास र प्रवर्धन कार्यको थालनीका लागि यस मेला गरिएको प्रतिष्ठानले जनाएको छ । मेलामा ललितकला क्याम्पस, स्ववियु ललितकला क्याम्पस, काठमाडौं विश्वविद्यालय कला विभाग र क्राफट एण्ड डिजाइन, सिर्जना कलेज अफ फाइन आर्टस्, नेपाल हस्तकला महासंघ, अखिल नेपाल ललितकला संघ, राष्ट्रिय ललितकला संघ, आइडिया नेपाल, कार्टुनिस्ट क्लब अफ नेपाल, जानकी गाउँपालिका कैलाली, सुनापति गाउँपालिका रामेछाप, सुनापति प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितपुर धातु मूर्तिकला संघ, नेपाल हस्तकला कालिगढ संघ, ख्वप पौभा च्वमि पुचः, आइडब्लुएस नेपाल, विन्दु स्पेस फर आर्ट, हिमालयन ट्याटु समिट, प्रिन्टमेकिङ नेपाल लगायतका संघ संस्थाको सहकार्य रहेको मेलाको मिडिया पार्टनर राष्ट्रिय फोटोपत्रकार समूह रहेको छ ।

प्रतिष्ठानका उपकुलपति लामाका अनुसार मेलाका माध्यमबाट कलाका विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनसन्धाता, कलाकृति तथा कला वस्तुहरूसँगै सर्जकहरूसमेतलाई एकै थलोमा भेला गराई स्थलगत रूपमा ललितकलाको प्रवर्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने उद्देश्य रहेको छ । समग्रमा यस मेलाले नेपाली ललितकलाको विकासमा टेवा पु¥याउने छ । ४५ भन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया