वर्तमान देशको परिस्थितिमा माओवादी केन्द्रको भूमिका

माओवादी केन्द्रले समाजवादको लक्ष्य र उद्देश्य सम्बोधित गर्ने रणनीतिक योजना बनाउनु पर्दछ । पार्टीले लोकतान्त्रिक, सामाजिक राजनीतिक निकायको निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने अवस्था बनाउनु पर्दछ । पार्टीले संघर्ष, आन्दोलनका प्रक्रिया लागू गर्नु पर्दछ ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको छ, ‘हामी नेकपा (माओवादी केन्द्र) लाई २०८४ को चुनावमा देशको पहिलो पार्टी बनाउनुस् । हामी भ्रष्टाचार र बेथितिको अन्त गर्नेछौँ र मुलुकलाई सामाजिक न्याय, सुशासन र समृद्धिको शिखरमा पुर्याउने छौँ ।’ गत आमनिर्वाचनपछि करिब डेढ वर्ष तेस्रो ठुलो दल माओवादी नेतृत्वको सरकारले देश चलायो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले सुरुमा एमालेको, त्यसपछि कांग्रेसको अनि फेरि एमालेको साथ लिनुभयो । आखिरमा प्रचण्डले धोका दिएको भन्दै एमाले र कांग्रेस मिलेर सरकार बनाए । अहिले देशमा दोस्रो ठूलो दल नेकपा (एमाले) को नेतृत्वमा पहिलो ठूलो दल नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकार छ । जसका प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । देशको राजनीतिक अवस्था अस्थिर र तरल रहेकाले जनताले अपेक्षा गरेअनुसार विकाश, सुशासन, भ्रष्टाचार मुक्त समाज हुन सकेको छैन ।
सरकार बलियो त छ, तैपनि विवाद र अन्योलतामा फसेको देखिन्छ ।

प्रधानमन्त्री ओली आफ्नो झुण्डलाई खुसी पार्न केन्द्रित भएकाले सक्षम र जनताबाट आशातित व्यक्तिहरू ओझेलमा पर्दैछन् । प्रधानमन्त्री ओली जति शक्तिशाली हुनुहुन्छ त्यति नै उहाँको विरोध पनि भएको देखिन्छ । जुन जोगी आए पनि कानै चिरेको भने जस्तै यो बहुदलीय व्यवथामा जुन सरकार आए पनि उस्तै हुन् भनेर जनता निराश देखिन्छन् । जनताको अपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको चाहना पूरा हुन सकेको छैन ।

देशको विकास, सुशासन, जनताको आर्थिक उन्नति गर्नका लागि अनि राजनीतिक स्थायित्वका लागि सफल नेता र पार्टी जनताको खोजीको विषय बनेको छ, जसको परिणाम माओवादी केन्द्रबाट नेपाली जनताले आशा राख्नु स्वभाविकै हो र राखेका छन् पनि । ठूला राष्ट्रिय स्तरका योजना र अन्य कुनै पनि विकास निर्माण समयमा सम्पन्न हुन नसक्नुको प्रमुख कारण देशमा भएको भष्ट्राचार नै हो ।

आर्थिक, सामाजिक विकास र सुशासन कायम गर्न सरकार अझ चिन्तित र क्रियाशील हुनुपर्ने देखिन्छ ।
राज्य शक्तिको मूल स्रोत राजनीतिलाई शासन, सुशासन र कुशल शासन भनी बुझ्न सकिन्छ । शक्तिलाई नियन्त्रणमा लिन राजनीतिले आधार तय गर्छ । शक्तिको आध्यात्मिक प्रयोग पनि राजनीतिमै हुन्छ । बिनाशक्तिको राजनीति गर्न असम्भव हुन्छ । शक्ति र राजनीति आपसमा सम्बन्धित छन् ।

आज देशमा जति पनि राजनीतिक खिचातानी, दबाब, गुट, प्यानल आदि सिर्जना भइरहेका छन् ती सबैको मूल स्रोत भनेकै शक्तिलाई आफ्नो अधिनमा लिन खोज्नु हो । राजनीतिमा हामीले एकअर्काको विरोध गर्न शक्ति खर्च गर्नुभन्दा पनि देशलाई समृद्धि, विकास र सुशासनको निमित्त आफ्नो स्पष्ट भिजन दिनुपर्दछ र जनतालाई आश्वस्त पार्न सक्नुपर्दछ ।
पुँजीवादले मात्र जनताको समस्या समाधान गर्न सकेको छैन ।

तसर्थ हामीले समाजवादी लोकतन्त्रलाई अंगीकार गर्नु पर्दछ । वर्तमानमा नेपाली जनतामाझ अरू पार्टीभन्दा पनि नेकपा (माओवादी केन्द्र) लोकप्रिय देखिन्छ । सर्वहारा वर्ग र समाजवादप्रति प्रतिवद्ध भएर पनि हुन सक्दछ, माओवादी केन्द्रको लोकप्रियता । हामीले वर्तमान बहुदलीय व्यवस्थामा मात्र सीमित रहेर देश बन्दैन । तसर्थ हामी नेपाली विशेषताको समाजवादप्रति प्रतिवद्ध हुनुपर्दछ ।

माओवादी केन्द्रको भूमिका : नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै नेपाली समाजका २ विशाल पहाड सामन्तवाद र साम्राज्यवादको अन्त्य गरी जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने लक्ष्य लिइएको थियो । सशस्त्र र शान्तिपूर्ण, वैज्ञानिक र अवैधानिक, खुला र भूमिगत विद्रोह भइरहे । परिणामतः नेपाल जनवादी क्रान्तिको तयारीको चरणमा प्रवेश गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यतिवेला नेपाली जनताको दशकौँ लामो बलिदानी पूर्ण संघर्षका कारण स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै समाजवाद निर्माण गर्ने अभियानमा देखिन्छ ।

माओवादीले अघि सारेको संविधानसभाले संविधान बनाउनुपर्ने एजेन्डा बमोजिम संविधानसभावाट २०७२ सालमा जारी संविधानमा संघीय लोकलान्त्रिक गणतन्त्र एवं समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको राजनीतिक परिवर्तन हासिल भएको छ । माओवादी केन्द्रले समाजवादको लक्ष्य र उद्देश्य सम्बोधित गर्ने रणनीतिक योजना बनाउनु पर्दछ । पार्टीले लोकतान्त्रिक, सामाजिक राजनीतिक निकायको निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने अवस्था बनाउनु पर्दछ ।

पार्टीले संघर्ष, आन्दोलनका प्रक्रिया लागू गर्नु पर्दछ । सम्पूर्ण संगठनलाई जनपक्षीय र प्रभावकारी बनाउन मूल पार्टी कमिटीदेखि जनताको तह सम्मका कमिटीलाई चलायमान, चुस्त र प्रभावकारी बनाउन आवश्यक छ । अब समाजवादी क्रान्ति सम्पन्न गर्नु नै हाम्रो पार्टी माओवादी केन्द्रको एक मात्र लक्ष्य र उद्देश्य हो अनि मोओवादी केन्द्रको भूमिका भनेकै देशमा समाजवाद स्थापना गर्नु हो ।

प्रतिक्रिया