नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियान जनताको बीचमा आत्मसमीक्षासहित देशको स्थिति बुझाउन सफल भइरहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट पुनः सुरू गरेको अभियानका क्रममा आज कावासोती पुगेपछि उनले जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको बताएका हुन् ।
‘विगतमा हामीले सरकार र काठमाडौं केन्द्रित कुरामा अलि बढी ध्यान दियौँ भन्ने कमजोरी स्वीकारेपछि देशव्यापी अभियान सुरु भएको छ, यस क्रममा आफ्नो विचार, मुद्दा, आफ्नो वर्ग समुदाय र जनतासँगको सम्बन्धलाई जोड्नुपर्छ भनेर हामी अभियानमा जुटेका हौँ’, अध्यक्ष दाहालले भने, ‘यो अभियानले जनतामा ठूलो उत्साह थपिरहेको छ, सबै वर्गका जनतामा सकारात्मक उभार आएको छ ।’
पछिल्लो परिवर्तन र गणतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादीको भएकाले त्यो जिम्मेवारी पूरा गर्न जनताको घरदैलोमा हिँडेको र देशमा देखिएको असन्तुष्टि अन्त्यका लागि माओवादीले पहल गरिरहेको उनको भनाइ छ ।
काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनबारे धारणा राख्दै पूर्वप्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौता अनुसार काम अगाडि बढेको दाबी गरे ।
वर्तमान सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्ने र त्यसका लागि यसअघि भएका सहमतिलाई आधार मान्नुपर्ने उनको धारणा थियो । अभियानका क्रममा नेताहरूले यहाँका बेपत्ता तथा सहिद परिवारसँग भेटघाटसमेत गरेका थिए ।
प्रतिक्रिया