काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसभित्रै सरकारप्रति असन्तुष्टि बढ्दै गएको छ । पार्टीभित्र पछिल्लो समय वर्तमान सरकार विस्थापन गर्ने विकल्पसमेत खोजी सुरु गरिएको छ । सरकारको काम कारबाहीप्रति कांग्रेसका शीर्ष नेताहरूले नै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
सौर्य दैनिकसँग कुरा गर्दै कांग्रेस नेताहरूले वर्तमान सरकारको काम, कारबाही र समग्र पक्षको सम्बन्धमा पार्टीभित्र अनौपचारिक छलफल सुरु भएको पुष्टि गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै नेताहरूले सरकारप्रतिको बढ्दो असन्तुष्टिको भार सहायकका रूपमा कांग्रेसले बोक्नुनहुने मत बढ्दै गएको नेताहरू बताउँछन् ।
सरकारको नेतृत्वसँगै जोडियो कांग्रेस महाधिवेशन
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले–माओवादी केन्द्रको गठबन्धन सरकार चलिरहेका बेला गत वर्ष असार १७ गते प्रधानमन्त्रीलाई नै चक्मा दिएर कांग्रेस–एमालेको गठबन्धन सरकार बन्ने ७ बुँदे सहमति भयो । सोहीअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भए । २ वर्ष ओली प्रधानमन्त्री हुने सहमति छ । जसअनुसार २०८३ साउनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
निर्धारित समयमै आफू प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क छन् । देउवा–ओलीबीच भएको सहमतिमा पनि उनी प्रतिबद्ध छन् । तर, पछिल्लो समय सरकारप्रति बढ्दै गएको आमअसन्तुष्टि र सही ‘डेलिभरी’ हुन नसक्दा कांग्रेस स्वयंप्रति पनि आमनिराशा बढिरहेकोप्रति कांग्रेस नेताहरू सजग देखिएका छन् ।
यता, कांग्रेसको १५औँ महाधिवेशन आफू प्रधानमन्त्री भएकै बेला गर्न चाहेका देउवाले विधानतः महाधिवेशन गर्दा आफू प्रधानमन्त्री नभएका बेला पर्छ । समय सारेर महाधिवेशन गर्न पनि देशभित्र र बाहिरको राजनीति तथा आन्तरिक राजनीति आफू अनुकूल नहुने भयमा रहेका सभापति देउवाले कुनै न कुनै परिस्थिति खडा गरेर निर्धारित समयअगावै प्रधानमन्त्री हुने सुषुप्त चाहना राखेको देउवा निकट नेताहरूले बताउने गरेका छन् । कांग्रेस वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी मंसिरमा सकिन्छ ।
यता, कांग्रेसको विधानअनुसार १ वर्ष समय थप गर्न सकिन्छ । त्यसो हुँदा २०८३ मंसिरसम्ममा महाधिवेशन सक्नुपर्ने हुन्छ । संविधानको व्यवस्थाअनुसार अर्को ६ महिना समय थप गर्न सकिन्छ । त्यसो हुँदा कांग्रेस महाधिवेशनको अन्तिम समय सीमा भनेको २०८४ को जेठ महिनासम्म हो । कांग्रेस संस्थापन पक्षको चाहना कार्यसमितिको कार्यकाल २०८४ सालसम्मै लम्ब्याउने छ ।
तर, बेलैमा आफ्नो नेतृत्वको सरकार बनेमा छिटोभन्दा छिटो महाधिवेशन सम्पन्न हुन सक्ने अवस्था बन्ने भएकाले नेताहरू पनि कांग्रेस नेतृत्वको सरकार बनाउने वातावरण बनाउन लागिपरेका छन् । संस्थापन पक्षको राजनीतिलाई स्पष्ट रूपमा बुझेको कांग्रेसको शेखर समूह पनि महाधिवेशनको सुनिश्चितता भएमा देउवा नेतृत्वको सरकार बनाउन सकिने निष्कर्षमा पुगेको छ ।
सरकारप्रति बढ्दो असन्तुष्टि
कांग्रेसभित्र सरकारप्रति भित्रभित्रै उकुसमुकुस बढिरहेको भए पनि नेताहरू सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका थिएनन् । कांग्रेसभित्रको असन्तुष्टि चाल पाएका प्रधानमन्त्री ओलीसमेत हरेक सार्वजनिक कार्यक्रममा आफ्नो समय पुग्नुभन्दा १ साताअघि नै देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने अभिव्यक्ति दिइरहेका छन् । तर, पछिल्लो समय कांग्रेसभित्र २०८३ साउनसम्म पर्खिनु नहुने मत बढिरहेकै बेला नेताहरू सार्वजनिक रूपमै सरकारको विरोधमा उत्रिन थालेका हुन् ।
विगतमा सरकारविरुद्ध बोल्ने नेताहरूलाई गठबन्धन सरकार भएकाले सबै कुरा आफूले भनेजस्तो नहुने भन्दै नबोल्न निर्देशन दिने सभापति देउवासमेत सार्वजनिक रूपमै सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको बताइरहेका छन् । कांग्रेसभित्र सरकारप्रतिको बढ्दो असन्तुष्टिलाई पछिल्ला केही घटनाहरूले पुष्टि गर्छन् ।
शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शेखर कोइरालाले कांग्रेस ‘सत्तामा भए पनि सरकारमा नभएको’ अभिव्यक्ति दिए । जुन कार्यक्रममा सभापति देउवा पनि सँगै थिए । कोइरालाले एमाले नै आफूहरूको प्रतिस्पर्धी भए पनि सहकार्य गरेर अघि बढिरहेको भन्दै सरकारको कमीकमजोरी कांग्रेसले औँल्याउनुपर्ने बताए । उनले एमालेसँगको सत्ता सहकार्यले अप्ठ्यारोमा पर्न सक्ने भन्दै सचेत गराए । जुन कुरा कोइरालाले हरेक मञ्चमा भन्दै आइरहेका छन् ।
लगत्तै बोलेका देउवाले सरकारको नाममा पार्टीको धेरै ठुलो बदनामी भइरहेको बताए । सरकारप्रति कोइरालाले देखाएको असन्तुष्टिप्रति देउवाको पुरापुर समर्थन थियो । सार्वजनिक मञ्चहरूमा निकै कम बोल्ने र प्रायः १÷२ विषयमात्रै उठाउने स्वभाव भएका देउवाले बोलेको यो विषयलाई नेपाली राजनीतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ । उनको अभिव्यक्तिलाई सत्ता समीकरण फेरिने संकेतका रूपमा पनि लिन थालिएको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूको अभिव्यक्ति सरकारले राम्रो काम गरोस् भन्ने असल मनसायका साथ गरिएको खबरदारी भएको बताए । उनले सरकारलाई राम्रो काम गर्न सचेत गराउनु नेताहरूको काम भएको प्रतिक्रिया दिए । ‘सरकारले राम्रो काम गरोस् भन्ने खबरदारी त गर्नैपर्छ जहिले पनि । हाम्रो नेतृत्वमा भए पनि, अरूका नेतृत्वमा भए पनि सचेत गराउने हाम्रो काम हो,’ उनले भने, ‘निर्णय प्रक्रियामा कांग्रेसको भनाइलाई पनि गम्भीरताका साथ लिइयोस् भन्ने नेताहरूको कुरा हो । नेतृत्व परिवर्तनको कुरा आएको छैन । तर, सरकार सचेत हुनुपर्यो ।’
यस्तै, केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकारले डेलिभरी दिन नसकेको भन्दै सरकारको नेतृत्व भन्दा पनि मन्त्रिपरिषद् परिवर्तन गर्ने सम्बन्धमा पार्टीभित्र छलफल चलेको बताए । ‘सरकारले डेलिभरी दिन सकेको छैन । मन्त्रिपरिषद् परिवर्तन गर्नुपर्छ भन्ने मत छ । बजेटअघि कि पछि गर्ने भन्ने कुरा हो । आगामी केन्द्रीय समिति बैठकमा यो विषयमा निर्णय होला,’ उनले भने ।
अर्का केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पनि सरकारले डेलिभरी दिन नसकेको विषय पार्टीभित्र छलफल भइरहेको बताए । सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य र सुशासन, संविधान संशोधनको विषय सरकारले अघि बढाउन नसकेको भन्दै उनले सरकारको घोषित उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताए । ‘सरकारले राम्रो काम गर्न नसक्दा व्यवस्थाविरोधी मत पनि बढ्दै गइरहेको छ । यो कुरालाई सरकारले महसुस गरेर कमजोरी सच्याउनुपर्छ,’ उनले भने ।
देउवा फकाउँदै प्रचण्ड, देउवा अझै सशंकित
आगामी २०८४ सालमा हुने आमनिर्वाचनअघि सरकारमा नजाने घोषणा गरेको माओवादी केन्द्र पछिल्लो समय सत्तारुढ गठबन्धन फुटाउन भित्रभित्रै सक्रिय बनेको छ । ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वमा सरकार बनाउन सकिने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई विश्वस्त बनाउन कोसिस गरिरहेको माओवादी केन्द्रको उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार देउवाले ठोस जबाफ दिन सकेका छैनन् । तर, सम्भावनाको ढोका बन्द पनि गरेका छैनन् । विगतमा प्रचण्डबाट धोका पाएका देउवाले पुनः धोका हुन नसक्ने वस्तुगत आधार खोजेका छन् । त्यो भनेको राजनीतिक रूपमा कांग्रेस–माओवादी केन्द्रकै गठबन्धन बन्नुपर्ने अवस्थाको सिर्जना हो । यद्यपि त्यो अवस्था बन्दै गएको कांग्रेस नेताहरूको निष्कर्ष छ । अध्यक्ष प्रचण्डले निकट पदाधिकारीमार्फत् सभापति देउवा र कांग्रेस नेताहरूसँग कुरा गरिरहेका छन् ।
आइतबार चितवन पुगेका प्रचण्डले वर्तमान सरकार धेरै अगाडि जान नसक्ने बताए । उनले संसद्को सबैभन्दा ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नु सही हुने धारणा व्यक्त गर्दै भने, ‘परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने देखिइराखेको छ । मैले सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बन्ने कुरा सही हो भन्दै आएको छु ।’
यता, प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै कांग्रेस प्रवक्ता महतले सरकार परिवर्तनका लागि माओवादी केन्द्रसँग कुनै कुरा नभएको बताए । ‘विपक्षी दलका नेताले नेतृत्व परिवर्तन होस् । सरकार परिवर्तन होस् भन्नु स्वाभाविक हो । तर, उहाँसँग यस्तो कुरा भएको मेरो जानकारीमा छैन,’ उनले भने ।
भ्रम सिर्जना गर्न खोजियो : एमाले
सत्ता नेतृत्वकर्ता एमालेले भने अहिले सरकार परिवर्तन सम्भव नरहेको बताएको । सोमबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले अहिले सरकार परिवर्तनको कुनै सान्दर्भिकता र औचित्य नभएको बताए । उनले प्रचण्डले सरकार परिवर्तनको हल्ला गर्नु सरकार बाहिर रहँदाको कुण्ठा र पीडाबोध मात्रै भएको बताए । ‘प्रचण्डले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्न खोजिएको छ, त्यसलाई हामीले खण्डन गरेका छौँ,’ उनले भने ।
प्रतिक्रिया