नयाँ वर्ष २०८२ प्रारम्भ हुँदै छ । नयाँ वर्ष कस्तो रहला अनि वर्षभरिका योजना के छन् भन्नेबारेमा विभिन्न दलका नेतासँग गरिएको संक्षिप्त संवाद :
सशक्त शक्तिको निर्माण गर्ने : उपेन्द्र यादव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष
अन्य वर्ष जस्तै यो वर्ष पनि पार्टी नेता कार्यक्रर्ताका बीचमा शुभकामना आदानप्रदान गर्दे आफन्तका बीचमा नयाँ वर्ष मनाउने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको योजना रहेको छ ।
जनताले भोग्न परेको दैनिकका समस्या सामाधान गर्न विगतमा भन्दा बढी पहल गर्ने उपेन्द्र यादवको योजना छ । आउने वर्ष जनतालाई अझ बढी संगठित गर्ने, पार्टीको सदस्यलाई प्रशिक्षित गर्दे एउटा सशक्त शक्तिको निर्माण गरी देश र जनताको हितमा काम गर्ने÷गराउने योजना रहेको उनले बताए ।
उनको अनुभवमा गएको २०८१ साल निराशाजनक रह्यो र राजनीतिक रूपमा फलदायी रहेन । ‘गएको वर्ष मुलुक राजनीतिक अस्थिरता, सत्ताको लिप्सामा तँछाडमछाडमा राजनीतिक नैतिकता इमानदारी, आदर्श जस्ता कुरा गुमाएको वर्षको रूपमा रह्यो’, उनले भने ‘गएको वर्ष मुलुकको अर्थतन्त्र शून्य अवस्थामा रह्यो र जनता निराशमा रहेको अवस्था रह्यो ।’ उनका अनुसार गएको वर्ष हरेक दृष्टिले राम्रो रहेन ।
राजनीतिक रूपमा गएको वर्ष निराशाजनक रहेकाले आउने वर्ष राजनीतिक रूपमा उत्साह र निर्णायक बनाउने उनको योजना छ । वर्षहरू आउँछन् जान्छन् यसलाई हामीले समीक्षा गर्दै हरेक नयाँ वर्षलाई थप उत्साहका वर्ष बनाउनुपर्ने उनले बताए ।
उनका अनुसार मुलुकमा प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजे । तर, अब आउने वर्ष गएको वर्ष जस्तो नहुनेमा उनी विश्वस्त छन् । त्यसका लागि आफ्नो पार्टीका तर्फबाट गर्न सक्ने सबै प्रकारका सहयोग, सक्रियता रहने पनि उनले बताए ।
आउने वर्ष गएको वर्षभन्दा राम्रो बनाउने राजनीतिक व्यवहार र आचरण सुधारिएको अवस्था बनाउन आफ्नो तर्फबाट सक्दो भूमिका रहने उनले बताए । उनले भने, ‘जिम्मेवारीका साथ देश र जनताप्रति समर्पित भएर समर्पणका साथ काम गर्ने योजना छ ।’
नयाँ वर्ष भारत प्रवासमा हुन्छ : पम्फा भुसाल, माओवादी उपाध्यक्ष
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नयाँ वर्ष भनेर त्यस्तो खास कार्यक्रम गर्ने गरेकी छैनन् । उनको समय विगतमा जस्तै २०८२ साल पनि ‘जनता र पार्टीको काममा’ बित्ने छ । उनले नयाँ वर्ष नै मनाउने भनेर कार्यक्रम गर्ने नगरेको सुनाइन् ।
तर, उनी पार्टीको भारतमा रहेको मोर्चाको राष्ट्रिय सम्मेलनका लागि पन्जाब जाने भएकोले त्यही रहेका नेपालीका बीचमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने उनले बताइन् ।
उनका अनुसार यो वर्ष विगतमा जस्तै देश र जनताका काममा बित्ने छ । विगतमा गरेको कामको समीक्षा गर्ने आउने दिनमा अझ बढी जनताका काम के कति गर्न सकिन्छ भन्ने योजना रहेको उनले बताइन् ।
‘पार्टीको नेताका रूपमा पार्टीको काम निरन्तर रहन्छ नै । त्यसका अलावा जनताका हितमा के कति काम गर्न सकिन्छ त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजना छ’, उनले भनिन्, ‘जनताका लागि गरिने काम मेरा लागि महत्वपूर्ण रहने छ । त्यो बाहेक निजी कामका बारेमा केही योजना छैन ।’ व्यक्तिगत कामभन्दा जनताका कामलाई प्राथमिकता दिने गरेकाले आफ्ना लागि नयाँ कुनै योजना नरहेको उनले बताइन् ।
सकारात्मक सन्देश स्थापित गर्ने वर्षका रूपमा २०८२ बनाउने : ठाकुर गैरे, एमाले नेता
नेकपा एमालेका नेता ठाकुर गैरेको आफ्नो गृह जिल्लामा पार्टीका नेता कार्यकर्तासँग नयाँ वर्ष मनाउने योजना छ । नयाँ वर्षकै उपलक्ष्यमा एउटा औपचारिक कार्यक्रम र शुभकामना आदानप्रदान गर्ने योजना रहेको उनले बताए ।
‘नयाँ वर्षको प्रारम्भ भन्ने बित्तिकै गएको वर्षको समीक्षा गर्दे वर्षभरीमा गर्ने योजनाका बारेमा सोच बन्छ नै’, उनले भने, ‘त्यसै अनुसार आफ्नो निर्वाचन क्षेत्र र देशभर जनताले अनुभूति गर्ने गरी के कस्ता काम गर्न सकिन्छ भनेर सोचेको छु ।’ उनले त्यही सोचलाई परिणाम ल्याउने गरी काम गर्ने योजना रहेको बताए ।
यो वर्ष अझ प्रभावकारी रूपमा जनताका आवाज संसद्मा उठाउने र नीति निर्माणको तहमा जनताको भावनाको सम्बोधन हुने गरी काम गर्ने उनले बताए । यसैगरी विकास निर्माणको काममा आफ्नो भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा लाग्ने प्रतिवद्धता गरे । उनले आउने वर्ष जनताका सुझाव लिँदै त्यसैका आधारमा काम गर्ने योजना रहेको जानकारी दिए ।
‘पुरानो वर्ष सकिँदै गर्दा देशमा एक प्रकारको भूत सवार भएको छ– सम्भावना नै नभएको राजतन्त्र ब्युँताउने भनेर अभियान चलाएर जनतालाई तरंगित पर्ने काम भएको छ । त्यसलाई २०८२ सालमा उठनै नसक्ने गरी समाप्त पार्नुपर्छ भन्ने छ’, उनले भने, ‘नेपालमा केही हुँदैन, सबै पार्टी उस्तै हुन् भन्ने एउटा भ्रम छ । त्यसलाई चिर्दै सम्भावना छ, राम्रो पार्टी पनि छन्, नेता पनि छन् । २०८२ सालमा नेपाल राम्रो र समृद्ध बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश स्थापित गर्ने वर्षका रूपमा बनाउने अठोट छ ।’
मुलुकको समृद्धिका लागि अझ बढी सक्रिय हुन्छु : डिना उपाध्याय, कांग्रेस नेतृ
पार्टीको विभिन्न तहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने क्रम जारी रहेको कांग्रेस नेतृ डिना उपाध्यायले बताइन् । एकैदिन धेरै स्थानमा कार्यक्रम हुने गरेकाले त्यसैमा व्यस्त रहेको उनले सुनाइन् ।
पार्टी महाधिवेशनमा लागेकाले पनि धेरै कार्यक्रम रहेको उनले बताइन् । राजनीतिलाई नै जीवन दिएकाले यसैलाई राम्रो र सुदृढ कसरी बनाउन सकिन्छ भन्नेमा नै सबै समय लाग्ने गरेको उनको भनाइ छ । ‘आउने दिनमा पार्टीलाई अझै राम्रो बनाउन के के गर्न सकिन्छ त्यसैका बारेमा सोचकी छु’, उनले भनिन् । उनले २०८२ साल अझ बढी सक्रिय भएर लाग्ने पनि बताइन् ।
‘विगतको समीक्षा गर्दै आउने दिनमा पार्टीको माध्यमबाट जनताका हितमा के कति काम गर्न सकिन्छ त्यसैका केन्द्रित हुन्छु’, उनले भनिन्, ‘पार्टीको विधानमा रहेर भोलिका दिनमा अझ बढी काम के के गर्न सकिन्छ भन्नेमा नै मेरो ध्यान छ ।’ लोकतान्त्रिक गणतन्त्रलाई स्थायीत्व दिने र संविधानलाई कार्यान्वयन गर्ने काममा आउने वर्ष अझ बढी लाग्दै जनतालाई बढीभन्दा बढी त्यसमा सहभागिता गराउने काममा अझ बढी सक्रिय भएर लाग्ने उनको अठोट छ ।
उनले विगतमा भएका कमी कमजोरी सुधार गर्दै नयाँ वर्षमा अगाडि बढ्ने अठोट व्यक्त गरिन् । पार्टी महाधिवेशन केन्द्रित भइसकेकाले पनि यो वर्ष आफू बढी सक्रिय भएर लाग्ने उनको भनाइ छ ।
देशभर पुग्ने योजना छ : रामकुमारी झाँक्री
‘पहिले विद्यार्थी हुँदा जस्तो अहिले छैन । त्यसैले यो वर्ष सामाजिक रूपान्तरणमा लाग्ने योजना छ ।’ नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री सांस्कृतिक रूपमा नयाँ वर्ष मनाउने भए पनि आफ्नो योजना पहिलाको जस्तो नरहेको बताउँछिन् । उनी यो वर्ष देशका सबै प्रदेश र जिल्ला पुग्ने योजनामा छिन् । ‘अहिलेसम्म ७४ जिल्ला पुगे । अब बाँकी ३ जिल्ला पुग्ने योजना छ’, उनले भनिन्, ‘यो वर्ष पार्टीलाई राम्रो र बलियो बनाउन लाग्ने पहिलो अठोठ छ ।’
उनको बुझाइमा २०८१ साल राजनीतिक रूपमा निकै उतरचढावपूर्ण रहेकाले २०८२ सालमा दिगो राजनीतिक र मुलुकको हितमा अझ सशक्त रूपमा लाग्ने योजना रहेको छ ।
यो वर्ष राजनीतिक रूपमा मुलुकले स्थायीत्व पाउने गरी काम गर्न आफूले सक्ने भूमिका निभाउने उनले बताइन् । जनताका आक्रोश र निराशालार्ई चिर्न आउने वर्ष सफल पार्न आफू सक्रिय हुने उनले बताइन् ।
प्रस्तुतिः चमिना भट्टराई
प्रतिक्रिया