नेपालमा नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ, त्यसबाहेक वर्षभरिका तितामिठा पलहरूलाई बिर्साएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउने प्रचलन छ ।
काठमाडौँ । नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक हो । भूगोल, जातजाति र परम्पराको हिसाबले पनि नेपाल विविधतायुक्त मुलुक हो । विश्वलाई नै चकित पार्ने खालको संस्कृति, रहनसहन र वेषभूषा नेपालमा छ । गाउँपिच्छे लबज, वेषभूषा र संस्कृति मान्ने तौरतरिका फरक छन् । वर्षमा सयौँ चाडपर्व मनाइने देशका रूपमा सायद विश्वमा नेपाल अग्रस्थानमै आउँछ ।
नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवतअनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (इस्वी संवत्को पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्रशमशेरको पालादेखि मान्न थालिएको हो ।
कालगणनाअनुसार पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमंगका साथ मनाइने विश्वव्यापी चलन छ । नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन् । तीमध्ये विक्रम संवत् पनि एक हो । विक्रमादित्यले चलाएको मानिने यो संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वानहरूबीच एकमत छैन ।
नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ ।
नेपालमा नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ, त्यसबाहेक वर्षभरिका तितामिठा पलहरूलाई बिर्साएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउने प्रचलन छ ।
नयाँ वर्षका दिन आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठमन्दिरमा गई पूजाआजा गर्ने, मिठामिठा परिकार खाने आदि गरिन्छ । यो दिन नेपालमा सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
यसदिनलाई पनि देशभर विभिन्न क्षेत्र र समुदायका मानिसले आ–आफ्नै किसिमले नयाँ वर्ष मनाउने गर्दछन् । नयाँ वर्षको दिन भक्तपुरमा बिस्काः जात्रा, तराईमा सिरुवा पर्व, जुडशीतल, ठिमीमा जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्रा र सुदूरपश्चिममा बिसु पर्व मनाउने गरिन्छ ।
बिस्केट जात्रा
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्रा ८ रात ९ दिनसम्म धुमधामसाथ मनाइन्छ । थिमिमा भने ३ दिन मनाइन्छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।
भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँ बिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।
जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरु हुन्छ । विक्रम संवतअनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मरे) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको हो ।
जात्राको ऐतिहासिक पक्षका सवालमा भने थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद्हरू बताउँछन् ।
हाल विभिन्न हल्लाका भरमा उक्त लिंगोमा फहर्राने ‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइएको केही संस्कृतिविद् बताउँछन् ।
बिसु पर्व
नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्व मनाउने गरिन्छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा १ वैशाखमा पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।
यो पर्वमा एक आपसमा आत्मीयताका साथ सिस्नुपानी लगाउने र मिठा परिकार खाने प्रचलन छ । पर्वको अवसरमा घर लिपपोत तथा रंगरोगन (स्थानीय भाषामा घर छिप्ने) गर्ने तथा विभिन्न शक्ति पीठमा पूजा गर्ने प्रचलन पनि छ ।
अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीमा मनाइने विसु पर्वमा देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एकआपसमा सिस्नुपानी छ्यापाछ्याप गरेर यो पर्व मनाउने गर्छन् । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।
नयाँ वर्ष अर्थात विसु पर्व मनाउनकै लागि नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ ।
सिरुवा पर्व
उता, पूर्वी तराईका राजवंशी, गनगाई, ताजपुरिया समुदायले नयाँ वर्षको सुरुआतसँगै पानी सिरुवा पर्व मनाएका छन् । विशेष गरी झापाका आदिवासी राजवंशी समुदायले सिरुवा पर्व ३ दिनसम्म मनाउने गर्दछन् । १ वैशाखमा पानी सिरुवा, दोस्रो दिन हिलो सिरुवा र तेस्रो दिन रंग सिरुवा मनाउने गरिन्छ ।
चैत मसान्तमा विभिन्न प्रकारका ७ वटा सागसब्जी मिसाएर पकाएको पक्वान १ वैशाखमा खाने प्रचलन छ । अन्य मिठा–मिठा परिकारसमेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, बिसहरी, काली देवीदेवताको पूजा गर्ने चलन छ ।
०००००
नयाँ वर्ष मनाउने शैली आ–आफ्नै
काठमाडौँ । नेपालमा नयाँ वर्ष पनि फरकफरक समयमा पर्छ । अचम्मको कुरा त के छ, भने कुनै समुदायले मध्यवर्ष मनाइरहँदा अर्को समुदायको नयाँ वर्ष परिरहन्छ । १ वैशाखदेखि नयाँ वर्ष सुरु हुन्छ । विक्रम संवत्, नेपाल संवत्, इस्वी संवत् र ल्होसार गरी ४ वटा नयाँ वर्ष मनाउने देश सम्भवतः नेपाल नै होला ।
यही नयाँ वर्ष प्रवेश गर्ने दिनलाई विभिन्न व्यक्ति, समुदाय र देशले आ–आफ्नै तोकिएको समय, दिन र तिथिअनुसार आ–आफ्नै परम्परा र शैलीमा नयाँ वर्ष भनेर मनाउने गर्छन् ।
नेपालमै पनि नेवार जनसमुदायले चन्द्र पात्रोअनुसार ‘नेपाल संवत्’ मनाउने गर्छन् । त्यस्तै तामाङ, शेर्पा जातिले ल्होसार पर्वको नाम दिई चन्द्र पात्रोअनुसार आफ्नो नयाँ वर्ष मनाउने गर्छन,् भने गुरुङ जातिले सौर्य पात्रोअनुसार प्रत्येक वर्षको १५ पुसलाई नयाँ वर्ष मनाउने गर्छन् । थारू जातिले १ माघलाई माघीको रूपमा मनाउने चलन छ । मिथिलाञ्चलमा २ वैशाखमा जुडशीतललाई नयाँ वर्षको रूपमा मनाइन्छ ।
थारू सम्वत र नयाँ वर्ष
थारू समुदायमा थारू संवतअनुसार १ माघदेखि माघीसँगै नयाँ वर्ष सुरु हुने गर्छ । माघी र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारू समुदाय मघौटा, धमार झुम्रा नाचमा रमाउने गर्छ । नयाँ वर्षकै दिन थारू समुदायले भल्मन्सा, गुरुवाको चयन पनि गर्ने चलन छ । भल्मन्सालाई नेता (गाउँको अगुवा)का रूपमा लिइन्छ भने गुरुवालाई पुजारीका रूपमा लिइन्छ । माघीमा विशेषगरी बंगुरको मासु, माछा, घोंगी, गँगटालगायत खानाका परिकारहरू खाने चलन रहिआएको छ ।’ यो पर्वसँगै नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ नयाँ लत्ताकपडाको पनि उचित जोहो गर्ने गर्दछन् ।
पुरानो वर्षको बिदाई स्वरूप पुसको अन्तिम दिन (जिता) बंगुर मार्ने प्रचलन रहेको छ । ‘जिता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ ।
नेपाल संवत्
नेवार समुदायले नेपाल संवतअनुसार न्हुदँ अर्थात् नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । यो संवत्को पहिलो दिन विक्रम संवतको कात्तिक शुक्ल पक्ष प्रतिपदाका दिनमा हुन्छ । यो संवतमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औँसीको १ वर्ष हुन्छ त्यसैले ३५४ दिनको १ वर्ष हुन्छ । नेपाल संवतलाई नेपालको मौलिक संवत पनि मानिन्छ । यसको सुरुआत शंखधर साख्वाले गरेका थिए । नेपाल संवत् ११३३ वर्ष पहिले भक्तपुरका राजा राघव देवको आज्ञामा चलाइएको थियो । यसदिन नेवार समुदायले टोलटोलमा समेत कार्यक्रम गरेर मनाउँछन् । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
ल्होसार तथा नयाँ वर्ष
ल्होसार नेपालमा तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातिले नयाँ वर्षको आरम्भको रूपमा मनाउँछन् । ‘ल्होछार’ शब्दमा ‘ल्हो’ को अर्थ वर्ष वा साल हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने हुन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष १२ वटा भएको विश्वास गर्छन् ।
१२ वर्षको नाम मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर आदि वर्ष भनेर पशुपक्षी तथा जीवजन्तुका नामबाट राखिएको पाइन्छ । १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । यसरी यी समुदायले १२ वर्षको एक युगको परिकल्पना गरेको हुनसक्छ । नेपालमा ल्होसार पनि तमु (गुरुङ), सोनाम (तामाङ) र ग्याल्पो (शेर्पा) गरी ३ प्रकारका छन् जुन फरक–फरक समयमा मनाइन्छन् ।
प्रतिक्रिया