सहलेशले झल्काएको सांस्कृतिक महत्व

सहलेश फूलबारीको महत्व केबल धार्मिक र ऐतिहासिक पक्षमा सीमित छैन, यसले सामाजिक मेलमिलाप, जातीय सहिष्णुता र प्रकृतिप्रतिको श्रद्धालाई पनि झल्काउँदै आएको छ ।

जनकपुरधाम । सिरहा जिल्लाको लहान नगरपालिका–१२ मा पर्ने ‘सहलेश फूलबारी’ एक अनौठो र ऐतिहासिक स्थल हो, जसले स्थानीयको धार्मिक आस्था, ऐतिहासिक गर्व र प्राकृतिक सौन्दर्यलाई एकसाथ समेटेको छ ।

हरेक वर्षको १ वैशाखमा मात्र फुल्ने एक विशेष प्रकारको फूलका कारण यो फूलबारी प्रसिद्ध छ । यो फूल ‘हारम’ प्रजातिको बोटमा फुल्ने गर्छ, जसले यो स्थललाई पौराणिकता र रहस्यले झनै आकर्षक बनाएको छ ।

सहलेश फूलबारी भोटियाटोल चौकदेखि करिब डेढ किलोमिटर दक्षिणमा, करिब ९–१० विघा क्षेत्रफलमा फैलिएको छ । यहाँ विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन्, तर सबैभन्दा प्रसिद्ध बोट भनेको हारम प्रजातिको हो, जसमा माला आकारको सेतो फूल वर्षको केबल एकदिन १ वैशाखमा मात्र फुल्दछ । यो फूल बिहान फुल्छ र साँझपख ओइलाएर जान्छ, यद्यपि अझैसम्म यो तथ्यको वैज्ञानिक पुुष्टि भने भएको छैन । जनविश्वासअनुसार, यो कुनै चमत्कारभन्दा कम छैन ।

फूलबारीको बीचभागमा अवस्थित यो हारमको बोट सदियौँदेखि यस्तै ढंगले फूल फुलाइरहेको जनविश्वास छ । बुढापाकाहरूका अनुसार, सातौँ या आठौँ शताब्दीदेखि नै यो फूल फुल्दै आएको छ । फूल हेर्नका लागि टाढाटाढाबाट मानिसहरू यहाँ आउँछन् । फोटो, भिडियो खिच्ने, पूजा गर्ने, भाकल गर्ने मानिसको ठूलो भिड लाग्ने गर्दछ ।

फूलबारी नजिकै सहलेश महाराज र मालिनीको मन्दिर छ, जसलाई गहबर भनिन्छ । यहाँ भाकल गर्दा मनोकामना पूरा हुने विश्वास गरिएको छ । खासगरी दुसाध र दनुवार जातिका मानिसहरूले राजा सल्हेशलाई आफ्नो इष्टदेवता मान्ने गरेका छन् । विवाहजस्ता पवित्र कार्यहरू पनि यही फूललाई साक्षी राखेर गरिन्छ । भारत बिहारको मधुबनीदेखि आएकी सरिया देवीले आफ्नो अनुभव बाँड्दै भनिन्, ‘५ वर्षअगाडि सन्तान नहुनुका कारण म यहाँ आएर भाकल गरेँ, र पछि छोराको जन्म भयो । अहिले म सहलेश फूलबारीमा छोराको मुण्डन गराउन आएकी हुँ ।’

यो फूलबारीमा देखिने माला आकारको सेतो फूल, एकैदिन फुल्ने र ओइलाउने प्रक्रियाले गर्दा वैज्ञानिक दृष्टिले पनि चासोको विषय बनिसकेको छ । तर स्थानीयका लागि यो धार्मिक चमत्कार हो । स्थानीय युवा संजय यादव भन्छन्, ‘फूलको बोटमा फूल फुल्नु सामान्य कुरा हो, तर एउटै बोटमा प्रत्येक वर्षको एउटै दिन मात्र यस्तो अनौठो फूल फुल्नु स्वभाविक रूपमा अनौठो हो ।’

सहलेश फूलबारीको इतिहास १४औँ शताब्दीका लोकनायक राजा सलहेशसँग जोडिएको छ । जनविश्वास अनुसार, सहलेश कुनै काल्पनिक पात्र होइनन्, उनी वीर र जनताको सेवा गर्ने लोकनायक थिए । उनका बारेमा वर्णन गर्ने सहलेशगाथामा उल्लेख गरिएअनुसार, राजा सहलेशले एकै दिनमा मानिक दहमा स्नान गर्ने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेलेर कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको गुनासो सुन्ने गर्थे । आज पनि दुषाध समुदायले उनलाई आफ्नो कुलदेवताका रूपमा पुज्ने गर्छन् ।

सहलेश फूलबारीको महत्व केबल धार्मिक र ऐतिहासिक पक्षमा सीमित छैन, यसले सामाजिक मेलमिलाप, जातीय सहिष्णुता र प्रकृतिप्रतिको श्रद्धालाई पनि झल्काउँदै आएको छ । २ वैशाखमा यहाँ भव्य मेला लाग्छ, जसमा टाढाटाढाबाट मानिसहरू आउने गर्छन् । यस मेलाले सांस्कृतिक रूपमा विभिन्न जातजातिलाई एकसाथ ल्याउने भूमिका खेल्दै आएको मान्यता रहेको छ ।

फूलबारी नजिकै रहेको इनार र बग्ने बालीगंगा नदी पनि धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छन् । इनार विशेष दिनहरूमा मात्र देखिने र कहिलेकाहीँ हराउने जनविश्वास छ, जसले यो क्षेत्रको पौराणिक रहस्यमा थप रोमाञ्चक थपेको छ ।

नगरपालिकाले अहिले सहलेश महाराजको ठुलो मन्दिर निर्माण गरिरहेको छ, जसमा करोडौँ रुपैयाँ खर्च भइरहेको छ । यो प्रयासले यहाँको धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । सहलेश फूलबारी, मेला, मन्दिर र यसको गाथाले सिंगो सिरहालाई मात्रै होइन, सम्पूर्ण मिथिला क्षेत्रलाई गौरव दिलाएको छ ।

२०८१ को १ वैशाखमा उक्त फूल आफ्नो समयमा फुलेन । प्रत्येक वर्ष सोही दिन फुल्ने फूल २ दिनपछि मात्र फुलेको थियो । यस विषयमा वरिष्ठ पत्रकार हिमांशु चौधरीले यसका कारणहरू त खासै खोजबिन नगरिए पनि जलवायु परिवर्तनको प्रभाव यसमा पनि पर्न गएको हुनसक्ने बताए । मधेसमा चुरे विनाशले जलवायु परिवर्तन भएको अवस्था छ । आफूले सानो उमेरदेखि नै १ वैशाखमा नै फुल्ने फूल पछिल्लो वर्ष १ वैशाखमा नफुलेको चाहिँ सही हो तर यही कारणले फुल्न नसकेको भनी ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ । तिथिमितिको पनि फरक हुन सक्छ या जलवायु परिवर्तनको प्रभाव पनि हुन सक्ने बताउँदै यसका लागि वैज्ञानिक कारण खोज्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया